|
रसुवाको गल्छीबाट धादिङ हुँदै काठमाडौं भित्रन लागेको सात किलो सुन फेला परेपछि प्रहरीले सार्वजनिक गर्दै

काठमाडौं : चीनको केरुङबाट अवैध सुन भित्रिदैछ भन्ने सूचना पाएपछि पुसको सुरुदेखि नै रसुवागढी नाकामा प्रहरीले सक्रियता बढायो। पाँच दिनसम्म पर्खदासमेत सुनको सुइँको नपाएपछि सुराकीले गलत सूचना दिएको अनुमान लगाइसकेको थियो। तर, पुस ६ गते मोटरसाइकलमा नेपाल छिरेका रसुवा गत्लाङका विरेन लामालाई देखेपछि भने प्रहरीलाई शंका लाग्यो।  

आधा घण्टासम्म लामाको शरीर र मोटरसाइकल चेकजाँच गर्दा सुन फेला नपरेपछि प्रहरीले मोटरसाइकलको फिल्टरको पाटपूर्जा खोल्न थाल्यो। बल्ल फेला पर्‍याे, पाँच किलो सुन। उनलाई पक्राउ गरेर अनुसन्धान गरी रसुवागढी भन्सार बुझाइएको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रहरी नायव उपरीक्षक (डिएसपी) फणिन्द्र प्रसाईले जानकारी दिए। यसरी केरुङको नाका हुँदै पछिल्लो समय सुन भित्रने थाहा पाएपछि प्रहरीले सक्रियता बढाएको छ।

लामा पक्राउ गरेको एक महिनापछि माघ १० मा प्रहरीले रसुवाको यार्सा बस्दै आएका सिन्धुपाल्चोकका चक्रबहादुर धमलालाई एक सय १७ ग्राम सुनसहित पक्राउ गर्‍याे। पर्सभित्र सुन लुकाएर ल्याउने उनी सात लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए।

कसरी खुल्यो रहस्य?

रसुवागढी हुँदै नेपालमा सुन भित्रने रहस्य २०७१ असार ७ गते खुलेको थियो, जतिखेर रसुवा टिमुरेकी ४८ वर्षीया फुर्पु ग्याल्मो तामाङ १० तोला सुनसहित पक्राउ परेकी थिइन्। त्यसको एक महिनापछि साउन ६ गते टिमुरेकी ३० वर्षीय सम्झना तामाङ छ तोला सुनसहित पक्राउ परिन्। यो दुई वटा घटनापछि प्रहरीले केरुङको नाका हुँदै सुन भित्रिने गरेको ठम्याईका साथ सक्रियता बढायो।

प्रहरीले सक्रियता बढाएपछिको साढे दुई वर्षमा आठ जनालाई सुनसहित पक्राउ पनि गरिसक्यो, तर अवैध रुपमा चीनबाट सुन नेपाल भित्रने क्रम घटेको छैन। भूकम्पपछि तातोपानी नाका ठप्प भएपछि सुन तस्करीमा संलग्न गिरोहले विकल्पको रुपमा केरुङ नाका प्रयोग गर्न थालेको निष्कर्षका साथ प्रहरीले सक्रियता बढाएको रसुवाका डिएसपी प्रसाई बताउँछन्। ‘हामीले सक्रियता बढाएपछि आठ जनालाई सुनसहित पक्राउ गरिसकेका छौं’, उनले भने ‘जसमा पाँच जना रसुवाका, दुई जना रसुवा वाहिरका र एक जना विदेशी रहेका छन्।’

भरियामात्र पक्राउ

रसुवामा सुनसहित पक्राउ परेका आठ जना भरियामात्र भएको डिएसपी प्रसाईं बताउँछन्। तस्करी गर्ने गिरोहले सोझासाझा गाउँलेलाई प्रलोभनमा पारेर सुन बोकाई पठाउने र उनीहरु नै पक्राउ पर्ने उनले बताए।  'अहिलेसम्म जतिपनि पक्राउ परेका छन्, ती सबै भरिया हुन्', उनले भने 'सुन बोकेर आउनेले नै उसलाई कसले पठाएको हो भन्ने समेत चिनेका छैनन्, सुन पुर्‍याउनुपर्ने ठाउँ र लिन आउने मान्छेको हुलियामात्र उनीहरुलाई थाहा हुने रहेछ।' 

