|

गुल्मी : पशुपालक कृषकहरूले गोठदेखि ओठसम्म आउँदाको समयसम्म सरसफाइमा विशेष ध्यान दिन भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर चन्द्रबहादुर रानाले आग्रह गरेका छन्।

गुल्मीको मुसिकोट नगरपालिका-८ मैदानमा एकदिने पशुस्वास्थ्य तथा बाँझोपन निवारण शिविरमा बोल्दै उनले पशुपालक कृषकहरूले गोठदेखि आफूले खाने ओठसम्म आइपुग्दासम्म सरसफाइमा ध्यान दिनुपर्ने बताए।

कृषकहरूले सरसफाइमा ध्यान नदिए विभिन्न किसिमका रोगहरू फैलन सक्ने भन्दै स्वच्छ उत्पादन र सरसफाइमा ध्यान दिनका लागि उनले आग्रह गरे। यदि कृषकहरूले आफना पशुहरूलाई गोठमा सफा र स्वच्छ नराखे त्यो उत्पादन खानका लागि ओठसम्म ल्‍याइँदा विभिन्न सरुवा रोगहरूको संक्रमण हुने उनले बताए।

उनले कृषि र पशुपालनको माध्यमबाट आर्थिकस्तर उकास्न सक्ने भन्दै व्‍यावसायिक रुपमा लाग्नसमेत कृषकहरूलाई आग्रह गरे। बेरोजगार युवाहरूलाई स्वदेशमै व्‍यावसायिक कृषि र पशुपालनमा लागे विदेश गएर दुःख पाउनु नपर्ने दाबी गरे। उनले नेपाल सरकारले कृषि र पशुपालनमा लाग्ने कृषकहरूलाई तालिम, औजार र अनुदानको समेत व्‍यवस्‍था गरेको सुनाए।

घरपालुवा पशुप्राणीको औषधोपचार

पशुका डाक्टर रानाले मान्‍छे जस्तै घरपालुवा पशुहरूलाई पनि निरन्तर रुपमा औषधि उपचारमा ध्यान दिन आग्रह गरे। मानवले समस्या भएमा बताउने तर पशुले भन्न नसक्ने भएकाले घरपालुवा पशुहरूलाई लक्षणकै माध्यमबाट बुझ्‍नुपर्ने उनको भनाइ छ।

व्‍यावसायिक कृषिका लागि अनुदान

मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले नगरभित्रका कृषकहरूलाई नगरले अनुदान दिएको बताए। कृषि र पशुपालनको माध्यमबाट नै गरिबी निवारण गर्न सकिने भएकाले कृषकहरूलाई अनुदान, उपकरण र तालिमको समेत व्‍यवस्था गरेको दाबी गरे।

उनले विदेश गएर फर्किएका युवाहरूले देशमा केही गर्छौं भनेर आएमा नगरले विशेष अनुदान, तालिम, उपकरणसँगै उनीहरूले उत्पादन गरेका वस्तुहरूको बजारको ग्यारेन्टी नगरले लिने दाबीसमेत गरे।

करिब ६ हजार घरपालुवा पशुको नि:शुल्क उपचार

जिल्लाका विभिन्न स्थानीय तहहरूमा सञ्‍चालन भएको पशुस्वास्थ्य शिविरबाट पाँच हजार ७८८ घरपालुवा पशुहरूको नि:शुल्क उपचार भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पा र सम्पर्क केन्द्र गुल्मीले जनाएको छ।

जिल्लाको इश्मा गाउँपालिकामा ५११, मालिका गाउँपालिकामा दुई हजार, मदाने गाउँपालिकामा एक हजार ११७ र मुसिकोट नगरपालिकामा दुई हजार १६० घरपालुवा पशुहरूको नि:शुल्क रुपमा औषधि उपचार गरिएको सम्पर्क केन्द्र गुल्मीका अधिकृत डिल्लीराज मरासिनीले जानकारी दिए। जिल्लाका अन्य स्थानीय तहमा पनि यसरी नै नि:शुल्क पशु शिविर आयोजना गरिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.