पोखरेली नाटकको पुनर्जागरणमा खटिएका परिवर्तन

|

काठमाडौं : पोखरामा नाटकको विरासत लामो समय चर्चामा रह्यो। नाटकमा कुनै बेला चर्चाको शिखरमा रहेको पोखराले पछिल्लो एक दशकमा भने प्रशसांयोग्य काम गर्न सकेन।

पोखरा सुस्ताएपछि कलाकार नयाँ गन्तब्यको खोजीमा हिडेँ। नाट्यकर्मलाई फराकिलो बनाउन कोही काठमाडौं लागे, कोही आफ्नै कारणले हराए। कहिलेकाहीँ साहित्यिक गोष्ठीमा हुने नाटक-चर्चामा भने पोखरा आइरह्यो। तर यो चर्चा विहानीको शीतझैँ बिलाएर गयो।

पोखराबाटै रङ्गमञ्चको बाटो नापेर नाटकमा योगदान दिनेहरू धेरै छन्‌, चर्चित पनि। तर पोखराका लागि एकाएक नाटक इतिहास बनिदियो। यसका पछाडि हल्लैहल्लामा रूमल्लिएको पोखरेली साहित्यले पनि काम गर्‍यो। 

७० को दशकबाट पोखरेली नाटक पुनर्जागरणमा होमिएको छ। यो जागरणले पोखरेली नाट्य-विरासत पुनर्ब्याख्या हुने आँकलन गरिएको छ। पोखरेलीहरूले नाटकको प्यास मेट्न पाएका छन्। यसको एउटा कारण हो, पोखरा थिएटरको निर्माण।

नेपथ्यमा मधुर प्रकाश! प्रकाशभित्र कथा अनुसार सिंगारिएको कलात्मक बनावट! तिनै बनावटसँगै देखिन्छन् अनेक पात्र। पात्रले निभाउने चरित्रहरू। कहिले आफू हाँस्छन्, कहिले दर्शकलाई हसाउँछन्, कहिले आफू रुन्छन्, सगैँ दर्शकलाई पनि रुवाउँछन्। पात्रहरूले हरेक दर्शकको मनमा अनौठो छाप छोड्छन्। तिनै कथा, प्रस्तुति, भेषभुषा र अभिनयले दर्शकलाई नाटकको भोक जगाउँछ। यो एउटा नाटकको विशेषता हो। खुबी हो।

'नाटकको खुबी नै दर्शक तान्‍ने अस्त्र हो' भन्‍ने कुरालाई आधार मान्‍ने हो भने पोखरा थिएटरमा हालसम्म ४८ वटा नाटक मञ्चन भए। यो दुई वर्षको अवधिमा करिब ५० हजार दर्शकले नाटक हेरेको तथ्यांक छ।

पोखराका  युवाहरू पोखराको नाटकलाई जीवन्त बनाउन लागिपरेका छन्। तिनैमध्येका एक हुन - परिवर्तन। उनी भन्छन्, 'कहिलेकाहीँ सोच्छु, यति धेरै मान्छेलाई नाटकमा मोह रहेछ, हामीले धेरै पहिले नाटक घर बनाउनु पर्नेरहेछ।'

वि.सं. २०७४ फागुनमा ‍औपचारिक रुपमा नाटक देखाउन सुरु भएको थियो। सरुभक्तको 'सिरुमै रानी' नाटक मञ्चनबाट  सुरु भएको नाटक यात्राका क्रममा संस्था आफैँले ११ वटा नाटक तयार गरिसकेको छ। यसबीचमा राष्ट्रिय नाटक महोत्सव, अन्तर्राष्ट्रिय नाटक महोत्सव, विद्यालय नाटक महोत्सव, आदि भए। काठमाडौं र विदेशबाट पनि नाटकहरू ल्याइए।

नाटक घर बनाउने भोक

साहित्यका अनेक विधा। ती विधामध्येको एक नाटक। नाटकमा पोखरा। पोखरामा नाटक घर। यही नाटक घरमा हरेक दिन भेटिन्छन् परिवर्तन। उनका लागि नाटक घर नै हो सबथोक। उनी आफूलाई नाटकको लत लागेको बताउँछन्। हरेक दिन नाटक घर नआइ नहुने लत लागिसकेको छ। उनी भन्छन्, 'म साहित्यमा लागिसकेपछि नाटकको मोह बढ्यो, जब नाटकप्रति मोह बढ्दै गयो तब नाटक घर बनाउने अभियानमा जुटेँ।'

