|

विराटनगर : भारतले विराटनगरस्थित जोगबनीमा सञ्चालन गरेको एकीकृत जाँच बिन्दु (आईसीपी) मा एकतर्फी रुपमा शुल्क निर्धारण गरेको भन्दै नेपालका व्यवसायीले असन्तुष्टि व्यक्त गरेका छन्।

विराटनगरको सीमावर्ती भारतीय बजार जोगबनीस्थित सीमा शुल्क अधिक्षकको कार्यालयले सूचना प्रकाशित गर्दै आईसीपीको शुल्क सार्वजनिक समेत गरेको छ। यसअघि भारतीय पक्षसँग नेपालमा पनि आईसीपी निर्माण नभएसम्म शुल्क नलिने सहमति भएको थियो। तर, नेपालतर्फ आईसीपी निर्माण भर्खरै सुरु भएको छ भने भारतले यही सातादेखि आंशिक सञ्चालनमा ल्याएको छ।

मोरङ व्यापार संघका अध्यक्ष पवन सारडाले भारतीय पक्षले तौल गरेको र पार्किङ गरेको छुट्टा–छुट्टै शुल्क एकतर्फी जारी गर्दा आफूहरुलाई समस्यामा पारेको बताए। आईसीपी सञ्चालनले व्यवसायिक प्रयोजनका लागि ल्याइने मालसामान तथा ट्रकहरुको जाँचमा सहज हुने भएपनि चर्को शुल्क निर्धारणले आफूहरुलाई समस्यामा पारेको सारडाको भनाइ छ।

तेस्रो देशबाट आयात भएका मालवाहक ट्रकको पनि तौल जाँच गरेर थप झन्झट व्यहोर्न लगाएको उनले दुखेसो गरे। ‘अहिले तोकिएको शुल्क नेपाल तर्फको आईसीपी सञ्चालन नभएसम्म लगाउनु भएन,’ सारडाले भने, ‘तेस्रो देशबाट आएका सामानको काँटा गरेर थप शुल्क लगाउनु हुँदैन।’

‘भारतीय कस्टम अहिले पनि पुरानै ठाउँबाट सञ्चालन भइरहेको छ। तर नेपालतर्फ आउने सामानलाई आईसीपीतर्फ पठाउनु जरुरी थिएन’, उनले भने, ‘काम गर्ने र शुल्क लिने काम एकै ठाउँबाट हुने गरी मिलाउनुपर्‍यो।’

उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले नेपालपट्टी काम सुरु भएपछि मात्रै शुल्क लाग्ने यसअघिको भारतीय अधिकारीको कुरा केन्द्र सरकारले नमानेको बताए। ‘स्थानीय भारतीय अधिकारीले दुवैतिर तयार भएपछि शुल्क लगाउनुपर्छ भनेका थिए,’ उपाध्यायले भने, ‘तर, केन्द्र सरकारको निर्देशनमा उक्त नियम लागू भएको जानकारीमा आएको छ।’

यद्यपि भारतमा मात्रै पनि आईसीपी सञ्चालन भएपछि भारतको जोगवनी बजारमा हुने जामको समस्या हल हुने उपाध्यायले बताए। ‘अब काम छिटो हुन्छ, सबै कारोबार आईसीपीबाटै हुँदा व्यवसायीलाई हुने झन्झट केही भएपनि कम हुने भयो,’ उपाध्यायको भनाइ छ ।

नेपालतर्फको आईसिपी निर्माण भने यसै हप्तादेखि सुरु भएको छ। २४ महिनाभित्र उक्त आईसीपी निर्माण भइसक्ने सम्बन्धित अधिकारीले बताएका छन्।

के–केमा कति शुल्क लाग्छ ?

भारतको जोगवनीस्थित सीमा शुल्क अधिक्षकको कार्यालयले जारी गरेको सूचना अनुसार ५ मेट्रिक टनसम्मका हल्का सवारी साधनलाई आईसीपीमा प्रवेश गराएमा प्रति दिन भारु १ सय शुल्क लाग्नेछ। ५ देखि १५ टनसम्मका व्यापारिक सवारी साधनको प्रतिदिन भारु २ सय, १५ टन माथिका व्यापारिक साधनको प्रति दिन भारु ४ सय र कुनै पनि गाडीको चेचिसको प्रति दिन भारु २ सय ५० प्रवेश शुल्क तोकिएको छ।

यस्तै ५ मेट्रिक टनसम्मका ४ देखि ६ चक्के सवारी साधनको तौल गरेको भारु ४०, ५ देखि १५ मेट्रिक टन सम्मका ६ देखि १० चक्के व्यापारिक सवारी साधनको भारु ५०, १५ मेट्रिक टनभन्दा बढी १० चक्के सवारी साधनको भारु १ सय र चेचिसको तौल गरेको पनि भारु १ सय तोकिएको छ।

यस्तै छानो भएको गोदामभित्र मालवस्तु भण्डारण गर्ने भए तीन दिनसम्मको प्रति मेट्रिक टन भारु ७, ४ देखि ६ दिनको प्रति मेट्रिक टन भारु २५ र ७ दिनभन्दा बढी भण्डारण गर्ने भए प्रति मेट्रिक टन भारु ५५ शुल्क लाग्नेछ। खुल्ला स्थानमा मालवस्तु राखेमा ३ दिनसम्मको प्रति मेट्रिक टन भारु ४, ४ देखि ६ दिन सम्मको भारु १० र ७ दिनभन्दा बढीको प्रति मेट्रिक टन भारु ३० लाग्नेछ। यस्तै मालवस्तु राख्ने स्थानको छुट्टै शुल्क लाग्ने सूचनामा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.