|

पूर्वीय साहित्यमा रुचि राख्नेमध्ये धेरैलाई 'महाभारत' सर्वाधिक प्रिय किताब हो। यसकी पात्र द्रौपदी सर्वाधिक महत्त्वपूर्ण पात्र। उनी नारी उत्पीडन, दलन, सहनशीलता र बौद्धिकताका प्रतिमूर्ति हुन्। प्रतिवाद क्षमता पर्याप्त हुँदाहुँदै पनि उनी पुरुष सत्ताको पाङ्ग्राले नराम्ररी किचिएकी थिइन्।

द्रौपदीसम्बन्धी तीन प्रसङ्ग सम्झँदा संवदेनाको समभावले मेरो हृदयगति नै रोकिएला जस्तो हुन्छ। एक, कुन्तीको आदेशका निहुँमा आफ्नो 'स्वार्थ' पूर्ति गर्न युधिष्ठिरले उनलाई पाँचै भाइकी साझा पत्नी घोषणा गर्दा। दुई, गर्दै नगरेको अपराधका लागि दुर्योधनको सभामा दुःशासनले जगल्ट्याउँदै उनको सारी तान्दा। तीन, सुमेरु पर्वतमा ढलेपछि पाँचै पतिले पापिनी भनी जीवनको अन्तिम घडीमा छाडेर हिँड्दा। पूर्वीय समाजमा नारीहरूले शब्दमा वर्णन गर्नै नसकिने असीम दुःख भोगेका छन्। तर, पुरुष सत्ताको क्रेनले किचिनु नै तिनको नियति हो भन्ने सोच्नु न्यायमूलक सामाजिक परिकल्पनाकै उपहास हो। यही विचारबाट प्रेरित मेरो एउटा कथा छ 'सुमेरुमा द्रौपदी', जुन 'तेस्रो किनारा' मा सङ्गृहीत छ। त्यसमा द्रौपदी आफ्नो जीवनको पुनर्मूल्याङ्कन गर्छिन् र पाण्डवहरूको क्रूरताप्रति विद्रोह गर्छिन्।

'बराबर बाँडेर लिनू'

तल पानीमा छाया हेर्दै माथि रूखमा झुन्ड्याइएको माछाका आँखा जस्ता यन्त्रमा वाण हानेर अर्थात् मत्स्यवेधको सर्त पूरा गरेर अर्जुनले उनलाई स्वयम्बरमा प्राप्त गरे। तर, आमाको आदेश शिरोपर गरेर युधिष्ठिरले उनलाई पाँच दाजुभाइकी साझा पत्नी बनाइदिए।

त्यसो त यस लेखका तर्क पूर्ण रूपमा मेरो मौलिक विचार होइन। सानैमा बारम्बार सुनेको श्रीमद्भागवत कथाले पौराणिक साहित्यप्रति मेरो रुचि र विद्रोह एकसाथ जगाइदिएको थियो। बीआर चोप्राको महाभारत टेलिशृङ्खला त्यस जगमा थपिएको एउटा तला थियो। त्यसपछि मैले वासुदेव भट्टराईको श्रीमद्भागवत गीताको अनुवाद, गीता प्रेसका संक्षिप्त महाभारत भाग १, भाग २, चक्रपाणि चालिसेको 'संक्षिप्त भारत', वीणा पौडेलको 'वेदपुराणका रत्न' (भाग १, २) पढेँ। भारतीय लेखक रजनीकान्त शास्त्रीको 'हिन्दू धर्मका उत्थान और पतन', राकेश नाथद्वारा सम्पादित दुई किताब 'कितने खरे हमारे आदर्श', 'श्रीकृष्ण और गीता' पढिसकेपछि बल्ल मेरो विद्रोहलाई तर्क र प्रमाण जुटेका थिए। परन्तु, द्रौपदीप्रति संवेदना र समभाव मेरो आफ्नै हो। त्यसको एउटा प्रमाण मेरो कथा 'सुमेरुमा द्रौपदी' हुन सक्छ।

द्रौपदी पाञ्चाल नरेश द्रुपदकी छोरी थिइन्। अनुपम सौन्दर्य र अतिआकर्षक शारीरिक बुनोटले गर्दा उनी हरेकजसो पुरुषको सपनाकी रानी थिइन्। तल पानीमा छाया हेर्दै माथि रूखमा झुन्ड्याइएको माछाका आँखा जस्ता यन्त्रमा वाण हानेर अर्थात् मत्स्यवेधको सर्त पूरा गरेर अर्जुनले उनलाई स्वयम्बरमा प्राप्त गरे। तर, आमाको आदेश शिरोपर गरेर युधिष्ठिरले उनलाई पाँच दाजुभाइकी साझा पत्नी बनाइदिए।

