|

बाँके : क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जले स्थानीय निर्वाचनका लागि पूर्व तयारी थालेको छ। निर्वाचन आयोगले तयारी स्वरुप तथ्यांक अध्यावधिक गर्न भनेपछि मध्यपश्चिम क्षेत्रीय निर्वाचन कार्यालयले निर्वाचनको तयारी थालेको हो।

निर्वाचन कार्यालयले बाँके जिल्लामा दर्ता भएका राजनीतिक दलको नाम अध्यावधिक गरी आयोगमा पठाएको छ। माघ १७ गतेभित्र राजनीतिक दलहरुको नाम अध्यावधिक गरी पठाउन आएको निर्देशनको पालना गर्दै केन्द्रमा पठाएको क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले बताए।

उनले निर्वाचनमा चाहिने जनशक्तिका बारेमा आयोगले जानकारी मागेको बताए। निर्वाचनमा खटिने जनशक्तिको अवस्था बुझ्न आयोगले कर्मचारी विवरण माग गरेको अधिकारीले बताए।

‘बाँकेमा स्थायी कर्मचारीको दरवन्दी, पदपूर्ती र रिक्त पदको बारेमा आयोगलाई जानकारी दिइएको छ। जनशक्ति आंकलनका लागि आयोगले कर्मचारी विवरण माग गरेको हो,’ उनले भने।

निर्वाचनको मिति तोक्ने तयारी सरकारले गरेपछि आयोग गृहकार्यमा लागेको हुनसक्ने अधिकारीले बताए। ‘कुनै न कुनै संकेत पाएर नै आयोगले पूर्व तयारी थालेको हुनुपर्छ,’ अधिकारीले भने,‘पूर्व तयारी स्वरुप आयोगले क्षेत्रीय र जिल्ला निर्वाचन कार्यालयसँग सूचना माग र अध्यावधिकका लागि निर्देशन दिएको छ।’

क्षेत्रीय निर्वाचन कार्यालयले मत पेटिकाको अवस्थाको बारेमा समेत आयोगलाई जानकारी पठाइसकेको छ। बाँकेमा बिर्को भएको सानो १ हजार र बिर्को भएको ठूलो ३१३ वटा मत पेटिका रहेकोमा ७७५ वटा सानो र १६३ वटा ठूलो मतपेटिका प्रयोग गर्न मिल्ने रहेको अधिकारीले जानकारी दिए।

निर्वाचन कार्यालयले फोटोसहितको मतदाता नामावली संकलन कार्य बाँकेका विभिन्‍न गाविसमा संचालन गरिरहेको छ। नेपालगन्ज उपमहानगरपालिकासहित ७४ वटा बुथ मार्फत फोटोसहितको मतदाता नामावली संकलन भैरहेको उनले जानकारी दिए।

बाँकेमा १६ वर्ष माथिका १ लाख २४ हजार ७६८ जना पुरुष, १ लाख १८ हजार ५३६ जना महिला र १ जना तेस्रो लिंगी फोटोसहितको मतदाता नामावलीमा समावेश छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • तथ्यपरक, यथार्थ समाचार सम्प्रेषण गर्नु भै राज्यको चौथो अङ्गको भुमिका निर्वाह गर्नु भएकोमा श्री बिश्वराज पत्थरगैया सर समेतको टिमलाई क्षेत्रीय निर्वाचन कार्यालय, बाँकेको तर्फबाट हार्दिक धन्यवाद !