|

दाङ : दाङको घोराही उपमहानरपालिकाले जिल्लामै पहिलो पटक फोहोरबाट ग्याँस उत्पादन गर्न लागेको छ।

साढे २ विघा जमिनमा घोराही १६ मा ग्याँस उत्पादन गर्न लागेको हो। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल ऊर्जा विकास कम्पनी प्रालि र घोराही उपमहानगरपालिका बीच त्रिपक्षीय सहकार्यबाट फोहोरबाट ग्याँस उत्पादन गर्न थालिएको हो। गत वर्षको मंसिर ५ गतेदेखि नेपाल ऊर्जा विकास कम्पनीसँग उपमहानगरको सम्झौता भएको भएता पनि भदौ महिनादेखि निर्माण शुरु भएको हो।

हालसम्म ८० प्रतिशत निर्माण पूरा भएको नेपाल ऊर्जा विकास कम्पनी प्रालिका म्यानेजर हरिशरण श्रेष्ठले बताए। अहिले फाउण्डेशनको काम भइसकेकाले अव माथिल्लो भागको निर्माण चाँडै हुनेछ। संरचना निर्माणको काममा कुनै समस्या नभए अबको ३ देखि ४ महिनाभित्र सबै संरचना निर्माण भइसक्ने र संचालन आउने अपेक्षा गरिएको उनले बताए।

दैनिक जम्मा भएको फोहोरबाट ग्याँस निकाल्नका लागि १९ करोड ८५ लाखको लागतमा लाग्ने छ। बिश्व बैंक तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ४० प्रतिशत रकम दिने छ भने ६० प्रतिशत कम्पनी आफैँले लगानी गरेको छ।

दैनिक  २ हजार घनमिटर ग्याँस उत्पादन हुने उक्त बायो ग्याँसले दैनिक ७० देखि ८० वटा ग्याँस सिलिण्डरसम्म उत्पादन गर्ने लक्ष्य लिएकोे मित्सन बायो ग्याँस सोलुसन इन्डिया तथा उक्त प्लान्टका इन्जिनियर गुरमिट सिंहले बताए। कम्पनी र नगरपालिकाबीच २० वर्षको सम्झौता भएको उनले बताए।

घोराही उपमहानगरले अहिले फोहोरलाई २ किसिमले वर्गीकरण गरेको जनाएको छ। एउटा गाडीले गल्न फोहोर र अर्काेले नगल्ने फोहोर संकलन गर्ने  उपमहानगरपालिकाका प्रवक्ता भरत अर्यालले बताए। उनले विभिन्न कारणले गर्दा कम्पनीसँग सम्झौता  भएको समयमा काम नभएको भन्दै यदि तोकिएको समयमा काम सम्पन्न भएका उपमहानगरले समय थप्न सक्ने बताए। त्यसैगरी ल्याण्डफिल्ड साइडमा गल्ने फोहोरबाट ग्याँस उत्पादनका लागि काम गर्ने गरी प्रालिसँग सम्झौता गरेको प्रवक्ता अर्यालले बताए।

सम्झौताअनुसार २० वर्षपछि संरचनासहित सबै पूर्वाधार घोराही उपमहानगरपालिकालाई प्रालिले हस्तान्तरण गर्ने भएको छ। २० वर्षसम्म उत्पादनको ५ प्रतिशत रकम उपमहानगरपालिकालाई प्रालिले दिने भएको छ। ग्याँससँगै कम्पोष्ट मलसमेत उत्पादन गरिने भएपछि फोहोर व्यवस्थापनमा सहजता हुने अपेक्षा गरिएको छ।

फोहोरबाट ग्याँस तथा कम्पोष्ट मल उत्पादन हुने भएपछि उपमहानगरपालिकालाई फोहोरबाट  मोहोर पनि हुने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.