एजेन्सी : स्पेनिस लालिगा फुटबल अनिश्चितकालका लागि स्थगित गरिएको छ। विश्वभर फैलिएको कोरोना भाइरसका कारण स्पेन अहिले प्रतिकूल अवस्थाबाट गुज्रिरहेको छ। स्पेनमा अन्य देशको तुलनामा कोभिड–१९ बाट मृत्यु हुनेको प्रतिशत सर्वाधिक उच्च छ।
यसअघि १२ मार्चमा स्पेनिस ला लिगा दुई साताको लागि स्थगित गरिएको थियो। तर अहिले कोरोनाको संक्रमण ह्वातै बढेपछि स्पेनको सबैखाले फुटबल गतिविधि अनिश्चितकालका लागि बन्द गरिएको हो। स्पेनिस फुटबल संघ र ला लिगाले निर्माण गरेको मोनिटरिङ कमिसनले सोमबार यस्तो निर्णय गरेको हो।
ला लिगामा पछिल्लो पटक ६ देखि ८ मार्चसम्म २७ औं चरणका खेलहरु भएका थिए। त्यसपछि दुई साताका लागि खेलहरु स्थगित गरियो। अब अर्को निर्णय नभएसम्मको लागि स्पेनमा कुनै पनि खेलकुद गतिविधि हुने छैनन्।
स्पेनमा कोरोनाको ३३ हजारभन्दा बढी संक्रमण भेटिएको छ भने २१ सय ८२ जनाको मृत्यु भइसकेको छ। इटाली र चीनपछि कोरोनाका कारण सर्वाधिक धेरै मृत्यु हुनेमा स्पेनीस नागरिकहरु रहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।