भद्रपुर विमानस्थलमा परीक्षण कक्ष स्थापना

|

भद्रपुर : विश्वभर फैलिँदै गएको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाका सबै निकायलाई उच्च सुरक्षासतर्कता 'हाई अलर्ट' मा रहन निर्देशन जारी गरेको छ।

छिमेकी राष्ट्र चीनपछि अहिले भारतमा समेत कोरोना भाइरसका संक्रमित देखा परेपछि प्रशासन कार्यालय झापाले जिल्लाका सीमा नाका, विमानस्थल, भीडभाड हुने स्थानलाई लक्षित गर्दै सबै निकायलाई यस्तो निर्देशन जारी गरेको हो ।

कोरोना भाइरसबाट जिल्लाबासीलाई बचाउन प्रशासन कार्यालयका कर्मचारीसहित सबै सरकारी निकाय, जनस्वास्थ्य कार्यालय, स्वास्थ्यकर्मी, अस्पताल, रेडक्रस, प्रहरीलाई अलटमा रहन निर्देशन जारी गरिसकेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए।

‘अहिले कोरोना भाइरसले विश्वलाई आतङ्कित बनाएको छ,’ प्रमुख जिल्ला अधिकारी राना मगरले भने, ‘झापाबासीलाई यस भाइरसबाट जोगाउन हामीले जनचेतना मूलक कार्यक्रम सञ्चालन सुरु गरेका छौँ, यसका लागि प्रशासन कार्यालयले एक साताअघि नै सबै सरोकारवाला पक्षसँग यस बारेमा छलफल गरी रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरिसकेका छौँ।’

साथै विभिन्न सामाजिक सञ्जाल, जनचेतनामूलक कार्यक्रम, वेबसाइटको माध्यमबाट पनि प्रचारप्रसारलाई तीव्र बनाइएको उनले बताए।

विमानस्थलमा परीक्षण कक्ष स्थापना

भद्रपुरस्थित चन्द्रगढी नागरिक उड्डयन कार्यालय परिसरमा बिहीबारदेखि कोरोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष स्थापना गरिएको छ। विमानस्थलबाट काठमाडौं जाने र काठमाडौंबाट फर्किने हवाई यात्रुलाई लक्षित गरी परीक्षण कक्ष स्थापना गरिएको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुडालले जानकारी दिए।

भद्रपुर नगरपालिकाको व्यवस्थापन तथा प्रशासन कार्यालय झापा र स्वास्थ्य कार्यालयको समन्वयमा स्थापना गरिएको परीक्षक कक्षको एक संक्षिप्त कार्यक्रमका बिच उद्घाटन गरिएको छ। झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको नेतृत्वमा पुगेका टोलीले काठमाडौंबाट भद्रपुर आएका बुद्ध एयरका यात्रुलाई चेक जाँच गर्दै परीक्षण कक्षको उद्घाटन गरेका हुन्।

विमानस्थलकै प्रवेशद्वारमा स्थापना गरिएको सो कक्षमा स्वास्थ्यकर्मी खटाइएको छ। स्वास्थ्यकर्मीलाई चाहिले आवश्यक स्वास्थ्य सामग्रीसहित ‘थर्मल गन’ पनि दिइएको छ।

विमानस्थलमा आगमन तथा प्रस्थानमा आउने सबै यात्रुको स्वास्थ्य परीक्षण गरिने बताइएको छ। विशेष गरी यस विमानस्थलमा भारत, भुटान, बंगालादेश लगायतका देशबाट यात्रुहरू आउने गरेकोले उनीहरूबाट कोरोना भाइरस नेपाल भित्रिन सक्ने अवस्थालाई मध्यनजर गरी विमानस्थलमा उच्च सतर्कता अपनाएको प्रमुख जिल्ला अधिकारी राना मगरले बताए। साथै विमानस्थलमा बुद्ध एयरलाइन्सले पनि काठमाडौं जाने यात्रुलाई थर्मल गनको प्रयोग गरी छुट्टै स्वास्थ्य परीक्षण गर्दै आइरहेको जनाइएको छ।

