|

  • रमेश पराजुली

सिन्धुपाल्चोक : सुनकोसी पारी ठूलोपाखरका दृष्टिविहीन लेखबहादुर तामाङ गत शनिबार बिहानै सदरमुकाम चौतारातिर लागे। सबेरै घरबाट हिँडेका तामाङ साँझपखमात्रै सदरमुकाम आइपुगे। गाउँदेखि सदरमुकाम आइपुग्दा तामाङ दर्जनभन्दा बढी ठाउँमा लड्न पुगे।

उनी १२ वर्षको छँदा आँखाको ज्योति गुमोको थियो। त्यतिबेला आर्थिक अभावका कारण उपचार गराउन सकेनन्। ‘आँखाको प्रकाश गुमेदेखि संसार अध्याँरो भयो,’ भावुक हुँदै उनले भने, ‘तर, हिम्मत हारेको छैन।’ जनताका लागि भनेर खोलिएका विभिन्न संघसंस्थाको गलत कामविरुद्ध लडिरहेको उनले बताए। 

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोकको तेस्रो जिल्ला अधिवेशनमा सहभागी हुन आएका थिए उनी। महासंघकोे हरेक अधिवेशनमा तामाङ सहभागी हुँदै आएका छन्। उनले तीनवटै अधिवेशनमा पाएको झोला, किताब र कापी देखाउँदै भने, ‘जनजाति दृष्टिविहीनलाई भनेर लाखौँ रकम आउँछ, तर मैले आजसम्म तीनवटा झोला र किताबकापी मात्रै पाएको छु।’ 

तामाङसँगै अधिवेशनको उद्घाटन शत्रमा हलभित्र बसिरहेका दृष्टिविहीन जनजातिले महासंघ सिमित व्यक्तिका लागि कमाइखाने निकाय भएको भन्दै आक्रोश पोखे। दृष्टिविहीनको नाममा आएको रकम ठूलाबडाले सिध्याउने गरेको उनको आरोप छ। जनजाति महासंघले जनजाति उत्थानका लागि भन्दै तालिममा लाखौं सक्ने गरेको भएपनि लेखबहादुरजस्ता दृष्टिविहीनले आजसम्म कुनै तालिम पाएका छैनन्। 

जनजातिका लागि विभिन्न सहयोग र तालिम सञ्चालन गरेको प्रतिवेदन हलमा वाचन भइरहँदा दृष्टिविहीनहरु भक्कानिए। जनजाति महासंघले अपाङ्ग र अशक्तलाई कुनै तालिम नदिएको र सहयोग पनि नपाएको भन्दै उनीहरुले आक्रोश पोखेपछि बन्दशत्र नै केही समय प्रभावित भयो।

तामाङले सीपमूलक तालिमका लागि थुप्रैपटक जनजाति महासंघलाई गुहारेका रहेछन् । तर, जिल्लाका ६८ गाविस र २ नगरपालिकामा तालिम सञ्चालन हुँदा अपाङ्गता भएकालाई सहभागी गराइएन। दृष्टिविहीनको कोटामा अरुलाई नै राखेर तालिम दिएको उनको आरोप छ।

यस्तै अर्का पात्र पदमबहादुर श्रेष्ठ पनि हुन् । चौताराका श्रेष्ठले रोजगारीका लागि भारत पुगेका बेला आँखाको ज्योति गुमाएका थिए। ढुंगा फोर्नेक्रममा उनको आँखामा चोट लागेको थियो। उनले काम गरेको कम्पनीले चण्डीगढस्थित अस्पतालमा लगेर उपचार पनि गरायो। तर, निको भएन। 

त्यसपछि दृष्टिविहीन बनेर स्वदेश फर्किएका उनले नेत्रहिनसम्बन्धी संघ–संस्थामा आवद्ध भएर काम गरे । दृष्टिविहीनका लागि आएको रकम सम्बन्धित पक्षलाई नै खर्च गर्न महासंघलाई पटक–पटक आग्रह गरे पनि सुनुवाई नभएको उनको गुनासो छ।

यमुनाडाँडा–८ का निमा मोक्तान पनि यस्तै एक पीडित हुन्। दृष्टिविहीन भएकैले अपहेलित हुनु परेपछि परिवारसहित कदमवास सरेका उनले भने, ‘महासंघले दृष्टिविहीनलाई चासो दिएको पाइँदैन। अपांग र अशक्तलाई आएको रकम बैठक गरेर सकाइन्छ।’ भावी दिनमा सञ्चालन गरिने तालिम तथा प्रशिक्षणहरुमा दृष्टिविहीनलाई पनि समावेश गर्न उनको सुझाव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.