|

मुुगु : कोरोना भाइरस रोकथामका लागि सरकारले कडाई गरेसँगै मुगुका सर्वसाधारण खाद्यान्‍न र दैनिक आवश्यकताका सामग्री किन्न‍ खाद्य संस्‍थान र साल्ट ट्रेडिङ कर्पोरेशनमा भीड लाग्‍न थालेका छन्‌।

आफूलाई चाहिने चामल र नुनको जोहो गर्न छाँयानाथ रारा नगरपालिकाका सर्वसाधारणहरु खाद्य संस्थान र साल्टट्रेडिङ कर्पोरेशनमा बिहान १० बजेदेखि नै जम्मा भइरहेका छन्‌। आइतबार बिहानदेखि बेलुकीसम्मको अवधिमा मात्रै खाद्य संस्थान मुगु शाखाबाट ५०० भन्दा बढी मानिसहरूले खाद्यान्‍न लगिसकेको निमित्त कार्यालय प्रमुख पुष्कर भामले जानकारी दिए। 

मुगुमा सडक यातायात पुगेपछि सामान्य अवस्थामा दैनिक २० जनासम्म मानिसहरू यी संस्थानमा जाने गर्थे। तर कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले आइतबारदेखि चैत्र २१ गतेसम्म अत्यावश्यक बाहेकका सबै सरकारी, गैह्रसरकारी, कलेज, विद्यालय बन्द गर्ने घोषणा गरेपछि सर्वसाधारण बजारमा धुइरो लागेका हुन्‌। तर सरकारले अत्यावश्यक सामग्री वितरण गर्ने कार्यालय यो अवधिमा बन्द नहुने जनाइसकेको छ। 

दुधे बच्चा बोकेर खाद्यान्‍न जोहो गर्न आईपुगेकी छाँयानाथ रारा नगरपालिका-५ कि करिश्मा भामले चैत्र २१ गतेसम्म सबै सरकारी कार्यालय बन्द हुने सुनेकाले आफूले खाद्य संस्थानमा ४५ मिनेट लाइन बसेर ३० किलोग्राम तौलको एक बोरा चामल किनेको बताइन्‌। 

सोही नगरपालिका-१३ का प्रेम रावतले पनि लाइनमै बसेर खाद्यान्‍न खरिद गरेको बताए। बजारमा पर्याप्त खाद्यान्‍न पाएपनि खाद्य संस्थानमा बजारमूल्यभन्दा १५० रूपैयाँ कम पर्छ। 

चामल किन्न आएका प्रत्येक व्यक्तिलाई खाद्य संस्थानले एक पटकमा ३० किलोग्रामको एक बोरा चामल वितरण गर्ने गरेको छ। ठूलो परिवार भएकाहरूलाई भने यो परिणामको चामल पर्याप्त नहुने हुनाले पुनर्विचार गर्नुपर्ने छाँयानाथ रारा नगरपालिका -११ का बिर्ख बुढा बताउँछन्‌। 

यतिखेर खाद्य संस्थान मुगु शाखामा २६ क्विन्टल चामल मौज्दात रहेको छ। सोरू गाँउपालिकाको सोरूकोट डिपोमा ३०० क्विन्टलमा मौज्दात रहेको छ। सोही गाउँपालिकाको कालै बिक्री केन्द्रमा १८०० क्विन्टल चामल मौज्दात रहेको छ। डिपोमा चामल ढुवानी जिम्मा पाएको विजय निमार्ण सेवाले अझैसम्म १०० क्विन्टल खाद्यान्‍न अझै ढुवानी गरेको छैन। 

मुगुम कार्मारो गाँउपालिका पुलु डिपोमा ४ क्विन्टल मौज्दात रहेको र ४ क्विन्टल चामल ठेकेदारले ढुवानी गरिरहेको छ। खत्याड गाँउपालिकाको श्रीकोट डिपो र रातापानी बिक्री केन्द्रमा समेत खाद्यान्‍न मौज्दात रहेकाले यी क्षेत्रमा खाद्यान्‍न समस्या नभएपनि ठेकेदारका कारण सोरुकोट डिपोमा चामलको समस्या हुनसक्‍ने खाद्य संस्थान मुगुले जनाएको छ। 

सरकारले कोरोना संक्रमण फैलन नदिन भीडभाड नगर्न र २५ जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला नहुन आग्रह गरिरहेको छ। तर अनायसै आत्तिएका सर्वसाधारण बजारको अवस्था नै नबुझी सामान किन्न ठेलमठेल गरिरहेका छन्‌। 

साल्ट ट्रेडिङ कर्पोरेशन मुगु शाखाका प्रमुख खगेन्द्र कार्कीका अनुसार सर्वसाधारणलाई साविक समयमा जस्तै गरी नुन वितरण गरिएपनि बन्दको हल्लाले मानिसहरू भीड लागेर नुन किन्‍न आइरहेका छन्‌। अहिले कर्पोरेशनको मुगु गोदाममा २००० क्विन्टल नुन माैज्दात रहेकाले सहज रूपमै किन्‍न पाइने उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.