|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस संक्रमण फैलन नदिन डाकेको बैठकमा प्रदेशलाई नै 'लकडाउन' गर्न माग राखिएको छ। 

कोरोना संक्रमण रोकथाम र नियन्त्रणबारे छलफल गर्न प्रदेश सरकारका मुख्ममन्त्री त्रिलोचन भट्टले बोलाएको बैठकका सहभागीहरूले भारतसँगका सम्पूर्ण नाकासमेत पूर्ण रूपमा बन्द गर्न आग्रह गरेका छन्।

संक्रमण फैलिन नदिन तीनै तहका सरकार र सम्पूर्ण सुरक्षा निकाय एकढिक्का भएर जुट्न बैठकका सहभागीहरूले जोड दिएको धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले जानकारी दिए।

यतिखेर भारत कोरोना संक्रमणबाट आक्रान्त भइरहेकाले यस्तो अवस्ठामा सिमाना खुल्लै राखी निर्वाध आवतजावत गर्न दिँदा नेपालमा पनि संक्रमण फैलिने जोखिमप्रति सजग रहन बैठकमा सहभागीहरूले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्‌। भारतसँगका सबै नाका अनिश्चितकालसम्मका लागि बन्द गर्नुपर्ने माग सहभागीहरूले राखेका छन्। 

संक्रमण फैलिएको अवस्थामा संक्रमितहरूको उपचारका लागि छुट्टै अलग कक्ष (आइसोलेसन वार्ड), उपकरण, चिकित्सकलगायत आवश्यकताका सबै सामग्री र बस्तुहरू तयारी हालतमा राख्न समेत बैठकका सहभागीले माग गरेका छन्‌। बैठकमा पहाडी जिल्लामा रहेका एम्बुलेन्स तत्काल धनगढी ल्याउन र तयारी अवस्थामा राख्ने विषयमा समेत छलफल भएको छ।

तत्काल भारत नजान आग्रह

बैठकमा सुदूरपश्चिमका सीमा नाकाबाट एक हप्ताका लागि भारत नजान आग्रह गर्ने निर्णय गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा शुक्रबार बसेको कोरोना भाइरस नियन्त्रण तथा निर्देशक समितिको बैठकले सीमा नाकाबाट एक हप्तासम्म भारत प्रवेश नगर्न आग्रह गर्ने निर्णय गरेको हो।

बैठकमा भारत नजान सबैलाई आग्रह गर्ने र सीमानाकामा स्थापना गरिएका 'हेल्थ डेस्क'लाई प्रभावकारी बनाउने निर्णय भएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए। 

मुख्यमन्त्री भट्टले कोरोनाको जोखिममा सुदूरपश्चिम प्रदेश पनि रहेको अवस्थामा यसको रोकथाम र निगरानीका साथै आपूर्ति व्यवस्थामा कुनै कमि-कमजोरी हुन नदिन निर्देशन दिएका छन्। 

मुख्यमन्त्री भट्टको अध्यक्षतमा बसेको कोरोना नियन्त्रण तथा निर्देशक समिति बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, मन्त्रालयका सचिव, कैलाली, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडलगायत सहभागी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.