साइकल चढौँ, स्वस्थ र फुर्तिलो बनौँ

|

पर्वत : नेकपा कुस्मा नगर कमिटीका अध्यक्ष शंकर गिरी बिहान सबेरै साइकलमा कुदिरहेका भेटिन्छन्। मर्निङ वाकका लागि हिँड्ने गरेका उनले साइकल चलाउँदा बढी शारीरिक अभ्यास हुने भएका कारण बिहानीको समयमा झन्डै ३ किलोमिटर साइकल यात्रा गर्छन्।

बिहानीको समयमा कहीँ कतै जान काम परेमा साइकल नै दौडाउँछन्। सदरमुकाम कुस्माकै स्थानीय उनीसँग मोटरसाइकल पनि नभएको भने होइन। तर मोटरसाइकलमा गरिने यात्राले शरीरलाई भारी बनाएको महसुस गर्दै उनले एक लाखमा साइकल खरिद गरे।

उनी जस्तै सदरमुकाम कुस्मा बजारकै सफल व्यवसायी गोपी अधिकारीलाई पनि साइकलको मोहले तानेको छ। केही समय पहिलेसम्म स्कुटरमा यात्रा गर्ने गरेका उनी आफ्नो पुर्ख्यौली घर कटुवाचौपारी जाँदा होस् वा बिहानीको समयमा मर्निङ वाक गर्दा नै किन नहोस् साइकल चलाउँछन्। स्कुटरमा गरिने यात्रालाई शरीरलाई आवश्यक कसरत नदिने भएकाले आफूले साइकल खरिद गरेको उनको भनाइ छ।

गिरी र अधिकारी जस्तै पर्वत सदरमुकाम कुस्मासहितका अन्य बजारहरूमा व्यवसाय तथा जागिर गर्नेहरूको रोजाइको सवारीमा साइकल पनि पर्दै जान थालेको छ।

शारीरिक परिश्रम गर्ने अवसर नहुँदा शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्‍न नसकिएको तथा विभिन्न रोगहरूको सिकार हुने खतराबाट जोगिनका लागि साइकलको यात्रा रोज्‍ने गरेको साइकलयात्रीहरू बताउँछन्।

साइकल यात्राका अनेक फाइदा

नेकपाका नेता गिरीले शारीरिक कसरत, आर्थिक बचत, प्रकृतिको संरक्षण र पर्यटन प्रवर्द्धनको लागि साइकलको यात्रा राम्रो हुने भएकोले नै यसमा आकर्षित भएको बताए। ‘बिहानमा आरालो र उकालो बाटोमा साइकल कुदाउँदा शारीरिक कसरत भएको छ।

बाइकमा हाल्नुपर्ने पेट्रोलको खर्च जोगिएको छ।’ उनले भने, ‘साइकलले धुवाँ नफाल्ने भएका कारण प्रकृति र पर्यावरणका लागि पनि उपयोगी छ। विभिन्न ठाउँ र प्रकृतिको अवलोकन गर्दै यात्रामा निस्कन पनि साइकल नै ठिक छ।’

विदेशीहरूले कि त शारीरिक परिश्रम गर्ने कि त केही समय भए पनि साइकल चलाएर स्वस्थ रहन प्रयास गर्ने गरेको बताउँदै गिरीले साइकल चढ्न अरूलाई पनि प्रेरित गरिरहेको बताउँछन्।

बजारमा बस्नेहरू बसीबसी खाँदा ब्रोइलर कुखुरा

व्यवसायी अधिकारीले बजारमा रहेका व्यक्तिहरूले गाउँका कृषकहरूले जस्तो काम नगर्ने भएकाले बजारमा बस्नेहरूलाई मोटोपना तथा मुटुका रोगहरूले आक्रमण गर्ने गरेकोले त्यसबाट जोगिनका लागि साइकलको यात्रा उत्तम हुने बताए। ‘बजारमा बस्नेहरू बसी बसी खाँदा ब्रोइलर कुखुरा जस्ता बनेका छौँ। शरीरमा इम्युनिटी पावर नै छैन।’ उनी भन्छन्, ‘रोगहरूबाट जोगिन र शरीरलाई स्वस्थ राख्नका लागि साइकलको यात्रा उत्तम लाग्यो।’

पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले पनि शरीरलाई कसरतको माध्यमबाट स्वस्थ राख्नका लागि साइकलको यात्रा राम्रो हुने बताउँछन्। साइकल चलाउँदा शरीरका धेरै अङ्गहरूमा चाल उत्पन्न हुने भएका कारण त्यही चालले नै शरीरलाई कसिलो, बलियो र पूmफुर्तिलो बनाउने भएकोले साइकल यात्रालाई मर्निङ वाकमा प्रयोग गर्दा राम्रो हुने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.