यो नाटक घर निर्माणमा उनको मात्रै योगदान छैन। उनका कयौं साथीले साथ दिएका छन्। उनी भन्छन्, 'नाटक घर एक्लै बनाउँछु भनेर हुने विषय होइन। यो त सामूहिक कर्म पनि हो।'

योजना बिनाको योजना

२०७० को आसपासमा पचांमृत नाट्य समूहमा आवद्ध थिए परिवर्तन। पोखरामा नाटक गर्ने भनेर खोलिएको उक्त समूहले पोखरा उद्योग वाणिज्य संघको हलमा नाटक देखाउने गर्थ्यो। उद्योग वाणिज्य संघमा नाटक देखाउदाँ हल भरिन्थे। निश्चित समयसम्म दर्शकको ओइरोले पोखरामा नाटकको भविष्य अझ उज्जल हुनसक्ने बुझ्‍न सकिन्थ्यो। एकातिर दर्शक भरिभराऊ अर्कोतिर हलमा हुने प्राविधिक समस्या। यही समस्यासँग जुध्दा जुध्दै उनले नाटक घर बनाउनुपर्ने निचोड निकाले।

०७३ को अन्त्यतिर उनले कुनै नाटक गरेका थिए। त्यो नाटक पनि पोखरेलीले खुबै मन पराए। उक्त नाटक समाप्तिका दिन पत्रकार सम्मेलन थियो। परिवर्तनले जोशमा पत्रकार सम्मेलनमै बोलिदिए, 'अब छिट्टै पोखरामा नाटक घर बन्‍ने छ।' यो कुनै योजना भएर गरिएको घोषणा थिएन। थियो त केबल जोश। 

एक वर्षमा नाटक घर बन्‍ने घोषणा गरेका परिवर्तनले ९ महिनापछि अर्को नाटकको लागि पत्रकार सम्मेलन गरे। उक्त पत्रकार सम्मेलनमा पत्रकारहरुले एक वर्ष भित्र बन्‍ने नाटक घरको अवस्थाबारे सोधिदिए। त्यसबेला परिवर्तनसँग कुनै जवाफ थिएन। 

छुट्यो साथीको साथ

घर निर्माणको घोषणापछि उनी चारजना साथीसँग मिलेर नाटक घर बनाउने जग्गा खोज्‍न निस्किए। ०७३ माघसम्म जग्गा पाइयो। त्यहीबीचमा एकजना साथीले टिम छोडिदिए। साथीको साथ छुटे पनि उनको टिमले यात्रा रोकेन। बाँकी तीनजना साथीहरूसँगै नाटक घर बनाउन कानुनी अभियान अगाडि बढ्यो। चैत १३ गते नाटक घर शिल्यान्यास भयो। त्यसपछि अर्का साथीले पनि हात झिकिदिए।

दुईजना साथीले साथ छोडेपछि तनाव बढ्दै गयो। तर उनको साथ एकजना बाँकी थिए दिलप्रसाद गुरुङ। दिलप्रसादले भने नाटक घर निर्माण पूरा गर्नुपर्न भन्दै अडान दिए। अनि परिवर्तनले हिम्मत हारेनन्।

एउटा भनाइ छ, 'हिम्मत हारिएन भने साथ दिनेहरू थपिन्छन्।' नभन्दै उनलाई साथ दिन र नाटक घर निर्माणको लक्ष्य पूरा गर्न अर्का व्यक्ति शंकरनाथ कोइराला सारथि बनेर आइपुगे। कोइराला तिनै हुन् जसको जग्गामा अहिले एक करोड लागतमा नाटक घर ठडिएको छ।

नाटकघर ठडियो, अब त्यहाँभित्र मञ्च र दर्शकदीर्घाले पोखरेलीलाई फेरि नाटकसँग जोड्ने भए। हिमाली काखको बस्तीका भोगाइदेखि गोल-भूगोलको निकै टाढाका विषयहरू पोखरेली नाटक पारखीहरूका लागि खुराक बन्ने भयो। 

अब परिवर्तनलाई बीचमा आफ्नो साथ छोड्नेहरूप्रति कुनै गुनासो छैन। उनी अहिले ठडिएको नाटक घर हेर्छन्। मुसुक्क हाँस्छन्। 'सायद हाम्रो काम गर्ने तरिका मिलेन होला,' उत्साहित हुँदैँभन्छन्, 'अहिले हामी तीनजना छौं, तर यसको सञ्जाल फैलिइसकेको छ, ढुङ्गामाटो हाम्रो होला। तर यो नाटक घर अब सबैको हो।'

