सरोकारवालाहरु भन्छन्, 'हामी बेखबर छौँ'

|

नवलपरासी : बर्दघाट–एक हुल मानिसहरु एकाएक जंगल प्रवेश गर्छन, अनि धमाधम रुख काट्न सुरु गर्छन्। यो दृष्य देखेर पूर्व-पश्चिम राजमार्गसँगै जोडिएका घरहरुका स्थानीय अचम्भित पर्छन्। करिव डेढ घण्टाको समयका १ सय १९ वटा रुख काटिए। त्यतिका रुख काटिदा करिव २५ मिटरको दुरीमा रहेको इलाका प्रहरी कार्यालयमा रहेका प्रहरी, डेढ सय मिटर पश्चिममा रहेको बर्दघाट सरावल सव-डिभिजन वनकार्यालय, सामुदायिक वनका कार्यसमिति कसैले सुइँको समेत नपाएको खबरले यतिवेला पश्चिम नवलपरासीमा निकै चर्चा पाएको छ।

फागुन २३ गते शुक्रबार विहान इलाका प्रहरी कार्यालय बर्दघाट देखी नजिकै पूर्व-पश्चिम राजमार्गसँगै जोडिएको पारिजात सामुदायिक वनमा रुख कटान भएको हो। विहानको समय करिव ९ बजे देखि साढे १० बजेको विचमा रुख काटिएको प्रत्यक्षदर्शीले बताउँछन्। धमाधम सामुदायिक वनका रुखहरु काटिएपनि रुख काट्नेहरुलाई न त कसैले रोक्ने प्रयास नै गर्‍यो, न त यिनLहरुले नै रुख काटेको हो भनेर कसैले भन्न सक्छन्।

रुख काटिरहेके प्रत्यक्ष देखेकाहरु पनि कुनै ब्यक्ति विशेषको नाम लिदा आफूहरुलाई अफ्ठेरो पर्ने भन्दै केहि बोल्न मान्दैनन्। पारिजात सामुदायिक वनका अध्यक्ष चुडामणी भण्डारीले रुख काटिएको क्षेत्र 'स्मार्ट रिफ्रेस सेन्टर'का लागि जग्गा उपलब्ध गराउनका लागि सामुदायिक वनले वन एन २०७६ को व्यवस्था अनुसार प्रकृया अगाडि बढाउँदै गरेको बताएका छन्।

बर्दघाट नगरपालिकाले 'स्मार्ट रिफ्रेस सेन्टर' बनाउनका लागि आवश्यक जग्गा व्यवस्थापन गरिदिन आग्रह गर्दै पत्र पठाएपछि २१ औँ साधारणसभाबाट वन एन अनुसार आवश्यक प्रकृया पुरा गरेर जग्गा उपलब्ध गराउने निर्णय गरेको उनले बताए। सामुदायिक वनमा प्रवेश गरेर कसले रुख काटेको हो भन्ने विषयमा भने आफूहरुलाई कुनै जानकारी नभएको उनको भनाई छ।

त्यस दिन आफू बाहिर रहेको र रुख काटिएको खबर पाएपछि वन हेरालुलाई पठाएको बताए। हेरालुहरुसँगै सव-डिभिजन वन कार्यालय बर्दघाट बाट समेत कर्मचारीहरु आएपछि रुख काट्नेहरु भागेकोे भण्डारीले बताए। बढेरा शसस्त्र क्यामप बाट समेत शसस्त्र वनरक्षकहरु पनि आएका थिए। उनीहरु आउँदा सम्म सवै भागिसकेको बताईएको छ।

बर्दघाट सरावल सव-डिभिजन वन कार्यालयका प्रमुख रामनारायण शाहले रुख कटान गर्नेहरु कसैलाई पनि नियन्त्रणमा लिन नसकेको बताए। काटिएका अधिकांश रुखहरु काट्नेहरुलेनै लिएर गएको उनले बताए। सव-डिभिजनले तयार पारेको मुचुल्कामा लहरे पिपल, टिक, अम्वा, शिरिष, सफेदा, वेल, सिसौ, बकाईनो, तिल्का, कपोक, निमसँगै अन्य प्रजातीका गरी १ सय १९ वटा रुख काटिएको उल्लेख छ। शाहाले रुख कसले र किन काटेको त्यसको खोजी गरी दोषीलाई कारवाही गर्न सामुदायिक वनलाई पत्राचार गरेको र दोषीको खोजी नगरे सामुदायिक वन नै दोषी ठहरिने जानकारी गराएको बताए।

