|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबार परिसरमा आज बिहान ११ः३५ बजेको शुभसाइतमा वसन्त श्रवण गरी टीका प्रसाद ग्रहण गरेकी छिन्।

समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरे। नेपाली सेनाको टोलीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गरेको थियो। परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ठ व्यक्ति त्यहाँ पुगी वसन्त श्रवण गर्ने परम्परा छ।

सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालले पनि वसन्त श्रवण गरी टीका, माला र फूलप्रसाद ग्रहण गरे। श्रीमद्भागवत महापुराणमा भगवान् श्रीकृष्णको खोजीमा रहेकी उनका प्रेमिका राधा र उनका सखीहरूले वसन्त ऋतुको आगमनको स्वागत गर्दै वसन्तराग गाएर कृष्ण भगवान्को आराधना गरेको प्रसङ्ग उल्लेखित छ।

वसन्त पञ्चमीको दिनबाट नयाँ ऋतुको सुरुवात हुने त्यससँगै रुख बिरुवामा नयाँ पालुवा पलाउने विश्वास छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.