|

  • अर्जुन आचार्य

विराटनगर : आर्थिक तरलताका कारण विराटनगरका साना तथा ठूला वित्तिय संस्थामा समस्या सिर्जना हुन थालेको बैकिङ क्षेत्रका व्यक्तिहरुले बताएका छन्। बैंकमा नोट जम्मा हुन छाडेपछि भएको अभावले ऋण लिने उद्योगी व्यवसायिको संख्या घटेको उनीहरुले बताए। नेपाल राष्ट्र बैंकले भने आर्थिक तरलता नभएको दाबी गर्दै आएको छ।

बैंकको तरलताको कारण विराटनगरका उद्योगी व्यवसायीहरु अन्यौलग्रस्त बनेको उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले बताए। ‘आर्थिक तरलताका कारण ऋण लिने र लगानी गर्न समस्या भएको छ,’ उपाध्यायले भने,‘मजदुरको तलब भत्ता भुक्तान गर्न समेत समस्या छ।’

उनले साना बचत तथा ऋणको कारोबार गर्ने माइक्रो फाइनान्सदेखि ठूला बैंकसम्म आर्थिक समस्यामा रहेको बताए।‘लिएको ऋण तिर्न पनि समस्या छ,’ उपाध्यायले भने,‘बैंकबाट ऋण लिनै समस्या भइरहेको बेला कतिपय बैंकले ब्याजदर १२ देखि १४ प्रतिशतसम्म पु¥याउँदा झनै समस्या भयो।’ बैंकमा तरलता देखिनु राम्रो लक्षण नभएको उपाध्यायको दाबी छ।

यता सप्तकोशी डेभलपमेन्ट बैंकका निर्देशक बलराम बरालले सरकार र राष्ट्र बैंककै कारण आर्थिक तरलता बढेको बताए।‘सरकारी बजेट खर्च नहुनु, भारतीय नोटबन्दीको उचित हल, नहुनु र शेयरमा अत्याधिक लगानीका कारण समस्या बढेको देखिन्छ।'

बरालले भने,‘सरकारले समयमा बजेट निकासा गर्नुपर्‍यो, राष्ट्र बैंकले तरलता हल गर्नका लागि तीन महिनाको लागि नोट दिनुपर्‍यो, एक हप्ताका लागि दिएर भएन,’ उनले भने,‘हामीले ०४८÷४९ सालमा भोगेको आर्थिक तरलता पछि अहिले भोग्दैछौ।समस्याको समाधानका लागि राष्ट्र बैंकले विशेष कार्यक्रम ल्याउनु आवश्यक छ।’

यता राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बैंकमा तरलता देखियो भन्ने कुरा निराधार रहेको बताए। ‘बैंक तथा वित्तीय संस्थाले आफ्नो पूँजी र स्वदेशी पूँजीको कर्ता प्रवाह ८० प्रतिशत भन्दा बढी गर्न नपाउने नियम लगाएको छ,’ पौडेलले भने,‘क्षमताभन्दा धेरै कर्जा प्रवाह गरेर पूँजी जोखिममा पार्ने अवस्थाका कारण सिडी रेसियो कायम गरेको हो।’ बैंकहरुले सोही कारण देखाएर अनावश्यक हल्ला गरेको पौडेलको दाबी छ।

बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थामा मुद्रा अभावको समस्या नरहेको जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले बताए। ‘सहकारीमा अहिलेसम्म आर्थिक तरलताको समस्या देखिएको छैन,’ पोखरेलले भने,‘सानो सानो पूँँजीको लगानी गर्ने र नियमित किस्ता आउने भएका कारण समस्या देखिएको छैन।’ पोखरेलका अनुसार ठूलो रकम लगानी गर्न खोज्ने सहकारीलाई समस्या भएपनि सानो पूँजी संकलन गर्ने र कारोबार गर्ने सहकारीका लागि कुनै समस्या छैन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.