|

दमक : झापाको दमक-५ का गणेश अधिकारी नेपाल सरकारको उपसचिवसम्मको पदमा पुगेर निवृत्त भएका हुन्। धेरैले सेवानिवृत्तपछिको अवधीलाई आराम गर्ने समयको रूपमा उपयोग गर्छन्। तर उनी सरकारी जागिरको अवकाशपछि आराम गरेर बसेका छैनन्।

अधिकारी अहिले व्यावसायिक कृषिका ‘होलटाइमर’ बनेका छन्। उनको दैनिकी दमक-३ स्थित, दमक कृषि तथा पशुपक्षी फर्ममा बित्ने गरेको छ।

जागिरे जीवनमा रहँदा नै उनमा कृषि पेशामा लाग्ने मोह थियो। तर, समय थिएन। सरकारी सेवाको औपचारिक जिम्मेवारी हटेपछि आफूले रुची गरेको काममा समय दिन भ्याएको उनको अनुभव छ।

अनुदानको दुरुपयोग बढ्यो

अन्य क्षेत्रमा लामो योगदान दिएका र अनुभव सम्हालेर पनि कृषि क्षेत्रमा लाग्नेहरू अरू पनि धेरै छन्। तर उनीहरूमध्ये अधिकांश गुनासो छ, सरकारी अनुदानको दुरुपयोग बढ्यो भन्ने।

सरकारी संयन्त्रलाई राम्रोसँग बुझेका र उपसचिवसम्म हुँदा कर्मचारी र जनस्तरको सम्बन्धलाई नियालेका गणेश अधिकारी पनि अनुदानको सदुपयोग नभएको बताउँछन्।

'कृषि क्षेत्रमा दिइने सरकारी अनुदान सही क्षेत्रमा पुगेको छैन, जसले राम्रोसँग प्रपोजल बनाउन सक्यो उसैले मात्र अनुदान पाइरहेको छ' उनले भने, 'तर, अनुदान त कागज हेरेर होइन काम हेरेर दिनुपर्ने हो नि, यहाँ भनेर हुनेवाला केहि छैन।’

अनुदानको सही उपयोग नभएकै कारण वास्तविक किसान निराश भएको र विचौलिया तथा कागजका भरमा अनुदान ल्याउने मोटाइरहेको भन्दै उनले दुखेसो पनि पोखे।

शिक्षण छोडेर कृषिमा

यस्तै, झापाको विर्तामोड नगरपालिका ३ विराटपोखरका दिनेश ओझालाई अहिले पनि धेरैले शिक्षक भनेर चिन्ने गर्दछन्। तर, लामो समयसम्म सरकारी विद्यालयको शिक्षक बनेका ओझाको अहिले परिचय नै बदलिएको छ। केही वर्ष अघिसम्म चक र डस्टर बोकेर विद्यायको कक्षा कोठामा छिर्ने ओझाको अहिले दिनचर्या फेरिएको हो।

अहिले उनी श्रीशिव बहुद्देशीय कृषि फर्ममा भेटिन्छन्। धेरै युवाले कृषि पेशामा भविष्य नदेखेर विदेशीनेको लर्को लागिरहेको बेला शिक्षक ओझाले यहि पेशामा धेरै सम्भावना देखे।

अनि छँदाखाँदाको सरकारी शिक्षकको जागिरबाट राजीनामा दिएर कृषि पेशालाई व्यवसायको रूपमा अगाल्न पुगेका हुन्। सरकारी जागिर सीमित आम्दानीको बाटो मात्र भएको उनले बताए। तर कृषि पेशाले आम्दानी, सन्तुष्टिसँगै अरुलाई रोजगारी समेत दिलाउन सकेको उनको भनाइ छ।

युवालाई समेट्न खाँचो

नेपालको शिक्षा प्रणालीलाई नजिकबाट नियालेका ओझाको अनुभवमा कृषि क्षेत्रमा युवालाई समेट्न खाँचो छ। औपचारिक शिक्षा आर्जन गरे पनि स्वदेशमा नै आत्मनिर्भर बन्न र स्वउद्यमी हुन अझै पनि युवालाई समस्या रहेको उनले बुझेका छन्।

‘औपचारिक शिक्षाले मात्र आय आर्जन गर्न कठिन छ', उनले भने, 'त्यसैले युवालाई शिक्षासँगै स्वदेशमानै गरिखाने सीप र हिम्मत दिलाउन सकियो भने मात्र कृषि क्षेत्रको दिगो र प्रभावकारी प्रवर्द्धन सम्भव छ।’

पछिल्ला वर्ष उच्च शिक्षा अध्ययन गरेका युवाको पनि कृषि क्षेत्रमा आकर्षण बढेको तर सरकारी प्रोत्साहन, प्राविधिक सहयोग, दीर्घकालीन योजनाको अभाव जस्ता कारणले दिगो हुन नसकेको उनले बताए।

लाहुरेले बदले पहिचान

त्यसो त दमक-५ का पञ्चबहादुर लिम्बूको पनि पहिचान अहिले फेरिएको छ। २८ वर्षसम्म भारतीय सेनाको ५ बट्टा ११ राइफलमा सुवेदार मेजर (अनेरी क्याप्टेन) सम्मको दर्जा र मानपदवी लिएर लाहुरे जीवनबाट अवकाशपछि पेन्सन लिने भएर स्वदेश फर्किए।

स्वदेश फर्किएपछि पनि आफनो ऊर्जाशिल जीवनलाई सिर्जनात्म कार्यमा लागाउन मन लाग्यो। त्यसपछि उनी व्यावसायिक कृषिमा लागे। अहिले लिम्बूले व्यावसायिक रूपमा बंगुर, स्थानीय जातका कुखुरा, ब्रोइलर कुखुरा, बाख्रा र तरकारी खेती गरिरहेका छन्।

आफू लाहुरमा हुँदै शान्ति सेनामा जाँदा विश्वलाई नै चकित पार्नेगरि इजरायल तथा लेवनानले गरेको कृषि क्रान्तिले उत्प्रेरणा जगाएको उनको भनाइ छ। त्यहि बेला उनले अठोट लिएका थिए, जागिरे जीवन सकेर कृषि क्षेत्रमा समय दिने। जागिरे जीवनबाट अवकास पाएपछि चुप लागेर बस्नुभन्दा आवश्यकता र सम्भावना भएको क्षेत्रमा समय दिन पाएकोमा उनी सन्तुष्ट छन् अहिले।

बजार अभाव

विदेशको कार्यशैलीबाट आकर्षित भएर कृषि क्षेत्रमा हामफालेका लिम्बूलाई नेपालको बजार व्यवस्थापनले भने ठक्कर दिन थालि सकेको छ। इजरायल, लेवनानलगायतका देशमा कृषि उपजको बजारीकरण सरकारले गरिदिने भएकाले किसानलाई उत्पादनमा नै समय दिँदा पुग्थ्यो।

तर, नेपालमा त्यो अवसर र सुविधा छैन। ‘हामी किसान जति पनि उत्पादन गर्न सक्छौँ। तर, उत्पादन गर्नभन्दा बजार खोज्न बढी हैरानी छ’ उनले सरकारलाई आग्रह गरे, ‘साँच्चि नै कृषि क्षेत्रलाई उँभो लगाउने हो भने सरकारले बजार सुनिश्चित गर्नु पर्‍यो, किसानलाई उत्पादनमा लाग्न अनि मात्र सहज हुन्छ र समय पुग्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.