|
फाइल फोटो थाहाखबर

रुपन्देही : पूर्वपश्चिम राजमार्गको बुटवल-नारायणघाट खण्ड अन्तर्गत नवलपरासीमा रहेको लोकाहा खोलाको पुल भत्किएको डेढ वर्षभन्दा बढी भयो। उक्त पुल भत्किएपछि सुरुमा डाइभर्सन गरेर र पछि ब्रेलिब्रिजको माध्यमबाट सवारी आवतजावत खुलाइएको छ। तर, भत्किएको पुलको विकल्पमा निर्माणाधीन नयाँ पुल यस वर्ष पनि पूरा हुने निश्चित छैन।

यस्तै, यसै वर्ष राजमार्ग खण्डको नवलपरासीमै रहेको अर्को महत्वपूर्ण बहुलाखोलाको पुलमा गत मंसिर २६ गते एकाबिहानै पूर्वबाट आउदै गरेको मालबाहक ट्रकले ठक्कर दियो। अधिकांश भाग फलामबाट निर्माण गरिएको उक्त पुलको मुखैको भाग सडकको सतहभन्दा दबेर क्षति भयो। उक्त क्षेत्रमा पनि डाइभर्सनको सहयोगबाट नै सवारी आवतजावत  गरिएको छ। पुलमा क्षति पुगेको ३ महिनापछि मात्र मर्मतकार्य सुरु गरिएको छ।

३ वर्षपहिले राजमार्गकै महत्वपूर्ण मानिने जयश्री पुल भत्कियो। सडक विभागले धेरै दिन लगाएर पुलको केही तलबाट डाइभर्सन निर्माण गरेर सवारी आवतजावत खुलायो। पुलको पुनःनिर्माणमा प्रयोग हुने साधन विदेशबाट आयात गर्न ढिलाइ हुँदा १ वर्ष लाग्यो।

पूर्व-पश्चिम राजमार्गको मध्यक्षेत्र बुटवल-नारायणघाट खण्डलाई जोड्ने झन्डै ३ दर्जन महत्वपूर्ण पुलमध्ये अधिकांशको निर्माण संरचना एउटै प्रकृतिको छ। २०३० सालको अवधिमा निर्माण गरिएका पुलहरुमा ट्रसको प्रयोग गरिएको छ। यी पुलहरु कमजोर बन्दै गएका छन्। पुलहरुको अवस्था जीर्ण र जोखिमपूर्ण बन्दै गएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीले बताए।

उनले भने, 'प्राविधिक रुपले पुलमा समस्या आएको होइन तर यस्ता खालको पुलमा एक ठाउँमा समस्या आउँदा अन्य भाग समेत खल्बलिने समस्याले पुलको जोखिम बढेको हो।' फलामको प्रयोगबाट निर्माण गरिएका यस्ता पुल बलियो हुने र लामोसमय टिक्ने भएपनि पुलको १ भागमा क्षति हुँदा पुरै पुलमा समस्या देखिने मरासिनीले बताए।

प्रमुख राजमार्ग क्षेत्रका महत्वपूर्ण पुल भत्किएर समयमै मर्मत नहुने र वैकल्पिक व्यवस्था समेत समयमा नहुँदा यात्रुले सास्ती बेहोर्नु परेको छ।

हिमालय टाइम्सबाट 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.