|
फोटोहरु : दीपक केसी

काठमाडौंको प्रहरी प्रमुखको रुपमा एसएसपी छविलाल जोशीले सोमबारदेखि काम सुरु गरेका छन्। गत बुधबार राति गृह मन्त्रालयले ३९ जना प्रहरी वरिष्ठ उपरीक्षकहरुको सरुवा गर्दा धौलागिरी अञ्चल प्रहरी कार्यलयमा कार्यरत जोशीलाई काठमाडौंको प्रहरी प्रमुखको रुपमा सरुवा गरेको हो। २०४५ सालमा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका जोशीले यसअघि बझाङ, कञ्चनपुर, सप्तरी, पर्वत र धनुषा जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। सुरक्षा संवेदनशील क्षेत्र पनि मानिने काठमाडौंको प्रहरी प्रमुखको रुपमा उनका योजना र चुनौतीबारे थाहाखबरका विकास लम्सालले जोशीसँग गरेको कुराकानी :

काठमाडौंको प्रहरी प्रमुखको जिम्मेवारी लिनुभएको छ, के छन् तपाईंका योजना? 

मेरो त्यस्तो कुनै योजनाहरु छैन। मभन्दा पहिला बस्ने मित्रहरुले यो गर्छु, त्यो गर्छु भन्ने बिभिन्न फण्डाहरु गर्नुभयो, ती फण्डाहरुसँग मेरो असहमति छ। कुनै स्लोगान लिएर यो गर्छु, त्यो गर्छु भन्ने र तीन वर्षे, चार वर्षे कार्ययोजना बनाउने त्यस्तो केही छैन। 

काठमाडौं अत्यन्तै सचेत ठाउँ हो। यहाँ उच्च वर्गका नागरिकहरु बसोबास गर्छन्। यही ठाउँमा सचेत कर्मचारीतन्त्र छ, यहाँ गुण्डागर्दी छ, दादागिरी गर्नेहरु पनि छन्। राजनीतिक नेक्ससहरु छ, बदमास प्रहरी पनि यही ठाउँमा छन्। सबै क्षेत्रको केन्द्रविन्दु भएको हुँदा सबैलाई सन्तुलित ढंगले मिलाएर लाने रणनीति नै मेरो मुख्य रणनीति हुन्छ। यसमा कसैलाई काखा र कसैलाई पाखा गरिन्न। गलत गर्नेले सजाय पाउँछन् भने असललाई कानुनी राज्यमा दुख भोग्नुपर्दैन।

तत्काल तपाई काठमाडौं आउनुभएको अनुभूति चाहिँ जनताले कसरी पाउनेछन् त?

यही नै गर्छु भन्ने मसँग केही पनि छैन। राम्रा कामलाई निरन्तरता दिने नै हो। काम गर्ने क्रममा अहिले हामीले एक किसिमको तथ्याङ्क तयार गरेका छौं। कुन कामले प्रतिफल बढी दियो, कुन कामले व्यक्तिहरु सुरक्षित महसुस गरेका छन्, त्यस्ता कामलाई निरन्तरता दिने हो।

यहाँ एक जनाले गरेर हुने भन्दा पनि टिमवर्क नै हो। टिमले गर्ने काम हो, अहिलेसम्मका मित्रहरुले आफूले मात्र क्रेडिट लिएको देखियो। आफ्नो टिमलाई र आफ्ना मातहतका निकायहरुलाई वेवास्ता गरेको जस्तो देखिएको छ। त्यो चाहिँ मबाट हुन्न। सबैजनाले मिलेर सुरक्षित राजधानी बनाउने हो। म आएको आभास तपाईहरुलाई छोटो समयमा नै गराउने छु। प्रहरीले सभ्य तरिकाले पनि काम गर्दो रहेछ भन्ने तपाईले अब थाहा पाउनुहुनेछ।

त्यसो भए अब राजधानीवासीले सभ्य प्रहरीको आभास पाउने भए ?

साना साना शहरहरु पनि विस्तारै विकसित भइरहेका छन्। अपराध विकास सँगसँगै जाने कुरा पनि हो। जुन ठाँउमा विकास भयो त्यहाँ अपराधका श्रृङ्खला पनि शुरु भएको हुन्छ। अपराधसँग कसरी लड्ने भन्ने हाम्रो छुट्टै रणनीति छ। 

कुनै कुनै काम गर्दा रिजल्ट आउन समय लाग्छ। तर मैले मेरो मातहतका प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरेको छु। अत्यन्तै सभ्य तरिकाले प्रहरीले सुरक्षा व्यवस्था मिलाउनेछ। प्रहरी भन्ने वित्तिकै फोहर शब्द बोल्नुपर्छ भन्ने छ, त्यो अब हुदैन संस्कारी प्रहरी शुरु गर्नेछु। प्रत्येक प्रहरी व्यवसायिक मात्र नभएर मिठास प्रहरी पनि हुनेछ। मुस्कान सहितको प्रहरी र प्रहरी मेरो साथी अब व्यवहारमा लागू हुन्छ।

कुनै मानिसले डराएर हिँड्नु पर्दैन, अनाहकमा कसैले दुख पाउनुपर्दैन। ढुक्क भएर काम गर्नुस् तर जिम्मेवार भएर गर्नुस् यहाँका मानिसले प्रहरी हाम्रो सेवाका लागि हुन् भन्ने बुझेका छन्। त्यसैले काम गर्न मलाई अफ्ठयारो हुन्न जस्तो लाग्छ। 

राजधानीमा आउनासाथ चर्चित हुने काम हुन्छ नि तपाई गर्नुहुन्न?