उच्चशिक्षा पढ्न स्याङजाबाट पोखरा

स्याङ्जामा जन्मेका उनी उच्चशिक्षा पढ्न पोखरा झरेका थिए। उनको साथमा थिए प्रान्जल। एक दिन कोठामा सुतिरहेका परिवर्तनलाई प्रान्जल (जो नाटक खेल्छन) ले नाटकको 'अफर' लिएर आए। त्यसबेला उनले पनि नाटकबारे सुनेका थिए। अलिअलि पढेकोले नाटकप्रति मोह बढ्दै थियो। प्रस्ताव नै आएपछि गरिदिऊँ न त भन्ने लाग्यो उनलाई। 'पंचामृत नाट्य समुह'को टोली बन्यो। त्यसपछि उनी लगातार नाटक निर्माण र अभिनयमा होमिएका छन्।

नाटकमा मोह बढ्दै जाँदा बुवाको सपना पूरा गर्न सकेनन् उनले। बुवा भारतीय सैनिक। उनलाई आफ्नै बाटोमा हिँडाउने योजना थियो बुवाको। साहित्यको भोकले होला, लाहुरे बन्ने बाटो कहिल्यै हिँडेनन्। 'नाटकको भूतले धेरै कुरा गुमाएको छु भन्ने लाग्छ, वर्तमानमा सन्तुष्टि मिलेको छ, भविष्यको ठेक्का लिन सकिएन,' उनको बोलीमा नाटकप्रति गहिरो मोह देखियो।

घरमा जेठो छोरो हुन् उनी। जेठोलाई आफ्नो निर्णय आफैँ गर्ने अधिकार बढी दिएको छ समाजले। पढेको मान्छेलाई समाजले धेरै कुरामा छुट दिने रहेछ भन्ने अनुभव उनीसँग छ। समाजले सोच्छ, 'पढेको छ। जे गर्छ। सोचेर विचार गरेर नै गर्छ।'

०००००००००००

पोखरा थियटर निर्माण पछी पोखरामा  नाटकको अवस्था कस्तो पाउनुभएको छ? 

हिजो पोखरामा नाटक शून्य अवस्थामा थियो। कमसेकम अहिले नियमित नाटक मंचन हुन्छ। नाटक उत्पादन भइरहेको छ। नियमित दर्शकको उपस्थिति छ। जुन बढ्ने क्रममा छ, यो परिवर्तन नै त हो।

पोखरेलीमा नाटक हेर्ने भोक चाहीँ कस्तो पाउनु भयो? 

यो दुई वर्षको अभ्यासमा धेरै उतारचढाव अनुभव गरियो। अहिले पोखराका ६ वटा स्कुलमा अभिनय कक्षा संचालित छन्। हरेक ठाउँमा रंगमञ्च पुगेको छ। हामी एउटा नाटक १५ दिनसम्म देखाउँछौं। त्यसमा दर्शकहरू आउनुहुन्छ। यसलाई नाटक हेर्ने भोक नै भनौं क्यार! दर्शकहरूलाई सुरुमा थियटर ल्याउन गाह्रो रहेछ। एक पटक आएपछि भोक चाहिँ रहिरहँदो रहेछ। 

नाटक के रहेछ? 

मान्छेलाई निर्माण गर्ने परिस्थितिले नाटकको परिभाषा फरक फरक होला। म जहाँ उभिएको छु : नाटकले गर्दा उभिएको छु। व्यक्तिगत रुपमा भन्नुपर्दा नाटक मेरो जीवन हो।

नाटक किन हेर्ने? 

कहीँ न कहीँ हाम्रो समाजको पात्र नाटकमा नै देखिन्छ। हामीले भोगेको जीवनलाई कलात्मक रुपले नाटक देखाउछौं। हामी समाज र यो भूगोल भन्दा बाहिर गएर नाटक गर्दैनौं। हामीले हाम्रा नाटकमा आफूलाई भेट्छौं। पात्र र पात्रले निभाउने चरित्र हाम्रा समाजमा अंश हुन्। समाज साना साना अंशलाई नाटकमार्फत हेर्दा मनोरञ्जनन लिन्छौं। नाटक हेर्नु जीवनसँग जोडिनु पनि हो।

नाटकलाई ठाउँ विशेषले कस्तो प्रभाव पार्दोरहेछ?

