|

बाँके : होलीको अवसरमा होली खेल्ने वृद्धदेखि युवाले भरिभराउ हुने नेपालगन्जको त्रिभुवन चोक, सदरलाइन, टांगास्टेशन, त्रिवेणीमोड, सेतु विक चोक, धम्बोझी चोक, विपी चोकलगायत चोक र गल्ली यस वर्षको होलीमा सुनसान छन्। भीडभाड हुने ठाउँमा नजान र होली नखेल्न बाँके प्रहरी र प्रशासनले माइकिङमार्फत आग्रह गरेपछि होली खेल्नेको संख्यामा कमी आएको हो।

संस्थागत रूपमा होली मिलन कार्यक्रम गर्दै आएका संस्था र संगठनले पनि होली कार्यक्रम नगर्ने भएपछि यस वर्ष नेपालगन्जको चोक तथा गल्ली सुनसान भएको नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्यले बताए। होली खेल्नेको संख्यामा कमी आएपछि यस वर्ष  होलीको कुनै रौनक नभएको बताए।

नेपालगन्जको त्रिभुवन चोक, त्रिवेणी मोड, धम्बोझी चोकमा डिजेको व्यवस्था गरिए पनि होली खेल्नेको उपस्थिति एकदमै न्यून देखिएको उनले बताए । 'होली खेल्नेका लागि डिजेको व्यवस्था गरिए पनि होली खेल्न आएको पाइएन,’ उनले भने।

चिसो, धुलो, धूवाँ र अविरले रुघाखोकी लाग्ने र भीडभाडमा बस्दा कोरोना भाइरस संक्रमण हुने भयले यस वर्ष बाँकेमा होली खेल्नेको संख्यामा कमी आएको उनको भनाई छ । 'कोरोनाका कारण संस्थागत रुपमा खेल्दै आएको होली कार्यक्रम स्थगित हुँदा होलीको रौनकतामा कमी आएको हुन सक्छ,’ उनले भने।

महासंघ र कर्मचारी संगठनको होली कार्यक्रम स्थगित

नेपाल पत्रकार महासंघ, बाँकेले यस वर्ष होली मिलन कार्यक्रम नगर्ने भएको छ। शान्ति, सद्भाव र भ्रातृत्वका लागि हरेक वर्ष होली मिलन कार्यक्रम गर्दै आएको महासंघले भीडभाडमा बस्दा कोरोना भाइरस सर्ने खतरालाई मध्यनजर गरि होली मिलन कार्यक्रम स्थगित गरेको जनाएको छ।

'भीडभाड हुने कार्यक्रम नगर्नु–नगराउनु भन्ने संघ, प्रदेश सरकार र स्थानीय प्रशासनले सार्वजनिक सूचनामार्फत अनुरोध गरेकोले यस वर्ष होली मिलन कार्यक्रम स्थगित गरिएको छ,’ महासंघ, बाँके सचिव तिलक गाउँलेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

नेपाल निजामती कर्मचारी संगठन, बाँकेले पनि यस वर्ष होली मिलन कार्यक्रम नगर्ने भएको छ। विश्वमा महामारीको रूपमा फैलिएको नोबल कोरोना भाइरसको उच्च जोखिममा नेपाल रहेको र छिमेकी मुलुक चीनमा मात्र हजारौं संक्रमित तथा सयौंको ज्यान गइसकेकोले यस वर्ष होली मिलन कार्यक्रम नगर्ने निर्णय गरिएको संगठनका सचिव देवीलाल चौलागाईंद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

होली मिलन कार्यक्रमलाई स्थगित गरेको संगठनले कोरोना भाइरसबाट बच्ने उपायसम्बन्धी सचेतना फैलाउने कार्यक्रम संचालन गर्ने भएको छ। परीक्षण र उपचारमा क्रियाशील एवं तत्पर रहन सम्पूर्ण स्वास्थ्यकर्मी, चिकित्सक तथा कर्मचारीलाई अनुरोधसमेत गरेको छ।

कोरोनाका बारेमा अफबाह फैलाउने, कालाबजारी गर्ने, औषधि, मास्क जस्ता अत्यावश्यक सामग्रीको कृत्रिम अभाव सिर्जना गर्नेमाथि कडा कारवाही र प्रभावकारी अनुगमन गर्न संगठनले सरकारसँग माग गरेको छ।

'नेपालले कुनै पनि समयमा कोरोनाको सामना गर्नुपर्ने सम्भावना कायमै रहेकोले आवश्यक सतर्कता, पूर्वतयारी र यसको प्रतिकार्यका लागि बेलैमा लाग्न तथा आवश्यक औषधि एवं सामग्रीको बन्दोबस्त मिलाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार सँग माग गर्दछौँ,’ सचिव चौलागाईँद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

बिक्री भएनन् होलीका सामग्री

कोरोना भाइरसका कारण सर्वसाधारणले होली नखेल्ने भए नेपालगन्जको ब्यापार, व्यवसायमा पनि असर परेको छ। होलीका अवसरमा त्रिभुवन चोकमा लाग्ने सडक मेलामा अविर, रङ, लोला, पिचकारीलगायत होलीमा प्रयोग हुने सामग्री किनमेलमा कमी आएको स्थानीय व्यापारी शैलेन्द्र गुप्ताले बताए।

उनले त्रिभुवन चोकनजिक सडकमा होलीमा प्रयोग हुने सामग्रीको पसल राखेका छन्। उनले यस वर्ष होलीका सामग्री बिक्रीमा ७५ प्रतिशतले कमी भएको बताए। 'यस वर्ष होलीको उत्साह छैन। यसको असर व्यापार, व्यवसायमा पनि परेको छ,’ उनले भने, 'यस्तो सुनसान अहिलेसम्म कहिलै भएको थिएन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.