|

हेटौंडा : हेटौँडामा जारी प्रेमबहादुर थापामगर स्मृति चौथौं राष्ट्रिय एमेच्योर चेस (वुद्धिचाल) च्याम्पियनसिपको फाइनल खेल बिहीबार हुने भएको छ। नेपाल बुद्धिचाल संघ र नेकोस मकवानपुरले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा बिहीबार नै अन्तिम चरणका खेलहरु हुने र दिउँसो ४ बजेपछि पुरस्कार वितरण गरिने आयोजक नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठले बताए।

प्रतियोगितामा थापाथली चेस पार्कका सुमित पन्त साढे ४ अंकका साथ शीर्ष स्थानमा रहेका छन्। सुमितले हिजो सम्पन्न चौथौ चरणको खेलमा सुनसरीका मणिराज डाँगीसित बराबरी खेलेपछि उनी शीर्षस्थानमा रहेका हुन्। प्रतियोगिताको पाँचौं चरणमा झापाका राजन सुवेदीलाई माथ गरेका थिए। त्यसैगरी काठमाडौंका नवीन तण्डुकार र सुरज पण्डित समान ४ अंकप्राप्त गरी दोश्रो स्थानमा रहेका छन्।

प्रतियोगितामा रुकुमका मिलन रोका, थापाथली चेस पार्कका सुशील चौधरी र सुनसरीका मणिराज डाँगीले समान साढे ३ अंकप्राप्त गरेका छन्। स्वीस लिग ९ चरणका खेल हुने चारदिने प्रतियोगितामा उत्कृष्ठ ११ जना खेलाडीहरुलाई कुल एक लाखनगद पुरस्कार प्रदान गरिनेछ।

जसमध्ये विजेताले नगद ५० हजार हात पार्नेछ। साथै यही अप्रिल १ देखि ९ तारिखसम्म इटालीमा हुने विश्व एमेच्योर चेस च्याम्पियनसीपमा नेपालको प्रतिनिधित्व गर्नेछ। त्यस्तै दोश्रोले १५, तेश्रो हुनेले साढे ७ हजार रुपैयाँ पाउनेछन्। चौथौं र पाँचौंले ५ हजार तथा छैटौंदेखि दशौंसम्मले जनही ३ हजार प्राप्त गर्ने   नेपाल बुद्धिचाल संघका सचिव एवं कार्यक्रम संयोजक नेकोस मकवानपुरका अध्यक्ष धरमबहादुर लामाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.