सात जिल्लाका बीमितको संख्या दुईलाख ६० हजार भन्दा बढी

|

डडेल्धुराः सरकारले डडेल्धुरामा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गर्ने भएको छ। दुई नगरपालिका र पाँच गाउँपालिका गरी सातवटा स्थानीय तह रहेको जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गरिन लागिएको हो।

स्वास्थ्य उपचारमा अनियन्त्रित रुपमा भइरहेको व्यक्तिगत तथा पारिवारिक खर्च घटाउँदै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने र सेवाको उपयोगमा वृद्धि गर्ने  उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याउन लागिएको हो। यहीँ फागुन २२ गतेदेखि डडेल्धुरामा स्वास्थ्य बीमा कार्यक्रम लागू गरिन लागिएको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेशका प्रदेश संयोजक जनक साउँदले जानकारी दिए।

डडेल्धुरामा आउँदो बिहीबार एक भव्य कार्यक्रमकाबीच संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ गर्ने उनले बताए। यसअघि फागुन २१ गते राज्यमन्त्री रावतले डोटीमा स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ गर्ने कार्यक्रम रहेको समेत प्रदेश संयोजक साउँदले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशका सात जिल्लामा स्वास्थ्य बीमितको संख्या हालसम्म दुई लाख ६० हजारभन्दा बढी पुगेको उनको भनाइ छ। विसं २०७२ चैत २५ गतेदेखि कैलालीमा पहिलोपटक स्वास्थ्य बीमा कार्यक्रम शुरुआत भएको थियो।

मंगलबार डडेल्धुरामा आयोजित स्वास्थ्य बीमा कार्यक्रमसम्बन्धी दर्ता सहयोगीहरूका लागि आधारभूत तालिम कार्यक्रममा उनले डोटी र डडेल्धुरामा फागुन २१ र २२ गतेबाट कार्यक्रम कार्यान्वयनमा आउने जानकारी दिएका हुन्। प्रदेश संयोजक साउँदकाअनुसार डडेल्धुरा र डोटीमा उक्त कार्यक्रम लागू भएपछि सुदूरपश्चिम प्रदेश सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको देशकै पहिलो प्रदेश हुनेछ।

देशका ५० जिल्लामा कार्यान्वयनमा आइसकेको स्वास्थ्य सो कार्यक्रम चालू आर्थिक वर्ष २०७६/०७७ भित्रमा ७७ वटै जिल्लामा कार्यान्वयन गर्ने सरकारको लक्ष्य रहेको छ। त्यसै गरी सन् २०२० सम्ममा बीमितको संख्या ५० प्रतिशत र सन् २०३० सम्ममा १०० प्रतिशत पुर्‍याउने लक्ष्य छ।

स्वास्थ्य बीमा नियमावली, २०७५ अनुसार अति गरीबको परिचयपत्र प्राप्त परिवार, अति अशक्त अपांगता (रातो कार्ड), कुष्ठरोगी, एचआइभी संक्रमित, जटिल खालका क्षयरोगी (एमडिआरटिबी) बिरामी भएका परिवारको योगदान रकमको शतप्रतिशत छुट र महिला स्वास्थ्य स्वयंसेवीका संलग्न भएको परिवारको योगदान रकमको ५० प्रतिशत छुट दिइने व्यवस्था स्वास्थ्य बीमा कार्यक्रममा रहेको छ।

त्यस्तै कडा प्रकारका रोग (अर्बुदरोग, मुटुरोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया र अल्जाइमर) मा नदोहिरिने गरी थप एक लाखको सेवासुविधा दिने व्यवस्था छ।

योगदान र परिवारमा आधारित कार्यक्रम भएकोले आवद्ध हुन ५ जनाको परिवारले वार्षिक रुपमा २ हजार ५ सय रुपैयाँ योगदान रकम तिरेर सदस्य बनेपछि बिरामी पर्दा ५० हजारसम्मको सेवा लिने व्यवस्था गरिएको छ। ५ जनाभन्दा बढी सदस्य भएको परिवारको हकमा थप प्रतिसदस्यको ४२५ रुपैयाँ योगदान रकम लाग्छ भने पाइने सुविधामा १० हजार बढ्दै जाने जनाइएको छ। 

एउटा परिवारले अधिकतम १ लाख रुपैयाँसम्म उपचार सुविधा लिन सक्ने स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेशका प्रदेश संयोजक साउँदले जानकारी दिए। बीमित परिवारका सदस्यले सदस्यता क्रियाशील भएपछि हुँदा उपचारको लागि आफनो परिचयपत्र लिएर आकस्मिक उपचारको लागि बाहेक सधैं तोकिएको प्रथम सेवाविन्दू स्वास्थ्य संस्थामा नै जानु पर्ने प्रावधान पनि बीमा कार्यक्रमले अनिवार्य गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.