'स्मार्ट रिफ्रेस सेन्टर' निर्माण गर्नका लागि सामुदायिक वनको जग्गा उपलब्ध गराउनका लागि वन ऐन २०७६ को राष्ट्रिय प्राथमिकता प्राप्त योजनाको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्ने सम्बन्धी मापदण्ड सहितको कार्यविधि २०७६ मा उल्लेख भए बमोजिमको प्रकृया पुरा गरेर जग्गा उपलब्ध गराउन सकिने बताए।

डिभिजन वन कार्यालय पश्चिम नवलपरासीका प्रमुख अजित कुमार कर्णले भने सामुदायिक वनले 'स्मार्ट रिफ्रेस सेन्टर' निर्माणका लागि जग्गा उपलब्ध गराउन लागेको भन्ने सन्दर्भमा आधिकारिक रुपमा कुनै जानकारी नपाएका तर त्यस बारेमा केहि कुरा भने सुनेको बताएका छन्। उनले प्रकृया अनुसारनै अगाडि बढ्नुपर्ने भन्दै एन नियम विपरित गए डिभिजन वन कार्यालयले आवश्यक कारवाही अगाडि बढाउनुपर्ने बताएका छन्। रुख काटिएको विषयमा भने आवश्यक कारवाही प्रकृया अगाडि बढाउन सव-डिभिजनलाई निर्देशन दिएको बताए।

प्रदेश ५ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहिले प्रदेश ५ को पूर्वी प्रवेशद्वार बर्दघाटमा 'स्मार्ट रिफ्रेस सेन्टर' बनाउनका लागि जग्गा उपलब्ध गराउन बर्दघाट नगरपालिकालाई पत्राचार गरेको थियो। बर्दघाट नगरपालिकाले पनि प्राप्त पत्र अनुसारको झण्डै एक विगाहा जग्गा नगरको माताहतमा नरहेकोले उपयुक्त स्थानम करिव १ विगाहा जग्गा उपलब्ध गराईदिन अनुरोध गरी फागुन ११ गते पारिजात सामुदायिक वनलाई पत्राचार गरेको थियो।

नगरपालिकाले जग्गा माग गरी पत्र पठाएपछि पारिजात सामुदायिक वनले फागुनको १४ गते नगरपालिकालाई पत्र लेखेर 'स्मार्ट रिफ्रेस सेन्टर' बनाउनका लागि करिव एक विगाहा जग्गा गराईदिन अनुरोध भै आएकोमा सामुदायिक वन क्षेत्र भित्र पर्ने वनको हैसियत विग्रिएको स्थान पूर्व २२ नम्बर खोला, पश्चिम इलाका प्रहरी कार्यालय बर्दघाट , उत्तरमा वन क्षेत्र र दक्षिणमा पूर्व-पश्चिम राजमार्ग भित्र पर्ने बढिमा १ विगाहा जग्गा उपलब्ध गराउने जानकारी गराएको थियो। सामुदायिक वनले नगरपालिकालाई पठाएको पत्रमा वन एन २०७६ विपरित हुनेगरी सम्बन्धीत निकायमा आवश्यक प्रकृया अगाडी बढाउनका लागि फागुन १४ गते बसेको बैठकमा निर्णय गरेर सिफारिस गरेको जानकारी गराएको छ।

अहिले रुख काटिएको क्षेत्र नै सामुदायिक वनले स्माट सौचालय निर्माणका लागि उपलब्ध गराउने निर्णय गरेकोमा प्रकृयागत रुपमा अगाडि बढिसकेको अवस्थामा एकाएक रुख कटान भएपछि एन विपरित कार्य भएको कतिपयको भनाई रहेको छ। बर्दघाटमा 'स्मार्ट रिफ्रेस सेन्टर' बन्‍नु आफैंमामा गौरवको विषय भएको नगरवासीहरुको भनाई छ। 'स्मार्ट रिफ्रेस सेन्टर' बन्‍नु पर्नेमा सवैको एक मत रहेको तर प्रकृया अनुसारनै अगाडि बढ्नुपर्ने नेपाली कांग्रेसका बर्दघाट नगर सभापति सम्भुलाल श्रेष्ठले बताए। श्रेष्ठले रुख जसले काटे पनि उनीहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने र 'स्मार्ट रिफ्रेस सेन्टर' निर्माण कार्यमा सवैको साथ सहयोग रहनुपर्ने धारणा ब्यक्त गरेका छन्।

