६ वर्ष जेल बसेपछि निर्दोष प्रमाणित भए

|

काठमाडौं : राम्रो आम्दानी गर्ने कल्पनामा सात वर्षअघि वैदेशिक रोजगारीको लागि साउदी अरेबिया पुगेका १२  युवा हत्या अभियोगमा जेल परे। ६ वर्षसम्म जेल बसेपछि ११ जना नेपाल फर्किए। साउदी सरकारले उनीहरु निर्दोष भएको प्रमाणित भएपछि जेलबाट रिहा गरेको थियो।

जेलमै १ युवाको मृत्यु भयो।  उनको लाश समेत पनि अझै नेपाल आइपुगेको छैन्। साउदीमा जेल बसेर नेपाल फर्किएका  ११ युवाहरुले मंगलबार प्रधानमन्त्रीलाई भेटे। प्रधानमन्त्रीसँगको छोटो भेटमा उनीहरुले आफ्ना गुनासा सुनाए।

दूतावासका कर्मचारीलाई कारबाही गर्नुपर्‍यो

भोजपुर नेपालडाँडा गाविस सोमबारेका श्रीकुमार राईसहित १२ युवा भारतीय नागरिकको हत्या अभियोगमा जेल परेका थिए। साउदी प्रहरीले जेलमा राखी शारिरीक यातना दिएको उनीहरुले बताए। यस विषयमा साउदी अरेबियास्थित नेपाली दूतावासमा गुहार माग्दा उल्टै गाली खानुपरेको युवाहरुको गुनासो छ। उनीहरुले पराष्ट्र सेवाका कर्मचारीलाई कारबाही गर्न माग गरेका छन्।

'भारतीय नागरिक हत्याको मुद्धामा निर्दोष भएकोले उद्धारका लागि दूतावासमा गुहार मागेका थियौं। तर उल्टै गाली खान पर्‍यो,' सुनसरी स्थायी घर भएका भिमप्रसाद चिमोरियाले प्रधानमन्त्रीसँग भने,'हामीले गुहार माग्दा समेत वेवास्ता गर्ने रियादस्थित नेपाली दूतावासका कर्मचारीद्वय हरिश्चन्द्र घिमिरे र मानबहादुर थापालाई कारबाही गरियोस्।'

फ्रिन्गर प्रिन्ट (औठा छाप) र व्लड (रगत) को परिक्षण गर्दा समेत निर्दोष प्रमाणित भएपछि स्वदेश फर्कन पाएको उनीहरुले बताए।  उनीहरुले  आफुहरुलाई राहत उपलब्ध गराइदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरे।

'दुई हप्ताको फरकमा म सहित १२ जनालाई गिरफ्तार गरी जेल हालिएको र एक साथीको यातनाकै कारण निधन भयो। तर यस्तो घटना घट्दा र हामी निर्दोष छौं भन्‍ने प्रमाणित हुँदा समेत दूतावासका कर्मचारीले सहयोग गरेनन्। उल्टै गाली गरे,' पीडित चिमोरियाले भने। उनले कर्मचारीहरुले आफुलाई सहयोगको आग्रह गरेको ३ महिनापछि मात्रै भेटेको बताए। 'दूतावासमा कानुन व्यवसायीको व्यवस्था भएपनि हाम्रो मुद्धामा वास्ता गरिएन,' चिमोरियाले भने।

चिमोरियासहित भोजपुरका श्रीकुमार राईलाई जेलमा करेण्ट लगाएर यातना दिने गरेको र सुनसरी मधुवनीका उमेश श्रेष्ठको शारिरीक र मानसिक यातानाको कारण मृत्यु भएको पीडितहरुले बताए। 

उनीहरुलाई सन् २०१० को फेब्रुअरी एक देखि २० तारिखका बीचमा गिरफ्तार गरी जेल हालिएको थियो। निर्दोष प्रमाणित भएपछि सन् २०१६ डिसेम्बर १८मा त्यहीँको सरकारले हवाई टिकटमा नेपाल फर्काइ दिएको थियो। नेपाल फर्किएको डेढ महिनापछि उनीहरु प्रधानमन्त्री दाहालसँग सहयोगको याचना गर्दै मंगलबार बालुवाटार पुगेका हुन्। 

सात वर्ष साउदी जेलमा यातना भोगेर नेपाल फर्किएकाहरु
नवलपरासीका कृष्णबहादुर दर्जी,रुपन्देहीका भक्तबहादुर दर्जी, रसुवाका सोम तामाङ, सुनसरीका छत्रबहादुर गुरुङ, रुपन्देहीका केश बहादुर नेपाली, ओखलढुंगाका दिलबहादुर वुढाथोकी, नुवाकोटका सोमबहादुर तामाङ, सुनसरीका भिमपसाद चिमोरिया, तनहुँका केशबहादुर नेपाली, भोजपुरका श्रीकुमार राई र झापाका दिपेन्द्र शर्मा
नोट : जेलमै यातनापछि सुनसरी मधुवनीका उमेश श्रेष्ठको निधन भएको थियो। 

निधन भएका श्रेष्ठको शव नेपाल ल्याइयोस्

उनीहरुले जेलमै यातनाबाट पीडित श्रेष्ठलाई उपचारको नाममा अस्पताल लगिएको र तीन महिनापछि मृत्यु भएको खबर गरिएपनि अझै शव नेपाल फिर्ता नगरिएको गुनासो गरे। शव यथाशक्य चाडों नेपाल फर्काउने प्रबन्ध मिलाइदिन उनीहरुले प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

राहत दिइयोस

पीडित यूवाहरुले एक लाख भन्दा बढी खर्च गरेर विदेश गएको र सात वर्षपछि रित्तो हात फर्कनु परेको गुनासो प्रधानमन्त्रीसँग गरे। उनीहरुले राहत मिलाइदिन प्रधानमन्त्रीलाई आग्रह गरे।

कर्मचारी दोषी देखिए कारबाही : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले यस विषयमा छानविन गर्ने बताए। नेपाल फर्किएका ११ युवाले तत्कालीन दूतावासका कर्मचारीद्वय हरिश्चन्द्र घिमिरे र मानबहादुर थापा यस प्रकरणमा दोषी रहेको  बताएका छन्।

'दूतावास र मन्त्रालयबाट रिपोर्ट माग्छु र त्यसै अनुसार दोषी देखिए कारबाही गर्छु,' पीडित युवाहरुलाई प्रधानमन्‍त्रीले भने।

प्रधानमन्त्री दाहालले पीडित युवाहरुको राहतका लागि परराष्ट्र मन्त्रालयमार्फत साउदी अरेबिया सरकारसँग पहल गर्ने बताए। उनले यस विषयमा मन्त्रीपरिषद्‍मा समेत छलफल गर्ने बताए। दाहालले विगतमा दूतावास र सरकारले वेवास्ता गर्दा दुख पाए पनि हालका राजदूत र कर्मचारीले सकारात्मक भूमिका खेलेकोमा धन्यवाद दिए। उनले पीडित यूवालाई केही न केही राहत दिने घोषणा गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.