गिरोहले आधुनिक प्रविधि प्रयोग गरेर तस्करी गरिरहेकोले वास्तविक सुन मालिकसँग पुग्न नसकिएको डिएसपी प्रसाईंले बताए। बेलाबखतमा पैसाको कुरा नमिलेर सुन लिन जानेहरुबीच कुरा नमिलेपछि मात्र सुराकी गर्ने गरेकोले पक्राउ गर्न सकिएको यथार्थ रहेको पनि उनले जानकारी दिए।

कमजोर संयन्त्र

सुन तस्करीले नयाँ नयाँ प्रविधि अपनाएर तस्करी गर्ने गरेको थाहा पाएपनि प्रहरी संगठनसँग चेकजाँचका लागि आधुनिक प्रविधि नभएको कारण तस्करहरु सजिलै उम्कने डिएसपी प्रसाईंले जानकारी दिए। 'सामान्य चेकजाँच गर्नुबाहेक अरु केही गर्न सक्ने अवस्था छैन', उनले भने- 'शंका लागेका र सुराकीले खबर गरेकालाई गहिरिएर चेकजाँच गर्ने गरेका छौं।'

शंकास्पद माथि निगरानी राख्ने, चीन जाने र फर्कने सवारीसाधनलाई कडाईका साथ चेकजाँच गर्ने, थप सुराकी परिचालन गर्ने र तस्करीका सम्भावित क्षेत्रमा सादा पोशाकका प्रहरी परिचालन गर्ने काम भइरहेको पनि उनले जानकारी दिए। नाकामा सिसिटिभी राखेर निगरानी बढाउने, डिजिटल एकसरे मेसिन राख्ने, व्यागेज एक्सरी मेसिन राख्ने तथा मेटल डिरेकटर वाक थ्रु गेट बनाउने योजना भने एक वर्षदेखि कागजमा नै थन्किएको पनि उनले बताए। 

११ चेकपोष्टको काम लगत राख्ने मात्र

अवैध तस्करी रोक्नका लागि रसुवाको बाटोमा मात्र ११ वटा चेकपोष्ट राखिएको छ। नेपाली सेनाको चार वटा, नेपाल प्रहरीको पाँच वटा र सशस्त्र प्रहरी बलको दुई वटा चेकपोष्ट छ। 

केरुङबाट काठमाडौंतर्फ आउँदा रसुवागढी भन्सारको चेकपोस्ट छ। त्यसपछि सशस्त्र र नेपाल प्रहरी दुवैको संयुक्त पोष्ट छ। टिमुरेमा सेना, प्रहरी र सशस्त्र प्रहरीको छुट्टाछुट्टै चेकपोस्ट छ। त्यसपछि स्याफुबेशीमा सेनाको, धुन्चेमा सशस्त्र प्रहरी, प्रहरी र सेनाको फरक फरक पोष्ट छन्। त्यसपछि कालिकास्थानमा सेनाको र नुवाकोटको बेत्रावतीमा प्रहरीको अर्को चेकपोष्टहरु रहेका छन्।

अधिंकाश चेकपोष्टमा सवारी साधनको लगत राखिन्छ। अवैध सुन सवारी साधनको पाटपूर्जाभित्र लुकाएर ल्याउने गरेकोले पक्राउ गर्न कठिनाई भइरहेको डिएसपी प्रसाईंको अनुभव छ। 'प्रहरीले नभेट्टाउने गरी पाटपुर्जाभित्र लुकाएर सुन ल्याइरहेका छन्, अहिलेसम्म रसुवाभित्रैबाट छ किलो सुनमात्र बरामद भएको छ', उनले भने- 'सवारीसाधनमा फल्स वटम बनाएर ल्याउने गरेकोले पत्ता लगाउन नै कठिन भइरहेको छ।'

हुन पनि रसुवा हुँदै आएको अहिलेसम्मकै सवैभन्दा बढी छ किलो सुन रसुवामा बरामद भएको थियो भने त्यही बाटो हुँदै आएको १५ किलो सुन काठमाडौंमा बरामद भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.