|

कविता कविले लेख्दैन
कविता झरिले लेख्छ

कविता घामले लेख्छ
कविता हिमालले लेख्छ
कविता फुलले लेख्छ
कविता आजाद उडेका चराहरुले लेख्छन् 
कविता इन्द्रेणीले लेख्छ
कविता झरनाले लेख्छ
यान्त्रिक चिजले कविता लेख्दैन
कविता कविले लेख्दैन

कविता गाउँ छाड्न बाध्य युद्धले लेख्छ
कविता सहर पसेको बेरोजगार सर्टिफिकेटले लेख्छ
कविता घर छाडेर गएको सिमानाले लेख्छ
कविता देश छोड्न बाध्य पासपोर्टले लेख्छ
कविता विवश समयले लेख्छ 
कविता कविले लेख्दैन

कविता आमाको आँचलले लेख्छ
कविता प्रेमिकाको स्पर्शले लेख्छ
कविता दोस्तको सम्झनाले लेख्छ
कविता प्रेमले लेख्छ
कविता अहमले लेख्दैन
 कविता कविले लेख्दैन

कविता पुरानो किताबमा भेटिएको
मयुरको प्वाँखले लेख्छ
कविता पहिलोपल्ट कोरेको
अक्षरले लेख्छ
कविता कागजको जहाजले लेख्छ
कविता आँगनले लेख्छ
कविता स्मृतिले लेख्छ
कविता कविले लेख्दैन

कवि त सिर्फ
कविताको एउटा कुनामा 
आफ्नो नाम लेख्छ
अँह कविता कविले लेख्दैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.