विद्यार्थी राजनीतिदेखि सामाजिक कार्यमा सक्रिय थिए भण्डारी

|

डडेल्धुरा : सोमबार अर्थात् फागुन २६ गते पहाड क्षेत्रको होली। यसवर्ष सरकारले नोवेल कोरोना भाइरसको संक्रमण हुन नदिन पूर्वसर्तकता अपनाएसँगै सामूहिक रूपमा होली नखेल्न सुचित गरेको थियो। तर, सामूहिक रूपमा नभए पनि सानो-सानो समूहमा युवाले मनोरञ्जनस्वरूप एक आपसमा रङ दलेर होली मनाइरहेका थिए।

उत्साह उमङ्ग र रंगको पर्वका रूपमा मनाइने होलीको रौनकता भने थिएन्। जिल्ला सदरमुकाम भएर पनि होला डडेल्धुराको सदरमुकाममा केही युवा बिहानदेखि सडकमा रङ दलेर होली मनाइरहेका थिए। तर, होलीको रङ नपुछिँदै डडेल्धुराका एक युवाको निधनको खबर सुनियो।

दिनभर साथीभाइसँग होलीमा रमाएर घर फर्केपछि होलीको रङ पखाल्न नपाउँदै युवा विद्यार्थी पदम भण्डारी बाथरुममै मृत भेटिएको खबरले सबैलाई मर्माहत बनायो।

उनी सोमबार अपरान्ह डडेल्धुरा सदरमुकामको तुफानडाँडास्थित घरमा पुगेर नुहाउनका लागि बाथरूम छिरे। अर्कोदिन उनले जन्ती जानुपर्ने भएर पनि होला समयमै होलीको रङ पखाल्न खोजेका। तर, उनी होलीको रङ पखाल्न नपाउँदै ‘अलप’ भए।

सास बाँकी नै होला भन्ने आसमा परिवारका सदस्यहरूले बाथरूममा बेहोस अवस्थामा रहेका पदमलाई डडेल्धुरा अस्पतालमा पुर्‍याए। तर, अस्पतालमा पुग्दा चिकित्सकहरूले उनलाई मृत घोषणा गरिदिए।

दिनभर होलीमा रमाइलो गरेका भण्डारीको केहीबेरपछि विभिन्न माध्यमबाट मृत्युको अपत्यारिलो खबर सुनेपछि डडेल्धुराको सिंगो युवा जगत मर्माहत भयो। सामाजिक संजालमा एकपछि अर्को गर्दै भण्डारीको श्रद्धाञ्जली लेखिएका पोष्टहरूले स्थान पायो।

को हुन् भण्डारी?

डडेल्धुरा जिल्लाको विद्यार्थी राजनीतिमा निकै सक्रिय युवा पदम भण्डारी, जो २७ वर्षको उमेरमा अलप भए। जिल्लाको अजयमेरु गाउँपालिका १ मा जन्मिएका भण्डारी सानै उमेरदेखि सामाजिक काममा रुचि राख्ने स्वभावका देखिन्थे।

डडेल्धुरा जिल्ला सदरमुकाममा आफ्नो छुट्टै पहिचान बनाइसकेका युवाको अवसानले सिंगो युवाको शक्ति क्षण भएको छ।

२७ वर्षीय भण्डारी सानैदेखि सामाजिक काममा सक्रिय थिए। उनको प्रारम्भिक शिक्षा गाउँको विद्यालमा अध्ययन गरेका थिए भने उच्च शिक्षा डडेल्धुरा बहुमुखी क्याम्पसमा अध्ययनरथ थिए। समाजसेवासँगै भण्डारी विद्यार्थी राजनीतिमा पनि सक्रिय रहेका थिए।

नेपाली कांग्रेसको भातृ संस्था नेविसंघ डडेल्धुराको कार्यबाहक सभापति थिए उनी। राजनीतिक रूपमा नेपाली कांग्रेस आवद्ध रहे पनि सिंगो समाजमा भिजेका उनी सबैका लागि प्रिय थिए।

पछिल्ला केही वर्षयता डडेल्धुरावासीका हरेक पीडामा मल्हम लगाउन सक्रिय थिए भण्डारी। उनले बेला–बेला रक्तदान कार्यक्रमको आयोजना गरेर धेरेको ज्यान जोगाए भने जिल्लामा कपडा बैंक खोलेर विपन्न समुदायका सारथीसमेत बने। थुप्रै क्रिकेट प्रतियोगीता खेलिसकेका एउटा राम्रो खेलाडीसमेत थिए उनी।

डडेल्धुराको विद्यार्थी आन्दोलनलाई अपूर्णय क्षति

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन डडेल्धुराले नेपाल विद्यार्थी संघ डडेल्धुराका कार्यवाहक सभापति पदम भण्डारीको निधनले विद्यार्थी आन्दोलनलाई अपूर्णय क्षति भएको जनाएको छ। अखिलले सोमबार साझ एक शोक विज्ञप्ति जारी गर्दै भण्डारीको निधनले डडेल्धुराको सिंगो विद्यार्थी आन्दोलनलाई अपूर्णय क्षति भएको जनाएको हो।

‘डडेल्धुरा जिल्लाको विद्यार्थी आन्दोलनका हस्ती तथा एक जुझारु युवा, नेपाल विद्यार्थी संघ डडेल्धुराका कार्यवाहक सभापति अजयमेरु गाउँपालिका–१ बस्ने श्री पदम भण्डारीज्यूको २०७६/११/२६ गतेका दिन भएको असामहिक निधनले डडेल्धुराको सिंगो विद्यार्थी आन्दोलनलाई अपूर्णय क्षति भएको महसुस भएको छ।’ अनेरास्ववियू डडेल्धुराका संयोजक सन्तोष भट्ट र सह–संयोजक पुस्कर देउवाद्वारा हस्ताक्षरित शोक विज्ञप्ति भनिएको छ।

अनेरास्ववियू डडेल्धुराले मृतक भण्डारीप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवार र आफन्तहरूमा गहिरो समवेदनासमेत व्यक्त गरेको छ।

खुलेको छैन मृत्युको कारण

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने नुहाउन बाथरूम छिरेका पदमको मृत्युको कारण खुल्न नसकेको बताउँछन्। ग्यास गिजर चलाएर नुहाउन बाथरूम छिरेका पदम लामो समयसम्म बाहिर ननिस्केपछि परिवारले उद्धार गरी अस्पताल पुर्‍याएको उनको भनाइ छ।

‘बाथरूममा बेहोस अवस्थामा फेला पारेपछि परिवारका सदस्यले डडेल्धुरा अस्पताल लैजानुभएको रहेछ। उहाँलाई बचाउन सकिएन,’ उनले भने, ‘पोस्टमार्टम रिपोर्ट आइसकेको छैन। के कारणले मृत्यु भयो भन्ने खुल्न बाँकी छ।’ घटनाको अनुसन्धान भइरहेको उनले जानकारी दिए।

पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली

शव परिवारलाई जिम्मा लगाइएपछि मंगलबार बिहान पदमको शवलाई डडेल्धुरास्थित कांग्रेस पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको थियो। जहाँ नेपाली कांग्रेसका जिल्ला सभापति एवं प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे।

सोही स्थानमा प्रदेशसभा सदस्य गोविन्दराज बोहरालगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली अर्पण गरेका थिए। शवको मंगलबार नै सेतीघाटमा अन्तिम दाहसंस्कार गरिने परिवार स्रोतले जनाएको छ।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.