|

लण्डन : इङल्यान्डका पूर्व राष्ट्रिय मिडफिल्डर फ्रयाङ्क लाम्पार्डले खेलाडी जीवनबाट सन्यास घोषणा गरेका छन्। ३८ वर्षका लाम्पार्डले बिहीबार आफ्नो २१ वर्षे व्यवसाहिक खेलाडी जीवन समाप्त भएको घोषणा गरे।

लाम्पार्डले पछिल्लो समय अमेरिकाको न्यूयोर्क सिटी फुटबल क्लबबाट खेलेका थिए। अमेरिका जानुअघि उनले इंलिस प्रिमियर लिग क्लब वेस्टह्याम  र चेल्सीबाट खेलेका थिए। अमेरिकाको न्युयोर्क सिटी फुटबल क्लबबाट केही समयका लागि उनी इंलिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा ऋणमा सरुवा भए।

'अविस्मरणीय २१ वर्षपछि मैले मेरो व्यवसाहिक फुटबलको करियर टुंग्याउनका लागि यो नै सही समय हो भन्‍ने निर्णय लिएँ,' आफ्नो इन्स्टाग्राम एकाउन्टमा लाम्पार्डले लेखेका छन्। 'अहिले पनि इङल्यान्ड र विदेशमा समेत थुप्रै क्लबबाट खेल्नका लागि अफर आएको छ। ३८ वर्षको उमेर मलाई लाग्छ यो मेरो जीवनको नयाँ अध्याय सुरु गर्ने समय हो। म मैले जितेका ट्रफी, १ सय पटकभन्दा बढी समय देशका लागि खेल्न पाउँदाको अवसर र करियरका ३ सयभन्दा बढी गोलका लागि गर्वित छु,' उनले भनेका छन्।

लाम्पार्डले आफ्नो जीवनमा सहयोग गर्ने धेरै व्यक्ति धन्यवाद्का पात्र रहेको बताएका छन्।  वेस्टह्यामबाट सन् १९९६ मा व्यवसाहिक फुटबल सुरु गरेका लाम्पार्ड सन् २००१ मा चेल्सी आएका थिए। उनले चेल्सीमा १३ वर्ष बिताउने क्रममा तीनपटक इंलिस प्रिमयर लिग, एकपटक च्याम्पियन्स लिग र १ पटक युरोपा लिग जिते। सन् २०१४ मा अमेरिकी मेजर सकर लिग क्लब यूयोर्क सिटीमा आबद्ध भएपछि छोटो समयका लागि उनी म्यानचेस्टर सिटीमा ऋणमा आबद्ध भएका थिए।

सन्यासपछि लाम्पार्ड चेल्सीमा कुनै न कुनै भूमिकामा फर्कने अनुमान गरिएको छ। उनीसँगै इंलिस टोलीबाट खेल्ने पूर्व सहकर्मी स्टेफेन जेरार्ड अहिले लिभरपुलको एकेडेमीमा प्रशिक्षकमा रुपमा फर्किएका छन्। लाम्पार्डले पनि चेल्सीको युवा टोलीबाट प्रशिक्षण करियर सुरु गर्नसक्ने अनुमान लगाइएको छ। उनीसँग प्रशिक्षणको 'बी लेभल' को लाइसेन्स छ। लाम्पार्ड प्रशिक्षकका रुपमा आफ्नो करियर सुरु गर्ने चाहना रहेको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.