|

बाँके : नेपाल–भारत दुवै देशले गरेको लक डाउनलाई छिचोल्दै ९६ नेपाली नेपाल प्रवेश गरेका छन्। भारतबाट नेपाल आउने नेपालीलाई भारतीय सुरक्षाकर्मीले कडाइ नगरेका कारण कामका लागि भारत गएकाहरू सजिलै नेपालगन्ज नाकासम्म आइपुग्ने गरेका छन्। 

भारतमा जारी जनता कफर््यूका बाबजुद गाडी र पैदल यात्रा गरेर ९६ जना नेपाली नेपालगन्ज नाकामा पुगेपछि यस्तो रहस्य खुलेको हो। भारतले आफ्नो देशका जनतालाई घरबाहिर ननिस्कन उर्दी जारी गरे पनि नेपालीलाई नेपालतर्फ आउन दिने गरेको भारतबाट नेपालगन्ज आएका बबई गाउँपालिका–५ बगरपुर दाङका दीपक विकले बताए।  

उनले भारतीय प्रहरीले मुल बाटो भएर जाँदा समस्या पर्ने भन्दै चोरबाटो देखाएको बताए। चोरबाटो भएर नेपाल प्रवेश गर्न खोज्दा नेपाल प्रहरीले नियन्त्रणमा लिएर जमुनहा ल्याएको बताए। ‘भारतीय प्रहरीले देखाएको बाटो आउन खोज्दा प्रहरीले नियन्त्रणमा लिएर दिनभर नाकामा राख्यो,’ उनले भने।  लक डाउन भएको जानकारी पाउँदापाउँदै नेपाल छिर्न खोज्दा दिनभर नेपालगन्ज नाकामा बसेका नेपालीलाई बेलुकी नेपाल आउन दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए।  

उनीहरु मंगलबार बिहान ३ बजे बसमार्फत रुपैडिया पुगेका थिए। ‘नेपाली भएको परिचय खुल्ने कागजात हेरेर नेपाल प्रवेश गर्न दिइएको छ,’ उनले भने।  उनले स्वास्थ्य परीक्षण गरेर नेपाल भित्र्याएको र क्वारेन्टाइनमा बस्ने सहमति सहित कागज गराएर सम्बन्धित जिल्लामा पठाएको बताए। ‘भारतबाट आएका नेपालीलाई सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाएर पठाएका छौँ,’ उनले भने। 

उनले नेपालगन्जमा क्वारेन्टाइनको व्यवस्था भइसकेकोले सोमबार भएको घटनाबाट पाठ सिकेर सुरक्षा व्यवस्था कडा पारिने बताए। क्वारेन्टाइनको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई जिम्मा दिएको पनि उनले बताए। सोमबार नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा स्थापना गरिएको अस्थायी क्वारेन्टाइनबाट दुई सय बढी भारतबाट आएका नेपाली पर्खाल नाघेर भागेका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.