|

दमक : झापाको दमक र मोरङको पथरिशनिश्चरेमा रहेका दर्ताविहीन शरणार्थीहरुले परिचयपत्रको माग गरेका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरुले परिचयपत्रको अभावमा परिचयविहिन बनेको बताए। दर्ता प्रक्रियाका क्रममा नाम छुटेका शरणार्थीहरुलाई यथाशक्य चाडों दर्ता गरेर परिचयपत्र उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ।

परिचय नपाउँदा छोराछारीलाई विद्यालय भर्ना गर्न समेत मुस्किल भएको दर्ताविहन शरणार्थी लाल विश्वकर्माले बताए।‘मेरो दुईटा छोरालाई कागजपत्र बिना पढाउन धेरै गाह्रो भयो, मैले क्याम्पस सचिवले भन्देको भरमा पढाईरहेको छु, परिचयपत्र नहुदा धेरै समस्या छ।’

दर्ता प्रक्रियाका बेला सन् २००६ मा पारिवारिक कारणले शिविर बाहिर रहेको र २०१३ देखि मात्र शिविरमा आएको हुँदा दर्ता हुन नसकेको उनले बताए। उनका ५ दाजुभाईसहित आमा समेत तेश्रो मूलुक पूर्नवासमा छन्।

शिविरमा रहेका १६ सय ४१ शरणार्थी दर्ताविहिन रहेको कार्यक्रममा जानकारी दिइयो। ‘१६ सय ४१ नै शरणार्थाीहरु दर्ता नभएका होइनन्। ८ सय ८७ जना भने दर्ता भैसकेका हुन्। तर दर्ता भएर बिचमा सम्पर्क विहीन हुँदा उनीहरुको दर्ता खारेज भएको छ,’ शनिश्चरे शिविरका क्याम्प सचिव चम्पासिंह राईले भने,‘परिवारिक अवस्थाका कारण बाहिर गएकाहरु धेरैको दर्ता खारेज भएको छ। ७ सय ५४ शरणार्थीले भने कहिल्यै आफ्नो नाम दर्ता गर्न पाएका छैनन्।’ 

दर्ता खारेजी हुनेमा महिलाको संख्या बढी 

दर्ता खारेजी भएकाहरुमा आधाभन्दा बढी महिला रहेको कार्यक्रममा जानकारी दिइयो। शरणार्थी शिविर बाहिरकासँग विवाह गरेका महिलाहरु परिचय विहिन बनेका हुन्। २७ वर्षिया रिमा प्रधानले अमेरिका जान पाउने आशमा शिविर बाहिरका व्यक्तिले आफुसँग बिहे गरेको र त्यसपछि आफु दर्ताविहिन बनेको बताइन्।

'मैले खुदुनाबारीमा विवाह गरेको हुँ, मेरो माइती पट्टिका सबै अमेरिका गैसक्नुभयो, म अमेरिका जान नसके पछि श्रीमानले मलाई मानसिक तनाव दिनुभयो, र मैले उहाँलाई छोडे’ उनले थपिन्,‘उहाँले नागरिकता पनि बनाइ दिनुभएन। एक जना छोरा र एक जना छोरी छन्, उनीहरुको पनि परिचयपत्र छैन, उनीहरु परिचयविहीन भए।’

सन् २०१४ बाट उनी शनिश्चरे शिविरमा बस्दै आएकी छिन्। शनिश्चरे शिविरकै टीकादेवी अधिकारीको पनि उस्तै हालत छ। उनले भारत दार्जिलिङका रुद्र बरालसँग परिवारकै सहमतिमा विवाह गरेकी थिइन्। सन् २००८ मा उनका श्रीमान् बेपत्ता भए। श्रीमानको नामबाट परिचयपत्र बनाउने योजना अधुरै रह्‍यो। अहिले उनी शिविरमै छिन्। साथमा एक छोरा र एक छोरी छन्।

माइतीपट्टीका सबै सन् २०१३ मै अमेरिका गैसकेका छन्। पारिवारिक वियोगमा रहेकी अधिकारीले परिचयपत्र नहुँदा समस्या सिर्जना भएको बताइन्। ‘हामीलाई शरणार्थीको मात्र परिचय होइन, जुन परिचय दिए पनि हुन्छ, हामीलाई परिचयमात्र दिए पुग्छ, हामीलाई अमेरिका जानु छैन, नेपाल सरकारले पनि दिए हुन्छ।’ 

शिविरमा रहेका धेरैजसो दर्ताविहिन शरणार्थीहरु पारिवारिक वियोगमा छन्। उनीहरुको आधा परिवार विदेशमा छ। अहिलेसम्म एक लाख ७ हजार ४९ जना भूटानी शरणार्थीको तेश्रो मुलुक पुनर्वास भैसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.