|

बैतडी : बैतडीमा एकजना ५८ वर्षीया बृद्धालाई मंगलबार जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।

कोरोना भाइरस जस्तै सम्भावित लक्षण देखा परेपछि दशरथचन्द नगरपालिका ७ की बृद्धालाई आइसोलेसनमा राखेर उपचार थालिएको जिल्ला अस्पताल बैतडीका डाक्टर बसन्तराज जोशीले जानकारी दिए।

उनले मंगलबार बिरामी भएर अस्पताल आएकी बृद्धालाई चेकजाँच गर्दा १००.४ डिग्री फरेनहाइट ज्वरो देखा परेपछि उनलाई आइसोलेसनमा राखिएको बताए। ५ दिनदेखि बिरामी भएर अस्पताल आएकी बृद्धालाई ज्वरो, खोकी, श्वासप्रश्वास समस्या देखिएकोले अस्पतालले सावधानीपूर्वक कोरोना सम्भावित हुनसक्ने भन्दा भर्ना गरेको हो।

आइसोलेसन भर्ना भएकी बृद्धा १० दिन अगाडि कैलालीको सुख्खडबाट बैतडी आएको बुझिएको छ। उनलाई यसअघि दमको समस्या पनि रहेको बताइएको छ।   बृद्धाको नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइने तयारी भएको अस्पतालले जनाएको छ। यसैबीच आइसोलेसन वार्डमा भर्ना भएका बृद्धाका परिवारलाई अलग अलग कोठामा तथा क्वारेन्टाइनमा राखिएको छ।

जनप्रतिनिधि र स्वास्थ्यकर्मीको सहयोगमा उनीहरूलाई अलग्गै राखिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले बताए। 

दोगडा धाममा शान्ति यज्ञ सञ्चालन हुने 

बैतडीको दोगडाकेदारमा रहेको प्रसिद्ध दोगडा धाममा भोलिदेखि शान्ति यज्ञ सञ्चालन हुने भएको छ। दोगडाधाम संरक्षण समितिको आयोजना तथा दोगडाकेदार गाउँपालिकाको सहयोगमा उक्त यज्ञ सञ्चालन हुन लागेको हो।

विश्वव्यापी फैलिएको कोरोना भाइरस नेपाल तथा यस क्षेत्रमा नभित्रियोस् भन्ने कामनासहित शान्ति यज्ञ सञ्चालन हुन लागेको समितिका सल्लाहकार दिनेश भट्टले जानकारी दिए। भोलिदेखि १४ गतेसम्म सञ्चालन हुने यज्ञमा १०० ब्राह्मणद्वारा हवन गर्ने जनाइएको छ। कोरोना भाइरस नेपाल भित्रियो भने उपचार सम्भाव नभएकोले भगवानप्रति आस्था राख्दै यज्ञ सञ्चालन हुने भएको हो। 

पाटनमा आइसोलेशन केन्द्र स्थापना

बैतडीको पाटन नगरपालिकाले ३४ बेडका ४ छुट्टाछुट्टै आइसोलेसन केन्द्र निर्माण गरेको छ। पाटन नगरपालिका ६ मा रहेको विपद व्यवस्थापन समितिको भवन, वडा नं ८ स्थित सिद्धदीप आधारभूत विद्यालय , वडा नं ४ भुमेश्वरमा रहेको भूमेश्वर माविमा १०/१० बेडको आइसोलेसन केन्द्र निर्माण गरिएका  हुन्। यस्तै वडा नं ३ को सिगास मावि गुरुडामा पनि ४ मा बेडको आइसोलेसन केन्द्र निर्माण गरिएको स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए।

कोरोना सम्भावित लक्षण देखिएका बिरामीलाई निगरानीमा राखी तत्कालका लागि उपचार गर्नको लागि वार्डहरूको स्थापना गरिएको उनले बताए। पाटन नगरपालिकाले यसअघि पाटन, खोडपे र अनारखोलीमा हेल्थ डेस्क स्थापना समेत गरेको थियो।  

अनेरास्ववियूको  सचेतनामूलक कार्यक्रम 

बिश्वमा महामारिको रुपमा फैलिरहेको कोरोना भाइरसविरुद्ध अनेरास्ववियू बैतडीले सचेतनामूलक कार्यक्रम चलाइएको अनेरास्ववियू बैतडीका सह संयोजक सन्तोस रानाले जानकारी दिए। 

सचेतनामूलक कार्यक्रमसँगै डिलासैनी गाउँपालिकाले उपलब्ध गराएको १३०० मास्क वितरणमा पनि सहयोग गरिएको सह संयोजक रानाले जानकारी दिए। उनले यस्तो अवस्थामा कालोबजारी बढ्न सक्ने भन्दै यस्तो गरेको भेटिएमा अनेरास्ववियूले कडा प्रतिकार गर्ने पनि जनाए। साथै जिल्लाभरिका अनेरास्ववियू आबद्ध विद्यार्थीलाई संयमित भएर आवश्यकताअनुसार स्वयंसेवकको रुपमा खटिन पनि रानाले आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.