यथार्थचाहिँ अर्कै थियो। अत्यन्त आकर्षक शरीरकी धनी द्रौपदीलाई पहिलोपल्ट देख्दै जेठा पाण्डुपुत्र पानीपानी भएका थिए। तर, सर्तअनुसार मत्स्यवेध गर्न उनी समर्थ थिएनन्। त्यसमाथि स्त्री जातिलाई आकर्षित गर्ने पर्याप्त शौर्य र सौन्दर्य दुवै उनीसँग थिएनन्। त्यसले गर्दा उनीभित्र अचम्मकै जटिलता हुर्किरहेको थियो। त्यो बेलाबेला अनेक रूपमा प्रकट भयो।  द्रुपद आफ्नी अनिन्द्य सुन्दरी छोरीको विवाह शूरवीर अर्जुनसँगै होस् भन्ने चाहन्थे। लाक्षागृहमा पाँचै पाण्डव जलेर मरिसकेको खबर फैलिए पनि त्यसमा उनलाई विश्वास थिएन। त्यसैले उनले छोरीको स्वयंवरका लागि मत्स्यवेधको सर्त राखे। त्यो अर्जुनबाहेक कसैले पूरा गर्न नसक्नेमा उनी विश्वस्त थिए। संसारका सारा क्षत्रीय राजाहरूले गर्न नसकेपछि ब्राह्मण भेषको एक युवक उठ्यो र सजिलै मत्स्यवेध गरिदियो, ती अर्जुन थिए।

राजाहरू ब्राह्मणले क्षत्रीय कन्या जितेको देख्न चाहँदैनथे। उनीहरू अर्जुनसँग युद्ध गर्न तयार भए। अर्जुन र भीमलाई त्यहीँ छाडेर नकुल-सहदेवलाई लिएर युधिष्ठिर लुसुक्क भागे। युधिष्ठिरभित्रको 'जटिलता' पहिलोपल्ट यहीँ प्रकट भयो। विचरा अर्जुनलाई साथ दिने भीम मात्र भए। सयौँ राजाको आक्रमण सामना गर्न उनीहरूलाई हम्मे पर्‍यो। घमासान युद्ध भयो।  युद्धको भयावह रूप देखेर कूटनीतिमा पोख्त कृष्णले हस्तक्षेप गर्दै राजाहरूलाई भने, 'ब्राह्मण भए पनि द्रौपदीमाथि सर्त पूरा गर्नेकै हक लाग्छ।' बल्ल राजाहरू युद्ध रोक्न तयार भए। द्रौपदीलाई लिएर डेरा पुग्नै लाग्दा भीम र अर्जुन खुसीले चिच्याए, 'आमा, बाहिर आएर हेर्नुस् त, हामीले एउटा विशेष चिज ल्याएका छौँ।'

मत्स्यवेध गरेर अर्जुनले स्वयंवरमा द्रौपदीलाई पाएको खबर युधिष्ठिरले आमालाई सुनाएकै रहेनछन्। सुनाएका भए यो स्थिति कदापि आउने थिएन। युधिष्ठिरको कुण्ठा दोस्रोपल्ट छताछुल्ल भयो।

सुन्दरी द्रौपदी उनीहरूका लागि कुनै 'चिज' मात्र थिइन्। सायद त्यसैले भित्रैबाट कुन्तीले फ्याट्ट भनिदिइन्, 'पाँचै दाजुभाइले बराबर बाँडेर लिनू।' द्रौपदीलाई देखेपछि दुःख मनाउ गर्दै उनले युधिष्ठिरलाई भनिन्, 'हरे, अञ्जानमै मैले यस्तो के बोलेँ! अब तिमी एउटा उपाय निकाल। मेरो भनाइ असत्य नहोस् र द्रौपदीले पनि दुःख भोग्नु नपरोस्।' मत्स्यवेध गरेर अर्जुनले स्वयंवरमा द्रौपदीलाई पाएको खबर युधिष्ठिरले आमालाई सुनाएकै रहेनछन्। सुनाएका भए यो स्थिति कदापि आउने थिएन। युधिष्ठिरको कुण्ठा दोस्रोपल्ट छताछुल्ल भयो।

