पत्रपत्रिका र पर्यटकीय क्षेत्रसमेत बन्द

|

धनगढी : कोरोना भाइरस रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकारले ११ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रदेश सरकारको आज मंगलबार बसेको आकस्मिक बैठकले कोरोना भाइरसको सङ्क्रमण रोकथाम, जोखिम न्यूनीकरणसहित उपचार गर्न र यहाँका तराईका जिल्लामा रहेका सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा रहेको आइसोलेससन बेड निर्माणका लागि सो बजेट विनियोजन गर्ने निर्णय गरेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए। 

उनका अनुसार सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा कोरोनाको जोखिम न्यूनीकरणका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत उपमहानगरपालिकालाई पाँच लाख, नगरपालिकालाई चार लाख र गाउँपालिकालाई तीन लाख रुपैयाँका दरले उपलब्ध गराउने निर्णयसमेत प्रदेश सरकारले गरेको छ।  त्यस्तै  बैठकले सुदूरपश्चिम प्रदेशका सीमामा रोकिएका नेपालीको लगत संकलन गरेर सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारलाई बुझाउने र क्‍वारेन्टाइनमा राख्‍ने निर्णय गरेको छ। कोरोना भाइरसको विपद्लाई ध्यानमा राखी प्रदेश राहत कोष व्यवस्थापनमा मन्त्रीहरूले आफ्नो एक महिनाको पारिश्रमिक दिने निर्णय गरिएको पनि प्रमुख स्वकीय सचिव ओलीले जानकारी दिए।

पत्रपत्रिका र पर्यटकीय क्षेत्र बन्द 

सरकारले लक डाउन घोषणा गरेसँगै जिल्लाबाट प्रकाशन हुने  दैनिक तथा साप्ताहिक पत्रपत्रिका बन्द भएका छन्। पत्रिका प्रकाशनमा कागजको अभाव र  छापाखानाका कामदारसमेत क्‍वारेन्टाइनमा बस्‍नुपर्ने भएकाले महामारीको प्रभाव नरोकिँदासम्म पत्रपत्रिका बन्द गर्न आह्‍वान गरिएको नेपाल पत्रकार महासंघ डोटीका सचिव गणेश मौनीले जानकारी दिए। 

पत्रपत्रिकाको काम बन्द गरी घरमै क्‍वारेन्टाइनमा रहन र घरबाटै सामाजिक सञ्‍जाल तथा अनलाइनमार्फत समाचार सम्प्रेषण गर्न सचिव मौनीले सबै पत्रकारलाई अनुरोध गर्नुभएको छ। त्यस्तै रेडियोमा काम गर्नेले माइक्रोफोनमा बोल्दा मुखबाट निस्किएका थुकका छिटा माइक्रोफोनमा पर्ने र सोही माइक्रोफोन आफूतिर फर्काएर बोल्दा अन्तर्वार्ता लिने सञ्चारकर्मी पनि जोखिममा पर्न सक्ने भएकाले टेलिफोनबाटै सूचना लिएर समाचार सम्प्रेषण गर्न  महासंघ डोटीले सबैमा अनुरोध गरेको छ। त्यसैगरी जिल्लामा रहेका प्रमुख पर्यटकीय क्षेत्र खप्तड, बडीमालिका, कडीकेदारथानलगायत क्षेत्रमा जानसमेत निषेध गरिएको छ। 

कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखी आजदेखि सो पर्यटकीय क्षेत्रमा जान निषेध गरिएको खप्तड पर्यटन क्षेत्र विकास समितिले जनाएको छ। पछिल्लो समय खप्तडलगायत यहाँका प्रमुख पर्यटकीय स्थलहरुमा परिवारसहित जाने पर्यटकको संख्या बढ्न थालेपछि सम्भावित सङ्क्रमण रोक्न उक्त क्षेत्र जान निषेध गरिएको हो। केही समय पहिलेदेखि खप्तड क्षेत्रमा गएका पर्यटकलाई पनि लकडाउनको अवधिभरि खप्तडमै बस्‍न आग्रह गरिएको पर्यटन व्यवसायी तथा डोटी उद्योग वाणिज्य संघका महासचिव दीपकबहादुर खड्काले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.