|

  • दिपेन्द्र शर्मा

जाजरकोट : दीपक बुुढा सहुलियतको चामल लिन खाद्य संस्थानको दशेरामा रहेको गोदाममा पुग्दा चामल नपाएर रित्तै हात घर फर्किए। दशेरा ६ जेवाका दीपक पहुँचवालाले मात्रै सहुलियतको चामल पाएको गुनासो गर्छन्। 

‘घरमा पैसा नहुँदा पहिला लिन पाइएन। उधारोे दिएनन्। गाँउमा गएर पैसा जम्मा गरेर आउँदा चामल सकिएछ,’ उनले भने।  समयमा पानी नपर्दा यो वर्ष उत्पादन राम्रो नभएको उनको भनाइ छ। उनले सरकारले थप चामलको कोटा बढाउनुपर्ने बताए। 

दशेरा ६ जाजरकोटका दल बहादुर बुढाको गुनासो पनि उस्तै छ। ‘म कमाई गर्न भारत गएको थिएँ। घरमा पैसा थिएन पैसा नहुँदा परिवारले चामल ल्याउन पाएनन्, गाँउमा कसैले ऋण दिन मानेन , म घर आउना साथ भोलीपल्ट डिपोमा गएँ सबैै चामल सकिएछ।’

चामल लिनका लागी ३ दिनको लामो बाटो हिडेँर आएका दह ८ जाजरकोटका मानबहादुर बस्नेत पनि चामल नपाएर रित्तै हात फर्किए। डिपोमा चामल आयो भनेर गाँउ–गाँउबाट सबैजना आए त्यही सुनेर म पनि चामल लिन आएको यहाँँ त सबै सकिएछ,’ उनले भने,‘ घोडा खच्चडमा लिएको देख्दा यस पटक धेरै चामल लिन पाइन्छ जस्तो लागेको थियो तर आश निराशामै रहयो।’

दीपक, दलबहादुर र  मानबहादुर जस्तै यहाँका धेरै स्थानीयले गाँउमा चामल आएको सुचना पाउने बित्तिकै गोदाममा जाँदा चामल नपाएको गुनासो गरे। 

गरिबका लागि भनेर सरकारले सहुलियतमा उपलब्ध गराएको चामल यसपटक धेरैले पाएनन्। दशेरा डिपोमा कोटाको चामल चाँडै सकिदाँ यहाँका स्थानीयलाई छाक टार्न हैरान छ। स्थानीय शिक्षक हर्कबहादुर बुढा भन्छन्,'सस्तोमा गाँउमा चामल आयो पैसा हुनेले समयमै धेरै किने गरिबले पैसा खोजुन्जेल चामल सकियो।’ 

खाद्य संस्थानमा २ हजार क्विन्टल स्टक

गाँउका डिपोमा चामल नपाएर सर्वसाधारण हैरान छन्। तर नेपाल खाद्य संस्थान जाजरकोटको गोदाममा भने २ हजार क्विन्टल चामल स्टक रहेको खाद्य संस्थान जाजरकोटका प्रमुख धर्मबहादुर बस्नेत बताउँछन्। 

जिल्लाको रग्दा, नायकवाडाको घाट, दशेरा र पजारुको घोगीमा १ हजार क्विन्टलका  दरले चामल पठाउनुपर्ने कोटा हुन्छ ,पजारुमा गएको छैन, रग्दा र घाट नियमित गइरहेको छ। दशेरामा कोटाको चामल बिक्री भएर थप कोटाको माग भएको छ,’ बस्नेतले थपे,‘यसको समधान छिटै गछा। थप कोटाको चामलका लागि जिल्ला खाद्य ब्यवस्थापन समितिको वैठकबाट निर्णय गरि केन्द्र पठाइनेछ।’

पजारुमा अझै पुगेन चामल 

जिल्लाका पश्चिमका दर्जन वढी गाविसका लागी पजारुको घोगी तथा दशेरामा डिपोको स्थापना गरिएको छ। तर आर्थिक वर्षको यति समय बितिसक्दा पनि पजारुको घोगीमा भने अहिले सम्म अनुदानको चामल पुगेको छैन। 

३ पटक सम्म पनि टेन्डर स्वीकृत नहुँदा यहाँका जनताले अनुदानको चामल खान नपाएको नेपाल खाद्य संस्थान नेपालगन्जको क्षेत्रिय प्रमुख मोती ज्ञवालीले जानकारी दिए। 'विगतमा टेन्डर हालेका सप्लायर्स कसैको पनि टेन्डर खाद्य संस्थानको मापदण्डमा परेन। त्यसैले केही ठाउँमा चामल पुगेन,' ज्ञवालीले भने। उनले कार्यालयले छिट्टै कुनै सप्लार्यसँग सम्झौता गरेर पजारुको घोगीमा अनुदानको चामल पठाउने बताए। 'अबको एक हप्ताभित्र सम्झौता गरि सम्बन्धित डिपोमा चामल पठाउने योजना छ,' उनले भने। 

सरकारले अनुदनमा पठाएको बंगालादेशिय उसिने चामलको मुल्य घटेकाले गाँउमा चामल अपुग भएको दशेराका शिक्षक हर्क बहादर बुढाले बताए। ‘पहिला चार हजार एक  सय प्रति क्विन्टल पर्ने चामल पछाडी मुल्य संसोधन भएर तिन हजार एक सय पर्ने भएपछि डिपोमा पुग्‍न नपाउँदै सकिएको हो,’ शिक्षक बुढाले भन्छन्, ‘सस्तोमा गाँउमा चामल आयो पैसा हुनेले समयमै धेरै किने गरिबले पैसा खोजुन्जेल चामल सकियो।'

आज भोली डिपोमा दैनिक २० देखि ३० जनासम्म चामल लिन आउने गरेको बुढाले बताए। छिमेकी डिपो घोगीमा हालसम्म पनि चामल नआएका कारण पनि त्यस क्षेत्रका स्थानीयहरुले दशेरावाट चामल लिने गरेको उनले बताए। ‘घोगीका स्थानीयले यहाँबाट चामल लिदाँ यहाँका स्थानीयलाई अपुग भयो,’ उनले भने। यहाँका स्थानीयका लागी कम्तीमा पनि ३ हजार क्विन्टल चामल आवश्यक पर्ने उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.