भद्रपुर र काँकडभिट्टा नाकामा सतर्कता बढाइयो

भारतसँग जोडिएको झापा जिल्ला १४४ किलोमिटर खुल्ला सीमा रहेकोले भारतबाट कोरोना भाइरस भित्रिने उच्च जोखिम छ। सोही जोखिमलाई केन्द्रित गर्दै खुल्ला सीमाको मुख्य प्रवेशद्वार काँकडभिट्टा, भद्रपुर र गौरीगञ्जमा कोरोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष स्थापना गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए।

उनका अनुसार काँकडभिट्टामा मेचीनगर नगरपालिका र मेची भन्सार कार्यालय समन्वयमा परीक्षण कक्ष स्थापना भइसकेको छ। त्यहाँ पनि थर्मल गन प्रयोग गरेर भारतबाट नेपाल आउने व्यक्तिको परीक्षण गर्नुका साथै शंखा लागेका व्यक्तिको स्वास्थ्य परीक्षण पनि गरिन्छ।

यता भद्रपुर नाकामा भद्रपुर नगरपालिकाको समन्वयमा बिहीबार परीक्षण कक्ष स्थापना गरिएको छ। थर्मल गन प्रयोग गरेर भद्रपुरमा पनि भारतबाट आउने व्यक्तिको परीक्षण गरिनेछ। उता गौरीगञ्जमा पनि परीक्षण कक्ष स्थापनाका लागि स्थानीय तह र स्वास्थ्यकर्मीलाई निर्देशन दिइसकेका छौँ', उनले भने, ‘आजभोलिमै त्यहाँ पनि परीक्षण कक्ष स्थापना हुन्छ।’

मेची अस्पतालमा आइसोलेसन वार्ड छैन

प्रशासन कार्यालय झापाले मेची अस्पतालमा कोरोना संक्रमित बिरामीका लागि छुट्टै आइसोलेसन वार्ड स्थापना गर्न निर्णय गरे पनि अहिलेसम्म मेचीमा आइसोलेसन वार्ड स्थापना गरिएको छैन।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले आइसोलेसन वार्ड स्थापना भइसकेको सञ्चारकर्मीलाई जानकारी दिँदै आए पनि अस्पतालका मेसु डा. पीताम्बर ठाकुरले अहिलेसम्म आइसोलेसन वार्ड स्थापना नभएको बताए। झापामा अहिलेसम्म कोरोना संक्रमित बिरामी फेला नपरेको बताउँदै अस्पतालका मेसु ठाकुरले भने, ‘त्यस्तो बिरामीमाथि शंखा लागे तत्काल धरान रेर्फर गर्दै आइरहेका छौ।’

‘अस्पतालमा छुट्टै आइसोलेसन वार्ड स्थापनाका लागि सरकारले छुट्टै स्वास्थ्य सामग्री तथा उपकरण उपलब्ध गराउनु पर्ने हो, तर अहिलेसम्म त्यस्तो सामग्री तथा उपकरण उपलब्ध भएको छैन, त्यसैले समस्या भएको हो,’ उनले थपे।

यता प्रदेश १ का सामाजिक विकास मन्त्रालयले बुधवार नै झापाको मेची र बिएण्डसीमा आइसोलेसन वार्ड स्थापनाका लागि निर्णय गरिसकेको छ। 

मास्क लगाएर सेवा   

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले सरकारी कार्यालयबाट सेवा प्रदान गर्ने कर्मचारीले अनिवार्य मुखमा मास्क लगाएर सेवा प्रदान गर्न निर्देशन दिएको छ।

प्रजिअ राना मगरले यसको सुरुवात आफ्नै कार्यालयबाट गरिसकेको छ। अहिले प्रशासन कार्यालयका हरेक कर्मचारीले सेवाग्राहीलाई मास्क लगाएर सेवा प्रदान गर्दै आइरहेको छ। कोरोना भाइरसबाट आफू पनि बचऔं र अरूलाई पनि बचाउ भन्ने उद्देश्यका साथ यो अभियान सुरु गरिएको बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.