नेपाल र बंगलादेशमा जस्तै आफ्नै किसानमाथि पनि मोदीले दबाब बढाएको आरोप

|

काठमाडौं : दक्षिण एशियामा पछिल्लो समय किसानहरुको आत्महत्या, तीव्र बसाइसराई, कृषिबाट पलायन, भूमि अतिक्रमण, बहुराष्ट्रिय निगमको एकाधिकार, कृषि भूमिको खण्डीकरण जस्ता समस्या बढ्दै गएकामा किसान अगुवाहरुले चिन्ता व्यक्त गरेका छन्।

नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघले काठमाडौंमा आयोजना गरेको दुई दिने "दक्षिण एशियाली किसान सम्मेलन" मा सहभागी किसान नेताहरुले विश्व आधुनिक युगमा तिब्र गतिमा अगाडि बढिरहेका बेला कृषि पेशा गर्दै आएका किसानहरु झन-झन गरिब हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

किसानको समस्या राजनीति र अर्थतन्त्रसँगै सिधा जोडिएकाले राजनीतिक रुपमै समाधान गर्न सके मात्र समाधान हुने भन्दै उनीहरुले यसका लागि राज्य जिम्मेवार हुनुपर्ने बताए।

भारतका किसान नेता सुनित चोपडाले भारत सरकारले छिमेकी मुलुकहरु नेपाल र बंगलादेशमाथि हस्तक्षेप गरेजस्तै देशभित्रकै किसानमाथि पनि चर्को दमन गरेको बताए। प्रधानमन्त्री नरेन्द्र मोदीले रातारात पाँच सय र एक हजार रुपैयाँ नोटमाथि प्रतिबन्ध लगाएर हजारौं किसानमाथि अन्याय गरेको उनले बताए। 'भारतले जसरी छिमेकी नेपाल र बङ्गलादेशमाथि दबाव दिँदै आएको छ त्यो भन्दा कम हिन्दुस्तानका किसानमाथि कम दबाव छैन' उनले भने, 'रातारात एक हजार र पाँच सयको नोटमाथि प्रतिबन्ध लगाएर किसान जनतामाथि अन्याय गरेको छ। नयाँ उत्पादनका लागि बिउ, मल खरिद गर्नुपर्ने थियो तर हामीसँग त्यतिबेला पैसा थिएन।'

साम्राज्यवाद, उपनिवेशवादले जनतासँग सम्पत्ति हडपेर उनीहरुलाई कुल्चन सिकाएको भन्दै नेता चोपडाले डेढ लाख हिन्दुस्तानी किसानको सम्पत्ति कब्जा भएको र दुई तिहाई जनता अहिलेपनि सडकमा रहेको बताए। छिमेकीसँग मोदीले दिँदै आएको यति धेरै दबावप्रति दुःख लागेको भन्दै उनले यो सर्मको विषय भएको समेत बताए। 'दुःख लाग्छ, आफ्नो छिमेकीसँग यति धेरै दबाव मोदीजी किन दिन्छन्। यो सरमको विषय हो' उनी भन्छन्, 'तपाईको दुःख हटाउन मोदीलाई भारतको संसदबाट हटाउन जरुरी छ। त्यसको नेतृत्व किसानले गर्नेछन्।'

नेकपा एमाले उपाध्यक्ष तथा अखिल नेपाल किसान महासङ्घका अध्यक्ष वामदेव गौतमले सबै दलको सहयोग भए १० वर्षभित्रमा नेपालमा समाजवाद आउने दाबी गरे। उत्पादनको मुख्य क्षेत्र कृषि क्षेत्रको विकासका लागि राज्यले उचित ध्यान नदिएको उनले बताए।  

यस्तै बंगलादेशका किसान नेता हसन तारिक चौधरीले किसानको पक्षमा लामो समयदेखि संघर्षहरु हुँदै आएपनि नवउदारवादका कारण मुख्य समस्या रहेको बताए। मोदीले भारतमा लिएको नीतिका कारण बंगलादेशका किसान पनि समस्यामा परेको उनको भनाई थियो।

ब्राजिलका किसान नेता मार्कोले किसानको समस्या समाधान गर्न किसानहरु नै एकजुट हुनुपर्ने बताए। सबै महादेशका किसानका समस्या उस्तै भएको भन्दै उनले सबै देशका पीडित किसानहरु बदलिदो परिवेशलाई मध्यनजर गर्दै कसरी सँगठित हुने भन्‍ने सोचेर एकजुट हुनुपर्ने बताए।

दुई दिनसम्म चल्ने सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काका १५ किसान सङ्गठनका अगुवाको सहभागिता रहेको छ। सम्मेलनमा नवउदारवाद र यसले किसानलाई पारेको नकारात्मक प्रभाव, किसान अधिकार र कृषि विकासको नवउदारवादी नीतिको बैकल्पिक रणनीतिका रुपमा खाद्य सम्प्रभुता, जलवायु सङ्कट सम्बन्धी समस्या, भूमि अधिकारबारे छलफल गरी खाद्य सम्प्रभुता, जलवायु परिवर्तन, भूमि अधिकारका क्षेत्रमा नयाँ नीति तर्जुमा गरिने सम्मेलनका सचिव विप्लव हलिमले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.