एकातर्फ 'स्मार्ट रिफ्रेस सेन्टर' निर्माणको कुराले चर्चा पाउनु र अर्कोतर्फ एकाएक वनका रुखहरु काटिनुले प्रकृयाका लागि लाग्ने समय पनि कुर्न हतार भएको हो की भन्ने कतिपयको विश्लेषण रहेको छ। हुलका हुल मानिसहरु जंगल प्रवेश गरेर आफ्नै विवेकले रुख काटे वा रुख काट्नका लागि कसैले निर्देशन दियो त्यस विषयमा पनि अनुसन्धान गरी दोषीलाई कारवाही गर्नुपर्ने आम नागरिकहरुको भनाई रहेको छ।

दिन दाहडै सामुदायिक वनमा प्रवेश गरी हुलका हुल मानिसहरुले रुख काट्दैगरेको देख्ने प्रत्यक्ष दर्शीहरु हुंदा हुँदै र सव-डिभिजन वन कार्यालयका कर्मचारीहरु पुग्दा केहि मानिसहरु रुख काट्दै गरेको अवस्थामा रहे पनि कोहि कसैलाई नियन्त्रणमा नलिनुले योजनाबद्ध किसिमले रुखहरु काटिएको हुन सक्ने प्रत्यक्ष दर्शी मध्येका एकजनाले आफ्नो नाम नबताउने शर्तमा दौतरी खबर संग बताए। यहाँ कसले काट्यो र कस्ले काट्न लगायो सवैलाई थाहा छ तर कोहि बोल्न चाहदैनन् अव उनीहरुलाई कसले खोज्छ दोषीलाई कसले कारवाही गर्ने? उनले भने।

रुख काटिएकै विषयमा सामुदायिक वनको कार्यसमिति दुई खेमामा

सामुदायिक वनको क्षेत्र भित्र रुख काटिएको विषयले सामुदायिक वनको कार्यसमिति दुई खेमामा विभाजित भएको छ। फागुन २३ गते शुक्रबार पूर्व-पश्चिम राजमार्गसँगै जोडिएको बर्दघाट इलाका प्रहरी कार्यालय देखि पूर्व तर्फ रहेको पारिजात सामुदायिक वन क्षेत्र भित्रका १ सय १९ रुख कटान भएपछि यो विषयले निकै चर्चा पाएको छ।

सामुदायिक वनलाई सव-डिभिजन वन कार्यालय बर्दघाट सरावलले पत्र काटेर कटान भएका रुखहरु को कस्को मिलेमोतोमा कटान गरिएको हो? उक्त रुखहरु कटान कार्यमा सामुदायिक वन उपभोक्ता समितितिको संलग्नता छ वा छैन उक्त रुखहरु कटान गर्ने मानिसहरु पत्ता लगाई विधान तथा कार्ययोजना अनुसार कारवाही गरी सोको जानकारी माग गरेको थियो।

कार्यालयले वन क्षेत्रमा नियमित गस्तीको व्यवस्था मिलाई हानी नोक्सानी नहुने बयबस्था मिलाउन र उक्त क्षेत्रमा यथासिघ्र तारबार सहित बृक्षारोपण गर्न सामुदायिक वनलाई आग्रह गरेको छ।

सव-डिभिजन वन कार्यालयबाट पत्र प्राप्त भएपछि सामुदायिक वनका अधयक्ष चुडामणी भण्डारीले विहिबार कार्यसमितिको बैठक बोलाएका थिए। बैठकमा रुख कटान भएको क्षेत्रमा तारबार गर्ने र बृक्षारोपण गर्ने प्रस्ताव छलफल हुँदै गर्दा बैठकमा सहभागि कार्यसमितिका केहिले तत्काल निर्णय गर्नुपर्ने अडान लिएको र केहिले साधारणसभा बाट रुख कटान भएको ठाउमा 'स्मार्ट रिफ्रेस सेन्टर' बनाउनका लागि प्रकृया पुर्‍याएर जग्गा उपलब्ध गराउने भन्ने निर्णय भए अनुरुप स्थानीय तहका प्रतिनिधिहरु सहित बैठक बसेर टुङ्गो लगाउनुपर्ने अडान लिएपछि कार्यसमिति दुई खेमामा बाँडिएको हो।

