|

उदयपुर : विद्युत प्राधिकरणमा पछिल्लो पटक सरुवामा परेका कतिपय कर्मचारीले स्थानीय रुपमा आफूखुसी लोडसेडिङ गराउन थालेको खुलासा भएको छ। आफूलाई पायक पर्ने स्थानमा सेटिङ मिलाएर वर्षौँसम्म बसेका कर्मचारीहरुले अहिले आफू सरुवामा परेपछि लोडसेडिङ हटाउने अभियानमा अघोषितरुपमा असहयोग गर्न थालेका हुन्। यसरी अघोषित रुपमा असहयोग लोडसेडिङ गराउनेहरुमा विभिन्न राजनीतिक दल निकट संगठनमा आवद्ध कर्मचारी छन्।

‘सरुवामा परेका नेता कर्मचारी (संगठनमा आवद्ध) हरुले एकभएर जिल्लामा आफूखुसी लोडसेडिङ गराइरहेका छन्,’ नाम नखुलाउने शर्तमा एक कर्मचारीले थाहा खबरसँग भने, ‘सरुवा भएको रिसले उदयपुर, सिरहालागायतका केही कर्मचारीको मिलेमत्तलोमा अहिले अघोषित लोडसेडिङ सुरु गरिएको छ, माथिबाट कुनै पनि तालिका आएको छैन।’

साथै उनले विद्युत चोरी गर्नेहरुलाई पनि कारबाही नगरिएको बताए । ‘सिराहा, सप्तरी र उदयपुरका प्रमुख समेतको मिलेमतोमा सरुवाको विरोघ गरिएको छ,’ उनले भने– ‘उदयपुरमा विद्युत् चोरी हुकिङ गर्नेहरुलाई पनि कारबाही गरिएको छैन।’

उदयपुरमा एकैचोटी २३ जना कर्मचारी सरुवामा परेका छन्। गाईघाट शाखामा कार्यरत एकदेखि पाँच तहसम्मका कर्मचारीहरु सरुवामा परेपछि विरोधस्वरुप अघोषितरुपमा ३ देखि ४ घण्टासम्म लोडसेडिङ हुन थालेको छ।

यसरी सरुवमा पर्ने ‘नेता कर्मचारी’हरुमा नेपाली काँग्रेस निकट नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ, नेकपा एमाले निकट नेपाल विद्युत प्राधिकरण युनियन, नेकपा माओवादी केन्द्र निटक नेपाल राष्ट्रिय कर्मचारी संगठन (नेपाल विद्युत प्राधिकरण) र राप्रपा निकट कर्मचारी कल्याण परिषदमा आवद्ध कर्मचारी छन्।

यी मध्ये कतिपय स्थानीय कर्मचारी त दुई दशकदेखि यही पायक मिलाएर बसेका थिए। सरुवाको पत्र आएपछि आक्रोशित बनेका ती कर्मचारीहरु अघोषित विरोधमात्र उत्रिएका छैनन्, ठूला नेता र उच्चपदस्थ व्यक्तिको दैलोसमेत चाहारिरहेको स्रोतले बतायो।

को–को परे सरुवामा ?

प्राधिकरण गाईघाट शाखाका सूचना अधिकारी देविबहादुर थुलुङका अनुसार २३ वर्षदेखि गाईघाटमै कार्यरत मिटर रिडर सुपरभाइजर विष्णु कटुवाल, ९ वर्षदेखि कार्यरत शिव कुमार राउत, ११ वर्षदेखि कार्यारत सुपरभाइजर (इलेक्ट्रोनिक) बालकृष्ण कार्की, १५ वर्षदेखि कार्र्यरत सुपरभाइजर ननराज बस्नेत, २३ वर्षदेखि कार्यारत लेखापाल तथा स्टोरकिपर नेत्रबहादुर बस्नेत छन्। यी सबै पाँचौँ तहका हुन्।

यसैगरी चौँथो तहका ७ जनाको सरुवा भएको छ। ८ देखि कार्यरत शम्भुनाथ बस्नेत, १२ वर्षदेखि कार्यरत अमरकुमार सिंह, ४ वर्षदेखि कार्यरत सिनियर मिटर रिडरमा भगवानसिंह ठकुरी, सहायक लेखापालद्वय बाबुराम बस्नेत (१५ वर्षदेखि कार्यरत) र मधुकर थापा (१९ वर्षदेखि कार्यरत), नारदकुमार थापा तथा लेखापाल नेत्रकुमारसिंह ठकुरी (५ वर्षदेखि कार्यरत) छन्।

