|

बाँके : सरकारी उदासिनताका कारण कम्दी गाविस–७, पदमपुरमा रहेको शिव गायत्री विद्या बिस्तार गौशाला गुरुकुल आश्रम संकटमा परेको छ। जैविक खेतीका लागि प्राङ्गारिक मल उत्पादन, स्थानीय जातका गाईको संरक्षण र  गौमुत्रबाट औषधि बनाउने उद्देश्यले संचालनमा ल्याइएको गौशालामा ५५ वटा गाई र बाच्छाबाच्छी छन्।

तर, गौशालाको व्यवस्थापन र स्तरोन्नतीमा सरकारले ध्यान दिएको छैन्। सरकारी बेवास्ताकै कारण गौशाला संकटमा पर्दै प्रमुख व्यवस्थापक शेरबहादुर ऐरीले बताए। उनले दान, दक्षिणा, भेटी र स्थानीयको सहयोगले गौशाला संचालन भैरहेको बताए।

गौशाला र गूरुकुलको आफ्नो जमिन छैन। पशुपति सामुदायिक वनको जमिनमा गौशाला सञ्चालन भैरहेको उनले बताए। २०६५ सालमा यज्ञशालाको नामबाट स्थापना भएको गौशाला र गूरुकुललाई आफ्नो जमिन नहुँदा गाईपालन तथा पठन–पाठनमा समस्या पर्ने गरेको छ।

सामुदायिक वनले गूरुकुल संचालन गर्न नदिएपछि सामुदायिक भवनमा कक्षा संचालन गरेको गूरुकुलका स्वयंम्सेवक ओमकार स्वदेशीले बताए। ३ कक्षासम्म पढाई हुने  गूरुकुलमा ६२ जना अध्ययनरत छन्। भवन र शिक्षक अभावका कारण थप कक्षा संचालन गर्न नसकिएको स्वदेशीले बताए।

सामुदायिक वनले उपभोगका लागि मौखिक रुपमा जमिन उपलब्ध गराएपनि लिखित रुपमा केही सम्झौता नभएको गूरुकुलकी लक्ष्मी कुमारी वाग्लेले बताइन्।  ‘अर्काले दयाले दिएको जमिन हो, दया रहँदासम्म बस्न देलान्, त्यसपछि के हुन्छ थाहा छैन,’ वाग्लेले भनिन्।

उनले सामुदायिक वनले जमिन नछुट्याई दिँदा गाईका लागि घाँस, फलफुल, जडिबुटी, रुख विरुवा रोप्न समेत नपाएको बताइन्। जडिबुटी, फलफुल र रुखविरुवा लगाउन मन लागेपनि आफ्नो जमिन नहुँदा समस्या भएको उनले बताइन्। ‘वनले कतिसम्म जमिन दिन्छ भन्ने निश्चित नहुँदा चाहदा चाहदै पनि रुखविरुवा रोप्न सकेका छैनौँ,’ उनले भनिन्।

जमिन नभएकै कारण गाईका लागि घाँस रोप्‍न नसकेको र घाँस नभएकै कारण गाईलाई जंगलमा छोड्नुपरेको गुनासो गायत्री परिवारका राष्ट्रिय संयोजक रमेशचन्द्र पौडेलले गरे। उनले गाईलाई राम्रोसँग घाँस खुवाउन नपाउँदा गाईको वृद्धि विकास हुन नपाएको बताए। ‘वनमा चर्न जान नदिउँ भने घाँस छैन, घाँस रोपौँ भने जमिन छैन,’ उनले भने। घाँस रोप्ने जमिन नहुँदा गाईलाई बिहान ७ बजे नै जंगलमा पठाउने गरिएको छ। 

गौशालाले गाईको पिसाबबाट औषधि र शौचबाट प्राङ्गारिक मल बनाउने गरेको छ। प्राङ्गारिक मल स्थानीयले लैजाने गरेका छन्। गौमुत्रबाट बनाएका गौजला औषधिबाट मासिक ७–१० हजार रुपैयाँ आम्दानी हुने गरेको मुख्य व्यवस्थापक ऐरीले बताए। गौजला बिक्री नै गौशाला र गूरुकुलको मुख्य आय श्रोत हो।

गौशालाले उत्पादन गरेको गौजला औषधि प्रति लिटर ३ सयमा बिक्री हुँदै आएको छ। उक्त औषधि लिन नेपालगन्ज, कोहलपुर, भारतको रुपईडिहा, बर्दियाको गुलरियासम्मका सर्वसाधारण आउने गरेको प्रमुख व्यवस्थापक ऐरीले बताए।   

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.