सामुदायिक वनका अध्यक्ष भण्डारीले बैठकले रुख कटान भएको क्षेत्रमा तारवार गरेर बृक्षारोपण गर्ने निर्णय भएको बताए। बैठकबाट उपाध्यक्ष आनन्द पुरी कोषाध्यक्ष पवित्रा रेग्मी, सदस्यहरु सन्तोष श्रेष्ठ, सोभा विक, धनमाया गिरी, माया गिरी, राजबहादुर पाण्डे, सिता पाण्डे लगायतका केहि सदस्यहरु बाहिरिएको बुझिएको छ।

स्थानीय तहका प्रतिनिधि संगैको बैठकबाट निर्णय गर्नुपर्नेमा कार्यसमितिको बैठकबाट मात्र निर्णय गर्न नसकिने भन्दै आफूहरु बाहिरिएको कार्यसमिति सदस्य सन्तोष श्रेष्ठले बताए। 

रुख काटिएको विषय अख्तियारमा पुग्यो

सामुायिक वन भित्र रहेका रुखहरु अनाधिकृत रुपमा कटान गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा उजुरी परेको छ। सार्वजनिक पद धाण गरेका ब्यक्तिहरुले आफ्नो पदिय मर्यादाको दुरुपयोग गर्दै रुख काट्नका लागि स्थानीयलाई प्रयोग गरेको भन्दै अख्तियारमा मुद्दा दायर भएको बताईएको छ।

अख्तियारमा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल, वडा नम्बर ४ का वडा सदस्य नारायण चौधरी, प्रदिप सुवेदी र पारिजात सामुदायिक वन उपभोक्ता समुहका कार्यसमिति सदस्य सन्तोष श्रेष्ठ विरुद्ध उजुरी परेको बताईएको छ। डिभिजन वन कार्यालय पश्चिम नवलपरासीलाई बोदार्थ उल्लेख गरी अख्तीयातमा उजुरी परेको हो। आफूहरुलाई अख्तियारमा उजुरी दिएको बोदार्थ पत्र प्राप्त भएको र उल्लेखीत नामहरु पत्रमा रहेको डिभिजन वन कार्यालयका प्रमुख अजित कुमार कर्णले पुष्टी गरेका छन्।

जग्गा प्राप्तीका लागि सर्वदलीय बैठक

'स्मार्ट रिफ्रेस सेन्टर' निर्माणका लागि आवश्यक जग्गा प्राप्तीको विषयमा बर्दघाट नगरपालिकामा सर्वदलीय बैठक समेत सम्पन्न भएको छ। प्रदेश ५ सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश स्तरमा ६ वटा 'स्मार्ट रिफ्रेस सेन्टर' वनाउने योजना अन्तरगत प्रदेश ५ को पूर्वी प्रवेशद्धार बर्दघाटमा पनि 'स्मार्ट रिफ्रेस सेन्टर' निर्माण गर्न लागिएको छ।

नगरपालिकामा भएको सर्वदलीय बैठकमा प्रदेश सभा सदस्य दिपेन्द्रकुमार अधिकारी सहित स्थानीय तहमा रहेका राजनैतिक दलका प्रतिनिधिहरु, डिभिजन वन कार्यालय पश्चिम नवलपरासीका डिभिजन वन अधिकृत अजित कुमार कर्ण , पारिजात साुदायिक वन उपभोक्ता समुहका अध्यक्ष चुडामणी भण्डारी लगायतको सहभागिता रहेको थियो।

बैठकले 'स्मार्ट रिफ्रेस सेन्टर' निर्माण गर्नका लागि आवश्यक जग्गा व्यवस्थापन गरिदिन बर्दघाट नगरपालिकाले पारिजात सामुदायिक वन उपभोक्ता समुहलाई पत्राचार गरिसकेको र सामुदायिक वनले पनि साधारणसभा मार्फत जग्गा उपलब्ध गराउनका लागि वन ऐन २०७६ मा भएको बयबस्था अनुसार प्रकृया पुरा गरेर उपलब्ध गराउने निर्णय गरेकोमा आवश्यक प्रकृया पुरा गरी जग्गा प्राप्तीको लागि सम्बन्धीत निकायमा तत्काल पहल गर्ने निर्णय गरेको छ।

सामुदायिक वनको पूर्वमा २२ नम्बर खोला, पश्चिममा बर्दघाट इलाका प्रहरी कार्यालय, उत्तरमा वन क्षेत्र र दक्षिणमा पूर्व-पश्चिम लोकमार्ग भित्रको सिमामा पर्ने अन्दाजी १५ कठ्ठा जग्गा बाहेक अन्यत्र कतै विकल्प नरहेकोले सो जग्गा उपलब्ध गराउन सिफासिर गरिएको थियो।