मलाई त्यस्तो चर्चामा आउनु छैन। प्रहरी सेवामा लागेको धेरै भयो, तर म चर्चाको लागि भन्दा पनि संगठनको लागि काम गर्ने मान्छे हो। यहाँ पनि म संगठनकै लागि काम गर्न आएको हो। गलत मान्छेलाई पक्राउ गरेर दुःख दिने काम हुने छैन। प्रहरीसँग सामान्य विवाद गरेको अवस्थामा सार्वजनिक मुद्दा चलाउने गरिन्थ्यो अब त्यस्तो हुने छैन।

रातीसम्म हिँड्दा, मादक पदार्थ सेवन गर्दैमा कुनै मान्छे पक्राउ पर्दैन। मापसे गर्नु आफैंमा अपराध होइन। जड्याहाको परिभाषामा परिवर्तन गर्नुपर्दछ, तोकिएको समयभन्दा बाहेक र आफूले पचाउन सक्ने भन्दा बढी खाएको पाइएमा मात्र त्यो अल्कोहोलिक हो, त्यसैले अब प्रहरीले हेर्ने दृष्टिकोण फरक हुन्छ।

मेरो मातहतका निकायका प्रहरीहरु मेरो तल काम गर्ने होइन मसँगै काम गर्ने हो। मेरो सफलतामा सबैको सफलता हुने र उहाँहरुको सफलता नै मेरो सफलता हो। त्यसैले मिलेर काम गरौं भन्ने नै मेरो निर्देशन थियो। एक्लै क्रेडिट लिने काम नगरेर सबै सफल हुने काम गरौं भन्ने नै मेरो भनाई हो। 

तपाईंलाई काठमाडौंमा ल्याउन गृहमन्त्री र प्रहरी महानिरीक्षकको निक्कै विवाद पर्‍यो भन्ने सुनिन्छ नि?

आईजी (प्रहरी महानिरीक्षक) ले मन नपराएर गृहमन्त्रीले ल्यायो भन्ने त तपाईलाई पनि लागेको होला। मलाई आईजीले मन नपराउनुको कारण नै के छ? केही मित्रहरुले अत्यन्तै राम्रो भाषामा छविलालको विषयमा व्याख्या गर्नुभएको छ। उहाँहरुलाई धन्यवाद दिन चाहन्छु। किनभने उहाँहरुले छविलाल भन्ने नै चिन्नु भएको छैन। एउटा छविलाल सम्माननीय प्रधानमन्त्री ज्यूको न्वारानको नाम भन्ने थाहा पाउनुभयो। अर्को छविलाल नेपाल प्रहरीमा छ भन्ने उहाँहरुलाई जानकारी भएन। कार्य दक्षता छैन, अहिलेसम्मको २६ वर्ष के मैले गुलेली खेलेर बिताएँ? इन्सपेक्टरबाट एसएसपी हुँदासम्म मलाई के अनुहार हेरेर दिएका हुन्? 

एसपी हुँदा सबैभन्दा बढी जिल्लाको इन्चार्ज भएर चलाएको मान्छे हुँ म। गृहमन्त्रीज्यूले मलाई कुनै अस्पताल व्यवस्थापन समिति, खेलकुद परिषदको सदस्य सचिव वा रेडक्रस सोसाइटी अध्यक्ष जस्तो कुनै निकायमा पठाएको हो र? म त नेपाल प्रहरीको मान्छे हुँ, नेपाल प्रहरीकै कुनै निकायमा आएको छु। कुनै फरक निकायमा ल्याएको हो र? मैले गरेको पुरानो कामको रेकर्डका कारणले म यहाँ आइपुगेको हुँ। मैले कहाँ परीक्षा दिनुपर्ने हो त्यो पनि दिन म तयार छु।

प्रहरीको कामको सिलसिलामा राजनीतिक दबाब कत्तिको आउने रहेछ?

म राजनीतिक मान्छे नै होइन, त्यसैले मलाई त्यस्तो दबाब आउने कुरा नै भएन। देश नै राजनीतिमय छ, त्यसकारण राजनीतिले मलाई पनि छुदैन भन्न मिल्दैन। तर राजनीतिक साथीहरुले भनेका कुराहरुलाई दबाबको रुपमा लिन हुँदैन। त्यसलाई त सल्लाह र सुझावको रुपमा लिनुपर्छ। यसले पनि धेरै कुराको जानकारी हुँदो रहेछ। गलत व्याख्या गरेर नै यसलाई राजनीतिक दबाब भनिएको हो। राजनीतिक दबाब आउँछ भन्नु भनेको आफ्नो कामलाई कभर लगाउनु मात्र हो जस्तो मलाई लाग्छ। 

साइरन बजाउदै हिँड्नु सुरक्षा होइन, आठ बजे नै बन्द गराउनु पनि सुरक्षा होइन। रातभर सुरक्षित महसुस गरेर व्यापार गर्न पाउनु नै सुरक्षा हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.