|

धनकुटा : कोरोना भाइरसको संक्रमण हुने डरका कारण यसपटक होलीको रौनक धनकुटामा पनि घटेको छ। भिडभाडमा होली खेल्दा कोरोनाको संक्रमण हुन सक्ने भन्दै विभिन्‍न जिल्लाका प्रशासन कार्यालयहरूले सावधानी अपनाउन आग्रह गरेका थिए।  त्‍यसै कारणले गर्दा पनि अरू जिल्लाहरू जस्तै धनकुटामा पनि होलीको रौनक घटेको हो।

अर्कातिर सरकारले समूह वा जमघटमा होली नखेल्न भनी जारी गरेको निर्देशनले पनि यसपटकको होली सुनसान बनेको छ। विगतका वर्षमा होलीको दिन विभिन्न कार्यक्रमको आयोजना हुने धनकुटाको मदनचोक, बीचबजार, परिचयमोड लगायतका ठाउँमा यसपटक सुनसान रहेका छन्।

केही ठाउँमा केही मानिस फाट्टफुट्ट रुपमा होली खेलेको देखिए पनि बजारका अधिकांश ठाउँ सुनसान रहे। बजारका चोक तथा सडकमा गएका वर्षहरुमा होलीमा मानिसको चाप अत्यधिक हुने ठाउँहरु यसपटक भने सुनसान भएको स्थानीय शोभित श्रेष्ठले बताए। उनका अनुसार सडकमा यसपटक अबिर दलेर हिँड्नेहरु निकै कम देखिन्थे।

विकेनन् होलीका सामान

कोरोनाको त्रासकै कारण यो वर्ष होलीमा लगाइने अबिर, टिसर्ट र पिचकारीको व्यापारमा निकै कमी आएको छ। होलीको लागि फागुनको सुरुमा ल्याएका सामान बिक्री नभएर गोदाममै थन्किएको व्यापारीहरुले बताए। यसपालिको होलीमा एउटा पनि टिसर्ट नबिकेको धनकुटाका व्यापारीहरुले बताएका छन्।

होलीका लागि पाँच सय वटा टिसर्ट ल्याएकोमा ५० वटा पनि बेच्‍न नसकिएको धनकुटाका व्यापारी शमशेर पौडेलले बताए। उनले पोहोरको तुलनामा यसपटक होलीको व्यापार ५ प्रतिशत पनि व्यापार नभएको बताए।

होली खेल्न निस्किएनन् विद्यार्थी

भाइरस संक्रमणको जोखिम तथा सरकारले होली नखेल्न अनुरोध गरेका कारण सबै विद्यालयले विद्यार्थीलाई होली नखेल्न भनेको धनकुटा ६ मा रहेको गोकुण्डेश्वर माविका प्रधानाध्यापक यज्ञप्रकाश चापागाईंले बताए।

उनले हरेक विद्यालयको निर्देशनबमोजिम अधिकांश विद्यार्थीले होली खेल्न ननिस्किएको बताए। त्यस्तै शिक्षा मन्त्रालयले आगामी चैत ५ गतेसम्म परीक्षा सक्न निर्देशन दिएकोले धनकुटाका सबैजसो विद्यालयले मंगलबारदेखि परीक्षा सुरु गर्ने तयारी भएकाले विद्यार्थीहरूलाई होलीभन्दा परीक्षाको तयारीमा लाग्न भनिएको उनले बताए। विद्यार्थीहरुले कोरोनाको डरसँगै परीक्षाको तयारीका कारण सडकमा निस्किएर होली नखेलेको बताएका छन्।

यस्तै, धेरैजसो अभिभावकले छोराछोरीलाई यसपालि होली नखेल्न प्रेरित गरेका छन्। सरकारले होली नखेल्न भनेको र डाक्टरले पनि नखेल्न सुझाव दिएका कारण होली खेल्न नदिएको धनकुटाका अभिभावक हरिबहादुर बस्नेतले बताए। उनले मंगलबारदेखि परीक्षा सुरु हुने भएकाले छोराछोरीलाई घरमै पढ्न भनेको बताए।

अमर्यादित गतिविधि छैन : प्रशासन

यसपटक होली खेल्ने मानिस कम भएकै कारणले सडकमा अमर्यादित क्रियाकलाप नभएको धनकुटा प्रशासनले जनाएको छ। धनकुटाका प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले सरकारले जारी गरेको निर्देशनबमोजिम कुनै अमर्यादित गतिविधि नभएको बताए।

‘यसपटकको होली अहिलेसम्म सभ्य छ। सडकमा भिडभाड नै छैन।’ प्रमुख जिल्ला अधिकारी डा. घिमिरेले भने, ‘गएका वर्षहरुको होलीमा जस्तो जबरजस्ती लोला हान्ने र अबिर लगाइदिएको गुनासो अहिलेसम्म एउटा पनि आएको छैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.