प्रदेश सरकारद्वारा भने करौडौं रकम निकासा

|

जनकपुरधाम : कोरोना भाइरसको संक्रमण भित्रिन नदिन धनुषाको नगराइन नगरपालिकाको जटही नाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याएको दुई साता भयो।

तर जनशक्ति अभाव र उपकरणसमेत नहुँदा हेल्थ डेस्क प्रभावकारी बन्न सकेको छैन। यो हेल्थ डेस्कमा फूलगामा स्वास्थ्य चौकीका अहेबद्वय अन्जनी यादव र विजयकुमार दास खटिए पनि त्यहाँ पुग्दा अहेब दास मात्र भेटिए। 

एउटा सानो पालमा राखिएको हेल्थ डेस्कमा एक्लै बसेका अहेब दास भारतबाट आउने यात्रुलाई समेत चेकजाँच गर्दै थिए। हेल्थ डेस्क भनिए पनि भारतबाट आउने यात्रुहरुको सामान चेकजाँचमै प्रहरी व्यस्त थिए। नाकाबाट आउनेको लर्को थियो हेल्थ डेस्कमा। या धनुषाको प्रमुख नाका हो।

हाँबाट दैनिक हजारौं यात्रु आवतजावत गर्छन्। नेपालबाट भारतीय बजार पुग्ने हरेक व्यक्तिको यतिबेला भारतमा स्वास्थ्य परीक्षण भइरहेको छ। तर नेपालमा भने स्वास्थ्य परीक्षणमा लापरवाही भइरहेको छ। 

हेल्थ डेस्कमा खटिएका अहेब दास भन्छन्, ‘भारतबाट आउने सबैको स्वास्थ्य परीक्षण सम्भव छैन। शंका लागेका व्यक्ति र त्यस्तै हाउभाउ देखिनेलाई मात्र बोलाएर स्वास्थ्य परीक्षण गरिरहेका छौं।’

 दैनिक ७०/८० शंकास्पदलाई परीक्षण गरिएको र हालसम्म कसैमा पनि संक्रमण नभेटिएको पनि उनले बताए। प्रदेश २ का आठ जिल्लाका भारतसँग जोडिएका विभिन्न २७ नाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ। तर अधिकांश हेल्थ डेस्कमा ज्वरो नाप्ने ‘थर्मन गन’समेत छैन। थर्ममिटरले काम चलाइएको छ। त्यसमाथि पर्याप्त जनशक्ति पनि छैन। 

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले समेत नाकाहरूमा सञ्चालित हेल्थडेस्क प्रभावकारी नभएको स्वीकारेका छन्। उनले भने, ‘रौतहटमा हेल्थ डेस्क अनुगमन गर्न गएका थियौं। तर त्यहाँ ज्वरो नाप्ने थर्मल गन रहे पनि सही रिपोर्ट दिने गरेको देखिएन।’ हेल्थ डेस्क प्रभावकारी बनाउने विषयमा छलफल गरिरहेको उनले बताए। 

हेल्थ डेस्कको सेवा प्रभावकारी बनाउन प्रदेश सरकारले ८० लाख रुपैयाँ खर्चिने भएको छ। मन्त्री यादवले अर्थ मन्त्रालयले हेल्थ डेस्ककै लागि सामाजिक विकास मन्त्रालयलाई ८० लाख रुपैयाँ उपलब्ध गराएको जानकारी दिए। भने, ‘आवश्यक उपकरण तुरन्त खरिद गर्न र जनशक्ति थप्न बजेट उपलब्ध गराएको छ।’

प्रदेश २ मा छैन ‘क्वारेन्टाइन’

कोरोना भाइरसको त्रासले अत्यावश्यक कामबाहेक घरबाट ननिस्किन सरकारले आह्वान गरिसक्दा प्रदेश २ मा हालसम्म क्वारेन्टाइन निर्माण भएको छैन।
कोरोना संक्रमणको आशंका लागेका व्यक्तिलाई सबभन्दा पहिले क्वारेन्टाइनमा राखिन्छ। तर प्रदेश २ मा हालसम्म क्वारेन्टाइन निर्माण नहुँदा तयारी फितलो देखिएकाले सर्वसधारण झनै त्रसित बनेका छन्।

मन्त्री यादवले प्रदेश २ का आठै जिल्लामा क्वारेन्टाइन निर्माणका लागि ठाउँको खोजी भइरहेको जानकारी दिए। उनका अनुसार जनकपुरका मनिपालमा क्वारेन्टाइन निर्माण गरिनेछ। तर मणिपाल सञ्चालक समितिले क्वारेन्टाइनका लागि अनुमति नदिने बताएको छ।

आठै जिल्लालाई ५०/५० लाख

प्रदेश २ सरकारले कोरोना भाइरसविरुद्धको कदम चाल्न आठै जिल्लाका प्रत्येक जिल्ला विपद् व्यवस्थापन समितिलाई ५०/५० लाख उपलब्ध गराएको छ। यस्तै प्रदेश प्रहरी कार्यालयलाई २० लाख, सशस्त्र प्रहरी बललाई २० लाख र राष्ट्रिय अनुसन्धान विभागलाई समेत ५ लाख उपलब्ध गराएको छ। आवश्यक उपकरण तुरुन्त खरिद गरी जनचेतना मुलकदेखि कोरोना विरुद्धको अन्य हरेक कदम चाल्न बजेट उपलब्ध गराएको मन्त्री यादवले जानकारी दिए।

‘मुख्यमन्त्रीज्यूले पनि विकास बजेट कटौती गर्नुपर्छ भने गरेर प्रदेशमा कोरोना भाइरस भित्रिन नदिन भन्नुभएको छ’, मन्त्री यादवले भने, ‘हामी त्यहीबमोजिम बढिरहेका छौं। विकास अर्को वर्ष पनि हुन सक्छ। तर अहिले कोरोनाबाट जोगिन आवश्यक छ।’

डेन्टल क्लिनिक ठप्प

जनकपुरका डेन्टल क्लिलिनक ठप्प जस्तै भएका छन्। नेपाल डेन्टल एसोसिएसन जनकपुरले इमरजेन्सीबाहेक बिरामीको भर्ना नलिने भएपछि ठप्प जस्तै बनेको हो। 

धनुषा डेन्टल केयर जनकपुरका सञ्चालक डा. विजय यादवले कोरोना भाइरसको संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै दाँतका सामान्य बिरामीको उपचार नगर्ने निर्णय गरिएको जानकारी दिए। जनकपुरमा करिब चार दर्जन बढी डेन्टल क्लिनिक सञ्चालनमा छ। क्लिनिक सञ्चालकहरुले सामान्य बिरामीसँग तत्काल उपचार गराउन नआउन आह्वानसमेत गरेका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.