|

बारा : एकसय शय्याको अस्थायी कोरोना उपचार केन्द्र संचालन गर्न बाराको जितपुरसिमरा उपमहानगरले काम सुरु गरेको छ।

प्रदेश २ मा पहिलो पटक तीन दिनभित्र संचालनमा ल्याउने गरी सिमरामा उक्त एकसय शय्याको कोरोना अस्थायी उपचार केन्द्र संचालन गर्न काम थालिएको जितपुरसिमरा उपमहानगरले जनाएको छ।

खानेपानी, विद्युत प्राधिकरण नगर उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघसहित स्थानीय सामाजिक संघसंस्था र तीनवटै सुरक्षा निकायको सहयोगमा नगरपालिकाले अस्थायी कोरोना उपचार केन्द्र आइतबारदेखि सञ्चालनमा ल्याउने तयारी गरेको हो।

‘हामी अहिले सरसफाइको अन्तिम चरणमा छौं। खानेपानी, विद्युत्तीकरणको काम भइरहेको छ। अव स्वास्थ्यकर्मी, औषधि औजार र अन्य साम्रगीको व्यवस्थापनमा लाग्छौं’ जितपुरसिमराका उपमहानगरका नगरप्रमुख डा. कृष्ण पौडेलले भने, ‘तत्कालका लागि भोलिदेखl नै २५ शय्याबाट सेवा शुरु गर्छौं।  र केही दिनमै त्यसलाई बिस्तार गरेर एकसय शय्यामा पुर्‍याउँछौं।' 

कोरोना भाइरसको लक्षण देखिएका  बिरामीलाई यो अस्थायी शिविरमा राखेर उपचार गरिनेछ। नगरपालिकाले एक दशकदेखि बन्द रहेको पथलैयास्थित  गार्मेन्ट र जाली उद्योगलाई  कोरोना उपचार केन्द्रको रुपमा संचालन गर्ने तयारी हो। कोरोना विशेष अस्थायी अस्पताल तीन दिनमा सञ्चालन गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, संघ संस्था, स्थानीय, जनप्रतिनिधि र समाजसेवीसहितको टोलीले अस्पताल सञ्चालनको पूर्वाधार जुटाउन लागेका छन्।

कोरोना अस्थायी उपचार केन्द्र सञ्चालनका लागि आवश्यक शय्या मध्ये  हुलास स्टिल प्रालिले ४० शय्या निशुल्क निर्माण गरिदिने जनाएको छ भने नेपाल आर्मी र नगरपालिकाको स्वास्थ्यकर्मी उपचारमा खटिने छ। ‘यहाँ उपचार सम्भव भएन भने हामी अन्त रिफर गर्छौं’ नगरप्रमुख पौडेलले भने।

बारा पर्साको बाटो हुँदै नेपाल-भारत सीमा क्षेत्रमा आउजाउ गर्ने र  वीरगञ्ज-पथलैया औद्योगिक करिडोरका मजदुर अहिले कोरोना संक्रमणको उच्च जोखिममा छन्। संकमणको उच्च जोखिममा रहेकालाई कोरोना भाइरसको सामान्य लक्षण मात्रै देखिएमा पनि अस्थायी शिविरमा सम्पर्क गर्न नगरपालिकाले सबैमा आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.