'साइँला भाइ, यिनलाई जितेको तिमीले हो, तिमी नै यिनको पाणी ग्रहण गर,' आमाको आज्ञापछि लोकाचारवश युधिष्ठिरले अर्जुनलाई भने।

'ठूल्दाइ, हजुर अविवाहित हुँदाहुँदै म विवाहित हुनु कहाँ उचित हो र!' अर्जुनले विनम्रतापूर्वक भने। पुग्यो। अन्धाले आँखा भेटेजस्तै भयो। युधिष्ठिरले मौका छोपिहाले, 'त्यसो भए यिनी हामी पाँचै भाइकी पत्नी हुनेछन्।' अर्जुनको आशय यस्तो थिएन। दाजुहरूको विवाह नभई उनी विवाह गर्न चाहँदैनथे। जेठाले कसैसँग विवाह गरून्, त्यसपछि मात्र विवाह गर्छु भन्ने उनको चाहना थियो। तर, द्रौपदीसँग विवाहित हुन सबैभन्दा बढी लालायित युधिष्ठिर नै थिए। बाँकी अरू भाइ पनि द्रौपदीको सौन्दर्य देखेर फतक्कै भइसकेका थिए। द्रौपदीको जिन्दगीमाथि त्यति ठूलो निर्णय हुँदै थियो तर कसैले उनलाई सोध्न जरुरी ठानेनन्!

युधिष्ठिरको निर्णयको द्रौपदीका पिता र दाजु धृष्टद्युम्नले विरोध गरे। धृष्टद्युम्नले हाकाहाकी भने, 'सदाचारी दाजुले भाइकी पत्नीलाई कसरी सम्भोग गर्न सक्छ?' जबाफमा युधिष्ठिरले भने, 'जस्तै पाप कर्म भए पनि मैले गरेपछि धर्म नै ठहर्छ।'

ŸŸŸविचित्रवीर्य निःसन्तान भएर मरेपछि सत्यवतीले भीष्मलाई विधवा भाइबुहारी अम्बिका र अम्बालिकासँग सम्भोग गरेर सन्तान जन्माउन आज्ञा दिएकी थिइन्। भीष्मले सौतेनी आमाको आज्ञा स्वीकार्न सकेनन्। त्यो बेला भीष्म दोषी ठहरिएनन्। सत्यवतीको वचन पूरा नभएकोमा कुनै आकाश खसेन। यही कुरा युधिष्ठिर र कुन्तीलाई मान्य भएन।

केही नलागेपछि हिमालमा तपस्या गरिरहेका व्यासलाई बोलाइयो। अविवाहित छँदै पराशर ऋषिबाट सत्यवतीले जन्माएकी थिइन् यिनलाई। उनैले विचित्रवीर्यका दुई विधवा अम्बिका र अम्बालिका तथा एक दासीबाट सन्तान जन्माएका थिए। 'पूर्व जन्ममा यिनले महादेवबाट पाँच पतिको वरदान पाएकी थिइन्', उनै व्यासले ज्येष्ठ पाण्डुपुत्रको पक्षपोषण गरे, 'यस जन्ममा उनलाई त्यही फल मिलेको हो। त्यसैले यो विवाह अधर्म हुँदैन।' द्रौपदीप्रति युधिष्ठिरको अत्यधिक आशक्ति देखेरै व्यासले यस्तो चलाखी गरेका थिए। मौन विरोधबाहेक द्रुपद र धृष्टद्युम्नले केही गर्न सकेनन्। यही मौनलाई स्वीकृति मानेर पाँचै भाइले सुन्दरी द्रौपदीसँग बिहे गरे।

ŸŸŸद्रौपदीसँग विहेपछि पाण्डवहरूको शक्ति बढ्यो। कृष्णले दुर्योधनलाई युद्धको चेतावनी दिए। डराएर दुर्योधनले बेलैमा पाण्डवहरूलाई अंश राज्य सुम्पिए। इन्द्रप्रस्थ नामक राज्य र अत्याधुनिक सुन्दर दरबार उनीहरूले पाए।

पाँच पतिलाई सन्तुष्ट राख्न विचरी द्रौपदी सधैँ होसियार रहनुपर्थ्यो। जेठी पत्नी भएको अहम् र काम-क्रोध सबै त्यागेर उनले पाण्डव र तिनका निजी पत्नीको समेत सेवा गरिन्। आफ्ना सबै इच्छा दबाएर सेवाकै भावले उनले तिनीहरूको मन राखेकी थिइन्।

