शुनिल थापा समूहले गर्‍यो बहिष्कार

|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच एकताको औपचारिक घोषणा गरिएको छ। राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमको आयोजना गरी दुई पार्टीबीचको एकता घोषणा भएको हो।

राजतन्त्र र हिन्दु राष्ट्रका पक्षमा लाग्ने प्रतिबद्धतासहित गरिएको पार्टी एकता घोषणालाई शुनिलबहादुर थापा र उनका समर्थकले भने बहिस्कार गरेका छन्। कमल थापा समूहको हिन्दु राष्ट्र स्विकारेको राप्रपाले चुनाव चिन्ह हलोलाई अंगिकार गरेको छ।

पार्टी एकतापछि अध्यक्ष कमल थापाले गीता छोएर अब नफुट्ने कसम खाइरहेका बेला राप्रपा संयुक्तका शुनिल थापाको बहिस्कारले एकताको पहिलो गाँसमै ढुंगा परेको कार्यकर्ताले महसुस गरे।

पार्टी एकता अगाडिको राप्रपा संयुक्तका महामन्त्री रहेका थापाले राजतन्त्रको पक्षमा उभिँदै आएको कमल थापा नेतृत्वको पार्टीसँग एकता गर्ने पशुपति समशेरको निर्णयमाथि पनि आपत्ति जनाएका थिए। राप्रपाको मंगलबार सम्पन्‍न केन्द्रीय कार्यसमितिको बैठकसमेत शुनिल थापाले बहिस्कार गरेका थिए। शुनिल थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।

पार्टी एकताभएपछि राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबरा अध्यक्ष हुनेगरि सहमति भएको छ। दुवै पार्टीबीच गत शनिबार राति पार्टी एकीकरण गर्ने सहमति भएको थियो।

तीन अध्यक्ष रहनेगरि भएको राप्रपाको एकतामा एकीकृत पार्टीको महाधिवेशन डेढ वषभित्र गर्ने सहमतिसमेत भएको छ। टुटफुटको श्रृंखलाबाट आजित हुँदै आएको राप्रपाले अब नफुट्ने अठोट लिएको छ। 

घोषणासभामा पार्टी अध्यक्ष कमल थापा विभाजनको मूल कारक रहेको कतिपयले प्रचार गर्दै आएका बेला उनले गीता छोएर अब पार्टी नफुट्ने प्रतिबद्धतासमेत जाहेर गरेका छन्। ‘अब कहिल्यै नफुट्ने गरी एक भएको छैन, यो एकतालाई हामीले राजनीतिक इतिहासको कोशेढुंगाको रूपमा लिएका छौँ’ थापाले भने।

अहिलेको नेकपाको सरकारका कारण भ्रष्टाचार, महँगी, विकृति र विसंगती मौलाएको भन्दै पार्टीएकतापछि राप्रपा शक्तिशाली पार्टी निर्माण हुने अध्यक्ष राणाको भनाइ छ। ‘शक्तिशाली पार्टीको रूपमा पहिचान भएर राप्रपा अब जनतामाझ जान्छ। र, हिन्दु राष्ट्र कायम गराउन सफल हुन्छ’ उनले भने। 

राप्रपा नेता राजेन्द्र लिङ्देनले राप्रपाका नेताहरू मिल्न नसक्दा मुलुकमा गणतन्त्र र धर्म निरपेक्षता आएको आरोप लगाउन भ्याए। ‘पार्टीभित्र नेतृत्वकै आलोचना र स्वार्थको लडाइँको कारणले राजतन्त्र र हिन्दु राष्ट्रको अन्त्य भयो’ उनले भने। 

राप्रपा (हलो) र राप्रपा (गाई) २०४७ साल जेठ १५ गते निर्वाचन आयोगमा दर्ता भएको थियो। पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वमा राप्रपा (गाई) र पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द नेतृत्वमा राप्रपा(हलो) निर्वाचन आयोगमा दर्ता गराएका थिए। 

तर, राप्रपाभित्र पटकपटक एकता भएको राप्रपा निर्वाचन चिह्नको कारणले फुट्दै गएको हो। हलो र गाईको विवादको कारणले यसअघि पनि पटकपटक फुट्दै आएको थियो। तीन अध्यक्ष हुनेगरि भएको राप्रपाको पार्टी एकतापछि अबको चुनाव चिह्न हलो हुने बताइएको छ। 

राजनीतिक दलहरूले सामूहिक नेतृत्व राख्ने प्रचलनलाई राप्रपाले पनि निरन्तरता दिएको छ। सोहीअनुरूप राप्रपाले पनि तीन अध्यक्ष राखेको हो। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पनि दुई अध्यक्ष छन्।  नेकपाको पार्टी अध्यक्षमा केपी शर्मा ओली र र पुष्पकमल दाहाल प्रचण्ड रहेको छन्।

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरमबीच दुवै अध्यक्ष रहेको छन्। यस्तै, अर्को मधेसकेन्द्रीत दल राष्ट्रिय जनता पार्टी (राजपा)मा पनि अध्यक्ष मण्डलमा अध्यक्ष एकभन्दा धेरै छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.