अहिले मिडियाले काठमाडौंमा हुने नाटकबारे जति चर्चा गर्छ। त्यो कुनै विशेष क्षेत्र विशेषका नाटक महत्व दिदैँन। त्यो एक किसिमले ठीकै पनि होला। किनभने काठमाडौंमा जसरी नियमित नाटक मञ्‍चन हुन्छन्, त्यो अनुपात अन्य शहरमा हुदैँनन्। यहाँ सबैले निरन्तरतालाई महत्व दिदाँ रहेछन्। चर्चा कम भएपछी प्रभाव सोचे अनुरुप नहुन पनि सक्छ। 

यद्यपी अहिले हरेक मान्छे आफैँमा एउटा मिडिया हो। विशेषत अहिले गण्डक क्षेत्रका हरेक ठाउँमा नाटक पुर्‍याउने अभियानमा छौं। सायद ती क्षेत्रले पोखरालाई केन्द्र मान्छन्। जसरी पोखराबासीले काठमाडौंलाई मानिरहेको हुन्छ। यो त एउटा दृष्टिकोण मात्र रहेछ। सोच रहेछ। जब हामीले नियमित काम गर्यौ भने सायद यहाँ कुनै केन्द्र मोफसल भन्ने रहँदैन। निरन्तरता ठूलो कुरा हो। 

नाटक कम लेखिन्छन् भनिन्छ। त्यसमाथि स्तरीय नाटक लेखन अझ कमी छ। यहाँ कलाकार कस्ता छन्? 

यसलाई पोखरालाई जोडेर हेरौं। पोखरामा नाटकको जग सुरु भएको छ। यहाँ नाटक मचन, नाटक हेर्ने संस्कृति, कलाकार, निर्देशकहरू तयार हुदैँछन्। यो प्रक्रियाले पूर्णता पाउन अझै ५ वर्ष लाग्न सक्छ। त्यसपछि अहिले खोजिएको जवाफ सबैले पाउँछन्।

०००००००००००

नाटकले जीवन दियो

उनी कुनै बेला एन्जाइटीका बिरामी थिए। एन्जाइटीबाट ग्रसित उनले लगातार ५ वर्ष औषधि खाए। जब उनी नाटकमा लागे। यो रोगबाट मुक्ति पाए। उनलाई लाग्छ, 'मैले नाटकबाट नयाँ जीवन पाएँ।

नयाँ जीवन पाएपछि त्यही नाटकमा जीवन व्यतित गर्ने मेरो पागलपन सुरु भयो।' नाटकले मेडिसिनको काम गर्‍यो। सँगै रंगमञ्चले जीवन दियो। उनी पनि अब नाटकलाई आफ्नो जीवन दिने सोचमा छन्।

नाटकलाई मात्रै होइन नाटक घर

दुई सय सिट क्षमताको  नाटक घरमा अचेल नाटक मात्र मञ्चन हुदैँनन्। नाटक घर नाटकको लागि मात्र होइन् भन्ने धारणा अनुरूप अहिले हरेक महिना सांगीतिक कार्यक्रम हुने गर्दछ। हरेक महिना फिल्म हेरेर त्यसको समिक्षा पनि गर्ने गरिएको छ। 'जीवनवृत्तान्त' कार्यक्रम पनि यहाँ संचालन भइरहेको छ। जहाँ अग्रज पुस्ताको अनुभव सुनाउने गरिएको छ। अहिले नाटक कक्षा पनि संचालन भइरहेको छ। नाट्यकर्मी अनुप बरालले नाटक कक्षा लिइरहेका छन्। 

यत्रो लगानी गरेपछl मुनाफाको पनि प्रश्‍न उठ्छ नि! 'नाटकमा लगानी गरेर मैले जति पाएको छु। त्यो अन्य सहकर्मी-साथीहरूले पाएका छैनन्। ती पाटाहरूको हिसाब गर्ने हो भने मेरो बाँच्ने आधार चाहीँ पक्कै भएको छ। थियटरमा लगानी गरेर लगानी उठाउँछु भन्ने सम्भावना अझै कम छ', उनी भन्छन्, ' मैले धेरै अपेक्षा गरेँ भने म सकिन्छु। यो लगानी हामी मरेर गए पनि पोखरालाई नाटकले नछोडोस् भन्ने कामनाका लागि मात्रै हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.