|

गुल्मी : तीन महिनादेखि शिक्षक वेपत्ता भएपछि गुल्मीको एक विद्यालय एक जना शिक्षिकाको भरमा चलेको छ। मालिका प्रावि छापाहिले–३ रंगका शिक्षक मेघनाथ अर्याल मंसिर ३ गतेदेखि सम्पर्कमा नआएपछि विद्यालयकी शिक्षक एवं प्रधानध्यापक माया अर्यालले करिव ६० जना विद्यार्थीहरुलाई एक्लै पढाउँदै आएकी छन्।

गत वर्ष अर्जै उच्च माविमा सट्टा काजमा गएका शिक्षक अर्याललाई आफ्नै दरवन्दी भएको मालिका प्राविमा  काज फिर्ताको पत्र मंसिर २ गते जिल्ला शिक्षा कार्यालयले पठाए पनि उनले अटेरी गरेर बसेका हुन्। उनलाई मंसिर  ६ गते लेखेको पत्रमा  भनिएको छ ‘ २०७२/०९/ २३ गतेको निर्णय अनुसार तपाईलाई अर्जै माविमा काज खटाइएको थियो । २०७३/ ०८/ २ गते असाधरण विदामा बस्नुभएका  अर्जै उच्च माविका शिक्षक चन्द्रकला अर्याल विद्यालयमा हाजिर भइसकेकोले सोही मितिबाट मालिका प्राविमा नियम अनुसार काज फिर्तामा जान  हुन अनुरोध छ।’

उक्त पत्रको वेवास्ता गरेका शिक्षक अर्याललाई विद्यालयले पनि पटक पटक पत्रचार गरेको तर फोन समेत नउठाई सम्पर्कविहीन भएर विद्यालयलाई समस्या परेको प्रधानध्यापक माया अर्यालले भनाइ छ।  ‘यहाँ दरवन्दी भएका शिक्षक अर्याल मंसिरदेखि सम्पर्कमा हुनुहुन्न म एक्लैले करिव ६० जना विद्यार्थी पढाउनु परेको छ' प्रधानध्यापक अर्यालले भनिन् 'पटक पटक जिल्ला शिक्षा कार्यालयमा पुगेर गुनासो राख्दा पनि सुनुवाई हुन सकेको छैन।'

शिक्षा नियमावली अनुसार  सट्टा शिक्षक हाजिर भइसके पछि स्वतः आफ्नो दरवन्दी भएकै विद्यालयमा जानुपर्छ। पटक पटक सम्पर्क गर्दा पनि उनले अटेरी गरेपछि मालिका प्राविले पहिलो पटक ७ दिनमा हाजिर हुन आउने गरी रजिष्टर पत्र उनको घरको ठेगानमा पठाएको थियो।  दोश्रो पटक ३ दिन थप गरी अर्को पत्र पठायो। त्यसपछि पनि थप ३ दिनभित्र हाजिर हुन आउने गरी पत्र पठाइएको थियो।

ती सबै पत्रको जिल्ला शिक्षा कार्यालयमा वोधार्थ पनि पठाइएको छ। सबै प्रक्रिया पूरा गर्दा पनि शिक्षक अर्याल हाजिर हुन नआएपछि विद्यालय  व्यवस्थापन समितिको बैठक वसी सो को जानकारी  जिल्ला शिक्षा कार्यालमा  पठाउने निर्णय गरिएको व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष टीकाराम अर्यालले जानकारी दिए।  ‘एक मात्र शिक्षकको भरमा विद्यालय चलाउनु परेको जिल्ला शिक्षा कार्यालयलाई पनि थाहै छ तर पनि खै किन हो शिक्षक अर्याललाई फिर्ता पठाउन सकेको छैन यस प्रति यहाँका अभिभावक रुष्ट भएका छन् ’–अध्यक्ष अर्यालले भने।

जिल्ला शिक्षा अधिकारी मित्रमणि खनालले शिक्षकले अटेरी गरेकाले कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिए। ‘ती शिक्षक विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाइएको छ ’उनले भने। श्रोतका अनुसार राजनीतिक दलको आडमा शिक्षक अर्याल अर्जै उच्च माध्यामिक विद्यालयमै बस्न चाहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.