रानी भए पनि द्रौपदीको दुःख घटेन, झन्झन् बढ्यो। साझा पत्नी हुनुपरेको पीडा छँदै थियो, त्यसमाथि सौताका बगाल थपेर पाण्डवहरूले उनीमाथि अर्को अत्याचार गरे। युधिष्ठिरले शिविदेशका राजा गोवासनकी छोरी देविकासँग बिहे गरे। भीमले काशीराजकी छोरी बलन्धरासँग। भीम तीन पत्नीका धनी भए। द्रौपदीसँग आफ्नो सहवासका बेला कुटी आएको आरोपमा युधिष्ठिरले अर्जुनलाई १२ वर्ष बह्मचार्यको सजाय दिएका थिए। त्यसै अवधिमा उलुपी, चित्राङ्गदा र सुभद्रालाई पत्नी बनाएर धनुर्वीर अर्जुन पत्नीवीर पनि भए। चेदी नरेशकी छोरी करेणुमतीलाई नकुलले र मद्र नरेशकी छोरी विजयालाई सहदेवले निजी पत्नी बनाए।

पाँच पतिलाई सन्तुष्ट राख्न विचरी द्रौपदी सधैँ होसियार रहनुपर्थ्यो। जेठी पत्नी भएको अहम् र काम-क्रोध सबै त्यागेर उनले पाण्डव र तिनका निजी पत्नीको समेत सेवा गरिन्। आफ्ना सबै इच्छा दबाएर सेवाकै भावले उनले तिनीहरूको मन राखेकी थिइन्। साँच्चै भन्ने हो भने पतिहरूको परिहासमा बाहेक उनले हाँस्नै बिर्सिसकेकी थिइन्।

एक दिन युधिष्ठिरले जुवामा द्रौपदीलाई हारिदिए। कुनै भाइसित अनुमति लिन उनले आवश्यक ठानेनन्। उनकी निजी पत्नी देविका पनि थिइन्। तिनलाई नराखेर साझा पत्नीलाई नै उनले किन दाउमा राखे? युधिष्ठिरभित्रको कुण्ठा तेस्रोपल्ट यसरी प्रकट भयो।

युधिष्ठिरको बदमासीले गर्दा खुला सभामा निरापराध द्रौपदीको सारी तानेर नाङ्गेझार पार्न खोजियो। उनको इज्जत बचाउन कुनै पति अघि सरेनन्। केवल भीमले मुर्मुरिँदै युधिष्ठिरको हातमा आगो झोसिदिन्छु भने। अर्जुनले उल्टै भीमलाई हकारे, 'माल्दाइ, तपाईँको धर्म कहाँ चर्न गयो? आफ्ना धर्मात्मा दाजुलाई यसरी अपमान गर्न हुन्छ?' बरु कौरव पक्षकै विकर्ण र विदुरले उनको पक्षमा बोले। भीष्म पितामहको दोधारे कुराले कौरवको मनोबल झनै बढ्यो। तिनीहरूले उनलाई अश्लील छेडखानीसमेत गरे।

यति धेरै अपमान सहनुपरे पनि धृतराष्ट्रले माफी दिएर वर माग्न भनेपछि द्रौपदीले पहिला तिनै बैगुनी युधिष्ठिरलाई र पछि क्रमशः अरू भाइहरूलाई कौरवको दासताबाट मुक्त गराइन्। महाबली भीम महामूर्ख थिए। दुःशासनले छुँदा द्रौपदीबाट जन्मेका सन्तानै बिटुलिने आशंका उनले प्रकट गरे। कृतज्ञता उनका पतिहरूको ग्रन्थीमै थिएन। युधिष्ठिरले धर्मपालनाका नाममा फेरि जुवामा सबै हारे र भाइहरूसहित उनलाई लिएर बनवास हिँडे। बनवास जाँदा पाँचै जनाका निजी पत्नी दरबारमा सुखसयलसाथ बसे। द्रौपदी नै उनीहरूको दुःखको साथी बन्न आफ्ना प्रिय छोराहरू छाडेर हिँडिन्।

द्रौपदीले आफ्ना पतिहरूलाई खुबै सहिन्, खासगरी युधिष्ठिरलाई। श्रीखण्डझैँ पवित्र तिनको पाखण्ड भनिनसक्नु थियो। फेरि पनि जेठा पतिका रूपमा उनले तिनलाई सबैभन्दा बढी सम्मान गरिन्। अति भएपछि धृतराष्ट्रको सभामा उनले भनेकी थिइन्, 'आफैँलाई हारिसकेपछि युधिष्ठिरले मलाई दाउमा राख्ने अधिकार कहाँबाट पाए?'

