|

कालिकोट : जिल्लाको ग्रामिण इलाकाका महिलाहरु सीप सिकेर आत्मनिर्भर बन्ने क्रम बढेको छ। पुरुषहरु कामको खोजीमा विदेशिन थालेपछि यहाँका महिलाहरु सीप सिकेर आत्मनिर्भर बन्‍ने बाटोमा लागेका छन्।

जिल्लाको स्युना गाविसले लक्षित वर्गलाई छुटाएको रकमबाट महिलाहरुले सिलाइ कटाइको तालिम लिइरहेका छन्। गाविसका दलित, महिला र अपाङ्ग संजालको नाममा आएको रकमबाट यस वर्ष गाविसका १० जना महिलाहरुलाई सिलाइ कटाइ सिकिरहेका छन्।

दलित संजाल स्युनाका अध्यक्ष मन तिरुवा भन्छन्,‘दलित लागि लक्षित वर्गको रकम ५० हजार, अपाङ्गको ५० हजार र महिलाको ६० हजार गरि जम्मा १ लाख ६० हजार रुपैयाँ र घरेलु तथा साना उद्योग कार्यालयले दिएको २ लाख रुपैयाँ रकमले महिलालाई सिलाइ–कटाइ तालिम दिएका छौं,उनले भने,‘साढे दुई महिना सिलाई कटाई तालिमले महिलाहरुलाई आत्मनिर्भर हुने बाटो खुल्नेछ।’

तालिमले आफुलाई आत्मनिर्भर बन्न सहयोग पुर्‍याउने विश्वास अनिता बमले लिएकी छिन्,‘सिलाई कटाईको सीप सिकेर आत्मनिर्भर बन्ने तयारीमा छु,’ उनले भनिन्,–‘कति दिन पुरुषहरुको भरमा पर्नु।’

स्युना गाविसका पछाडी पारिएका १४ जना महिलाहरुलाई लघुउद्यम विकास कार्यक्रम(मेड्प)को आर्थिक सहयोगमा सादा नेपालले एक महिने सिलाइ–कटाइ तालिम संचालन गरेको लघु उद्यम सहजकर्ता बेला तिरुवाले बताइन्। ‘मेड्पले विभिन्न गाविसका महिला तथा पुरुषहरुलाई उद्यम सम्बन्धी सीप सिकाउँदै व्यवसायमा अग्रसर गराउँदै आएको छ,’ उनले भनिन्,‘विभिन्न निकायले दिएको सिलाइ–कटाइ तालिमले कयौं महिलाहरु आत्मनिर्भर भएका छन्।’

जिल्लाका पढेलेखेका महिलाहरुले समेत सिलाइ–कटाइ तालिम लिएका छन्।  व्याचलर पास गरेकी मान्मकी मधु शाहीले सदरमुकाममा सिलाइ–कटाइ पसल राखेकी छिन्। शाहीले युनिक सिलाइ कटाइ टेनिङ्ग सेन्टर संचालन गरेर गाउँका महिलाहरुलाई सिलाई कटाई तालिम दिएर आत्मनिर्भर बनाउने आफ्नो लक्ष्य रहेको बताइन्। ‘गाउँका महिलाहरुलाई सिलाइ कटाइ तालिम दिएर आत्मनिर्भर बनाउने मेरो योजना छ,’ उनले भनिन्,‘आफु आत्मनिर्भर भए कसैले हेप्दैनन्।’

पछिल्लो चरणमा जिल्लामा अधिकांश महिलाहरु सिलाइ–कटाइ, राडीपाखी बनाउने, ढाका बुनाइतर्फ आकर्षित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.