सामुदायिक वनका रुख कसले र किन काटेको हो भन्ने विषयले भने सर्वदलीय बैठकमा प्रवेशनै पाएन। रुख काट्नेलाई कारबाहि गर्ने सन्दर्भमा भने सर्वदलीयको समेत चासो नदेखिएको बैठकमै सहभागिको भनाई छ।

सामुदायिक वनको जग्गा प्राप्ती गर्नका लागि वन ऐन २०७६ को दफा ४२ बमोजीमको प्रकृया पुरा गरेर मात्र वन क्षेत्रमा भौतिक पूर्वाधार निर्माण गर्न पाउने व्यवस्था रहेको छ। सर्वदलीय बैठक बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको अध्यक्षतामा भएको थियो। बर्दघाटमा वन्न लागेको 'स्मार्ट रिफ्रेस सेन्टर' १६ करोडको लागतमा वन्न लागेको हो। सेन्टरमा सुविधा सम्पन्न सौचालय, साना ठुला सवारीका लागि पार्किङ्गको व्यवस्था, स्नान गृह, चमेना गृह लगायतका सुविधाहरु रहनेछन्।

वन क्षेत्रको जग्गा प्राप्ती गर्ने कानुनी व्यवस्था

 वन ऐन २०७६ को परिक्षेद १२ मा विकास आयोजना सम्बन्धी व्यवस्था गरिएको छ। ऐनको दफा ४२ ले वन क्षेत्रको प्रयोगको विषयमा प्रष्ट पारेको छ। दफाको उपदफा ३ मा प्रदेश वा स्थानीय तहले कुनै विकासको आयोजना संचालन गर्दा वन क्षेत्रको प्रयोग गर्नु बाहेक अन्य कुनै विकल्प नभएमा र प्रचलित कानुन बमोजीम वाताबरणिय पक्षबाट त्यस्तो आयोजना संचालन गर्दा बाताबरणमा उल्लेखनिय प्रतिकुल असर पर्ने नदेखिएमा सो आयोजना संचालन गर्न त्यस्तो वन क्षेत्रको जग्गा प्राप्त गर्नका लागि नेपाल सरकार समक्ष आग्रह गर्न सक्ने व्यवस्था गरेको छ।

बर्दघाटमा निर्माण हुन लागेको 'स्मार्ट रिफ्रेस सेन्टर'का लागि आवश्यक पर्ने जग्गा समेत यसै दफामा भएको व्यवस्था अनुसार प्राप्त गर्न सकिने कानुका जानकार बताउछन्। जग्गा प्राप्त गर्नका लागि वन ऐन २०७६ अनुसारनै राष्ट्रिय वनक्षेत्र प्रयोग गर्ने सम्बन्धी मापदण्ड सहितको कार्यविधि २०७६ मा भएको प्रकृया पुरा गरेर मात्र जग्गा प्राप्त गर्न सकिने ऐनमा उल्लेख छ। सवै प्रकृया पुरा गरी नेपाल सरकारबाट निर्णय भएपछि मात्र 'स्मार्ट रिफ्रेस सेन्टर' निर्माणका लागि सामुदायिक वनको जग्गा उपलब्ध गराउन मिल्नेछ।

सिफारिस माग गर्दै सामुदायिक वनलाई नगरपालिकाको पत्राचार

'स्मार्ट रिफ्रेस सेन्टर' निर्माण गर्नका लागि आवश्यक जग्गा उपलब्ध गराउनका लागि डिभिजन वन कार्यालय नवलपरासीलाई सिफारिस गरिदिन भन्दै बर्दघाट नगरपालिकाले पत्र पठाएको छ।

चैत्र १ गते नगरपालिकामा बसेको सर्वदलीय बैठकको निर्णयको बारेमा जानकारी उल्लेख गर्दै आवश्यक प्रकृया अनुसार डिभिजन वन कार्यालयलाई सिफारिस गरिदन आग्रह गर्दै चैत्र २ गते पारिजात सामुदायिक वनलाई पत्र पठाएको हो।

नगरपालिकाले जग्गाका लागि सिफारिस गरिदिन आग्रह गर्दै पत्र पठाएपछि जग्गा प्राप्तीका लागि बल्ल पहिलो प्रकृया सुरु भएको जानकारहरु बताउछन्। जग्गा प्राप्तीका लागि वन ऐन २०७६ को कार्यविधिमा भएका विभिन्न चरणका प्रकृया पुरा गरेर नेपाल सरकार मार्फत निर्णय गराउनुपर्ने हुन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.