बनवासमा कौरवको बहिनी-ज्वाइँ जयद्रथले उनलाई अपहरण गर्‍यो। अज्ञातवासका क्रममा दरबारमा दासी भएर काम गर्दा राजा विराटको साला किचक शैरन्द्रीको भेषमा रहेकी उनीप्रति मोहित भयो। वासनापूर्तिका लागि उसले अनेक षड्यन्त्र गर्‍यो। सफल नभएपछि दरबारमा खुलमखुला हातपात गर्‍यो। दुःख, क्रोध र अभिशापले जलिरहेकी द्रौपदीले याचनाका दृष्टिले युधिष्ठिर र भीमलाई हेरिन्। गोप्यता खुल्ने डरले सबै चुपचाप थिए। द्रौपदीको अपमान देखेर भीम क्रोधित भए। तर, दाजुको इशारा पाउनेबित्तिकै 'निहुरी मुन्टी न' भए।

द्रौपदीले आफ्ना पतिहरूलाई खुबै सहिन्, खासगरी युधिष्ठिरलाई। श्रीखण्डझैँ पवित्र तिनको पाखण्ड भनिनसक्नु थियो। फेरि पनि जेठा पतिका रूपमा उनले तिनलाई सबैभन्दा बढी सम्मान गरिन्। अति भएपछि धृतराष्ट्रको सभामा उनले भनेकी थिइन्, 'आफैँलाई हारिसकेपछि युधिष्ठिरले मलाई दाउमा राख्ने अधिकार कहाँबाट पाए?'

जवाफमा दरबारका भीष्म, द्रोण, कृपाचार्यलगायत भद्रभलाद्मीले धर्मको हवाला दिँदै युधिष्ठिरकै पक्षपोषण गरे। 'जुन स्त्रीका पति राजा युधिष्ठिर छन्, ऊ कसरी निर्धक्क रहन सक्छे? संसारमा उनीबाहेक को होला, जो पत्नी, राज्य र सर्वस्व त्यागेर बनवास जाने सर्तमा जुवा खेल्न तयार हुन्छ?' अतिदुःखी भएरै द्रौपदीको मुखबाट अकास्मात् यस्तो विषाद्पूर्ण वचन निस्केको थियो। भीमको पराक्रमप्रति उनलाई विश्वास थियो। त्यसैले आफ्नो दुःख यदाकदा उनलाई सुनाइन्। नत्र पराधीनताको पीडामा आफ्ना सबै अधिकार गुमाएर पनि उनले कसैसँग कहिल्यै गुनासो गरिनन्।

बैगुनी युधिष्ठिरलाई राजा बनाउन महाभारत युद्ध भयो। त्यसमा कैयन् वीर मारिए। द्रौपदीले आफ्नो प्राण भन्दा प्यारा छोराहरुको वीभत्स हत्या देख्नुपर्‍यो। दुःखहरूको आकाशै उनीमाथि घोप्टियो।

प्रेम नै द्रौपदीको पाप!

जसलाई ज्वाइँ बनाउने इच्छाले द्रुपदले त्यत्रो सर्तसहित छोरीको स्वयंवरको घोषणा गरे, त्यो पूरा गर्ने युवकप्रति द्रौपदीको आशक्ति हुनु अस्वाभाविक थिएन। यो कुरा युधिष्ठिरले नबुझेका थिएनन्। तर, उनी आफैँ द्रौपदीसँग सहवास गर्न आतुर थिए। विवाहबिना त्यो सम्भव थिएन। जेठा भएका नाताले द्रौपदीसँग पहिलो सहवासको अवसर उनैले पाए।

यदुवंश विनाश र कृष्णको मृत्युपछि दिक्दार पाँच पाण्डवसँगै द्रौपदी पनि आत्महत्या गर्न सुमेरु पर्वतको बाटो हिँडिरहेकी थिइन्। चार सय कोस लामो बरफको चट्टानमा हिँड्दा अत्यधिक भोक र थकाइले उनी त्यहीँ पछारिइन्। भीमले सोधे, 'ठूल्दाइ, द्रौपदीले हामी पाँचै दाजुभाइको त्यत्रो सेवा गरेकी थिइन्! विचरीले के पापले यहाँ पछारिइन्?'

