|

मकवानपुर : गत वर्षको तुलनामा यो वर्ष मकवानपुरमा कुष्ठरोगीको सङ्ख्या बढेको छ। यो वर्ष ११ जना कुष्ठरोगी थपिएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ।

गत वर्ष २० जना कुष्ठरोगी रहेको मकवानपुरमा यो वर्ष ३१ जनामा कुष्ठरोग देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका क्षय कुष्ठरोग निरीक्षक कपिलदेव झाले बताए। सबैभन्दा धेरै कुष्ठरोगीहरु हेटौँडा उपमहानगरपालिकाको बसामाडी, पदमपोखरीसहित पश्चिम मकवानपुरको हाँडीखोला तथा मनहरी गाविसमा रहेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ। 

चेतनाका कारण छाला जाँच गर्नेको संख्या बढेसँगै कुष्ठरोगीको संख्या बढेको निरीक्षक झाले बताए। ‘यसलाई नकारात्मक रुपमा मात्रै लिन मिल्दैन्। पहिला–पहिला मानिसहरुले रोग लुकाउँथे। पछिल्लो समय चेतना बढेपछि  छाला जाँच गर्नेको सङख्यामा वृद्धि भएसँगै कुष्ठरोगीहरुको सङ्ख्यामा पनि वृद्धि भएको हो,’ उनले भने। 

कुष्ठरोगलाई अझै पनि नेपाली समाजमा लाज तथा भयको विषय बनाइएका कारण मानिसहरुले रोग लुकाएर बस्ने गरेको उनले बताए। नेपाललाई कुष्ठरोग उन्मुलन भएको मुलुकमा दर्ज गरिएपनि भारतसँगको खुल्ला सिमानाको कारण कुष्ठरोगको अन्त्य नभएको मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौँडाका विष्णुप्रसाद जैशीले बताए। उनको अनुसार मध्यमाञ्चलमा सबैभन्दा धेरै धनुषा जिल्लामा २ सय १७ जना कुष्ठरोगीहरु छन्। 

नियमित ६ महिनादेखि एक वर्षसम्म औषधि सेवन गर्दा निको हुने रोग भएकोले लाज र भयमा नरहन उनले सबैलाई आग्रह गरे। कुष्ठरोगको औषधी तथा परिक्षण देशको सबै स्वास्थ्य संस्थाहरुमा निशुल्क हुने भएकोले कुष्ठरोगलाई लुकाएर नराख्न उनले आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.