|

पेमा लामा

काभ्रे : जिल्लाको खार्पाचोक–१, किर्दासका भूकम्प पीडितहरुले चन्द संकलन गरी गुम्बा निर्माण गरेका छन्। प्रत्येक घरधूरीबाट ५ हजारका दरले चन्द संकलन गरेर उनीहरुले करिब ७० लाखको लागतमा देवाच्यान थार्पेलिङ गुम्बा  निर्माण गरेका हुन्।

गाँउलेले बनाएको गुम्बाको लागि सांसद् कमला दोङले सांसद् विकास कोषबाट १ लाख, जिल्ला विकास समितिको कार्यालय काभ्रेबाट २ लाख, गाविसबाट ५० हजार र लामा समूहबाट १०\१० हजार सहयोग प्राप्त भएको थियो। गुम्बाको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय शंकर नायकले गुम्बाको आज एक कार्यक्रमबीच उद्घाटन गरे।

गुम्बाको उद्घाटन गर्दै मन्त्री नायकले अहिले संविधान कार्यान्वयनको निम्ति आम नागरिकलाई जागरुक बनाउन देश दौडाहमा लाग्नु पर्ने बताए। सबैको हितमा हुने संविधान निर्माण गरिसकेको हुनाले त्यसलाई कार्यान्वयन गर्न सकेमा सबैको पहिचान प्राप्त हुने उनको भनाइ छ। ‘त्यसको लागि आफ्नो जातिको पहिचान स्थापित गर्न जस्तोसुकै परिस्थितिमा पनि लडिरहनु पर्ने हुन्छ,’ मन्त्री नायकले भने, ‘गौतम बुद्ध नेपालमा जन्मिएको हो, बुद्धको दर्शनले सबै जनालाई चेताना फैलाएको छ।’

मन्त्री नायकले किर्दासवासीका समस्या मन्त्रीपरिषद्को बैठकमा समेत लैजाने बताए। उनले यस ठाउँमा मोटरबाटो निर्माणका लागि पहल गर्ने बताए। आफ्नो संस्कृति जर्गेना गर्न उद्धेश्यले सहयोगी दाता र प्रत्येक घरधूरीबाट रकम संकलन गरिएको  देवाच्यान थार्पेलिङ गुम्बा तथा लामा समूहका अध्यक्ष कुन्साङ लामाले बताए।

गुम्बा निर्माणपछि स्थानीयवासीहरु निकै खुसी देखिएका छन्। ‘आफन्त गुमाएको सम्झनामा हामी बत्ती बाल्नका लागि स्वयम्बु जानु पर्ने बाध्यता थियो। गाउँमा नै गुम्बा निर्माण भएपछि अब त्यो समस्याबाट मुक्त भएका छौं,’ स्थानीय कान्छी मायाँ तामाङले भनिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.