'यो हामी पाँच दाजुभाइमध्ये अर्जुनसँग विशेष प्रेम गर्थी। त्यही पापले यसको यो गति भो', युधिष्ठिरले भने, 'हिँड, यसको मोहमा पर्नु अर्को पापमा फस्नु हो।' युधिष्ठिरले आफ्नो कुण्ठा अन्तिमपल्ट अमानवीय बेहोराको पराकाष्टामा पुगेर प्रकट गरे। कैयन् दिनदेखिकी भोकी र थकित द्रौपदी हिउँमा चिप्लनु अनौठो थिएन। फेरि अर्जुनप्रति उनको विशेष प्रेम पाप थिएन। थियो भने त्यसलाई पाप बनाउने काम युधिष्ठिरले नै गरेका थिए। उनलाई अर्जुनकी मात्र पत्नी बन्न दिएको भए यो समस्यै आउने थिएन। धर्मात्मा युधिष्ठिरले आफ्नै भाइकी पत्नीसँग सम्भोग गर्नु पाप ठहरिएन, द्रौपदीले आफ्नो वास्तविक पतिसँग विशेष प्रेम गर्नु पाप ठहरियो। महाभारत युद्ध उत्प्रेरकका रूपमा आरोप लगाउँदा द्रौपदीका यी अकथित दुःखबारे कसैले किन सोचेनन्?

द्रौपदीको भूमिका त्यहीँ सकिनुको अर्थ अनेक लाग्न सक्छ। एक, महाभारत साहित्यका रूपमा जति उन्नत भए पनि इतिहासका रूपमा सर्वाधिक धोकापूर्ण छ। दुई, नारी दोस्रो दर्जाकी नागरिक हो, उसले हरेक उत्पीडन चुपचाप सहनुपर्छ। तीन, ऊ कमजोर छे, कुनै पनि कुराको प्रतिवाद र प्रतिरोध गर्नु उसको बुताभित्रको कुरा होइन।

युधिष्ठिरको आदेशमा पाँचै जना द्रौपदीलाई नहेरी लम्किए। यसपछि महाभारतमा एकाएक द्रौपदीको भूमिका सकिन्छ।

नियतिको उत्तरदान

आफूप्रति पतिहरूको यस्तो क्रूर व्यवहारले द्रौपदीभित्र कुनै प्रतिक्रिया उब्जेन होला? द्रौपदीलाई पाँचै जनासँग विहे गराउन भूमिका खेल्ने महाभारतका लेखक वेदव्यासले यो कुरा किन खोतलेनन्?

द्रौपदीको भूमिका त्यहीँ सकिनुको अर्थ अनेक लाग्न सक्छ। एक, महाभारत साहित्यका रूपमा जति उन्नत भए पनि इतिहासका रूपमा सर्वाधिक धोकापूर्ण छ। दुई, नारी दोस्रो दर्जाकी नागरिक हो, उसले हरेक उत्पीडन चुपचाप सहनुपर्छ। तीन, ऊ कमजोर छे, कुनै पनि कुराको प्रतिवाद र प्रतिरोध गर्नु उसको बुताभित्रको कुरा होइन।

मलाई भने त्यस्तो लाग्दैन। जीवनको अन्तिम घडीमै सही, यति धेरै अत्याचारपछि कुनै पनि नारी मौन बस्न सक्दिनँ। द्रौपदी अपवाद हुन सक्दिनन्। मेरो कथामा द्रौपदीको त्यही विद्रोही रूपको वर्णन छ। उनी आफ्नै जीवनको पुनर्मूल्याङ्कन गर्छिन्। महारानी भए पनि दलित र नारी एकै दर्जामा रहेको निष्कर्षमा पुग्छिन्।

विडम्बना, वेदव्यासकी सहनशील द्रौपदीको दुःख हिन्दू समाजमा हाम्रा दुःखी दिदीबहिनीले आजसम्मै उत्तरदानका रूपमा पाएका छन्।

xxx

सन्दर्भ स्रोतः

हिन्दू धर्मका उत्थान और पतन- रजनीकान्त शास्त्री

संक्षिप्त महाभारत- भाग १, २- गीता प्रेस, भारत

कितने खरे हमारे आदर्श- विश्व बुक्स, सं. राकेशनाथ, भारत

वेद पुराणका रत्न- भाग १, २- डा. वीणा पौडेल, साझा प्रकाशन।

संक्षिप्त महाभारत- चक्रपाणि चालिसे

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.