यस्तै तेस्रो तहका तीन एलेक्ट्रिसियन सरुवामा परेका छन्। जसमा जसमा ९ वर्षदेखि कार्यरत कृष्णबहादुर सत्याल, ११ वर्षदेखि कार्यरत राजकुमार ठकुरी र ९ वर्षदेखि कार्यरत गुल्टेन चौधरीको सरुवा भएको छ। यसैगरी ९ वर्षदेखि कार्यरत गोबद्र्धन बस्नेतसहित मानबहादुर भुजेल, मोहनकुमार केसी, खेवराज अधिकारी, दिपनारायण राजधामी, मीनबहादुर राई, कविराज कटुवालको पनि सरुवा भएको छ। उनीहरु दोस्रो तहमा कार्यरत छन्। यस्तै पहिलो तहमा कार्यरत रामचन्द्र यादवको पनि सरुवा भएको छ। उनी जुनियर हेल्पर हुन्।

सरुवामा परेका कर्मचारीहरुले पत्र बुझ्न मानेका थिएनन्, तर पत्रकारहरुले नामावली माग्न थालेपछि उनीहरुले एकै पटक पत्र बुझेका छन्। ‘कसैले पनि सरुवा पत्र बुझ्न मानेका थिएनन्,’ स्रोतले भन्यो, ‘बजारमा दिउँसै मदिरा सेवन गरेर हिँड्ने विद्युतका कर्मचारी को–को सरुवा भए भनेर सूचना मागिन थालेपछि हाकिमसाबले एकसाथ सरुवापत्रमा हस्ताक्षर गराउनुभयो।’

यसरी वर्षौसम्म एकै ठाउँमा किन बसे कर्मचारीहरु भन्‍ने जिज्ञासामा कार्यालय प्रमुख अवधेशकुमार दुबेले नियमअनुसर एकै ठाउँमा तीनवर्ष भन्दा बढी बस्न नपाइने बताए। ‘खै मैले कसरी भन्ने किन धेरै वर्ष एकै ठाँउमा बसे भनेर,’ उनले भने, ‘हाम्रो देशको सिस्टम नै यस्तै छ। काम गर्नेको भन्दा नगर्नेको सम्मान हुन्छ ।’ लोडसेडिङ किन गरेको भन्‍ने प्रश्नमा भने उनले माथिबाटै कम पावर आएको बताए। ‘कुशा–कटिया लाईन बन्दैछ,’ थाहा खबरको कुराकानीमा उनले भने, ‘बनाउन एक महिना लाग्‍ने भएकाले त्यसअवधिसम्म लोडसेडिङ हुन्छ।’

सूचना लुकाउन खोजे कार्यालय प्रमुख दुबेले 

यसक्रममा थाहा खबरका उदयपुर संवाददाता बिदुर कटुवालले सरुवा भएका कर्मचारीको सूची लिन प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीको निर्देशन ल्याउनुपर्‍यो। मंगलबार दिउँसो कटुवालले विद्युत प्राधिकरण शाखा कार्यालय गाईघाटमा सूचनाको हकसम्बन्धी ऐन २०६४ दफा ३ र ७ अनुसार माग गरेको सूची प्रमुख जिल्ला अधिकारीको निर्देशन पछिमात्र प्राप्त गरेका हुन्।

‘कार्यालय प्रमुख अवधेशकुमार दुबेले सूचनाको हकसम्बन्धी निवेदन मागेपछि मैले दिएँ,’ कटुवालले भने, ‘निवेदन दिनासाथ सूचना दिन मिल्दैन भनेर सो पत्र दर्ता गर्नै नमानेपछि मैले प्रजिअ गुहारेर सूचना लिएको हुँ,’ संवाददाता कटुवाल भन्छन्।

कार्यालयका सूचना अधिकारीले सूचना दिन सकिने बताउँदा बताउँदै पनि कार्यालय प्रमुख अवधेशकुमार दुबेले मानेका थिएनन्। 

हेर्नुस् सरुवा कर्मचारीको सुची : 

सरुवा पत्र बुझेको कापीको पाना : 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.