|

पर्वत : सहरी क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबारे सचेतना फैलाउन सजिलो छ। सतर्कताका सामग्रीहरू छापिएका पत्रपत्रिका, इन्टरनेटको पहुँच, सतर्कता बढाउने सामाजिक समूह र सरकारी निकायहरू पनि विशेषतः सहरमा केन्द्रित छन्।

गाउँमा जति पनि सचेतनाका पैmलाउने काम भइरहेका छन्, तिनमा सहरबाट ‘सेल्फ क्वारेन्टाइन’का लागि गाउँमा फर्किएका जागिरे र विद्यार्थीहरू छन्। त्यसबाहेक एफएम रेडियोबाट प्रसारित जानकारीहरू छन्। देशलाई ‘लक डाउन’ गरिएपछि सहरमा बस्दै आएकाहरू धेरै गाउँमा फर्किएका छन्। जसका कारण सहर सुनसान बनिरहेको बेलामा गाउँहरूमा भने दसैँको जस्तै चहलपहल छ। चहलपहल जति बढेको छ, गाउँहरूमा जोखिम पनि उत्तिकै छ। 

यही जोखिमलाई कम गर्न, गाउँगाउँमा सतर्कताबारे जानकारी दिन परम्परागत रूपमा प्रयोग हुँदै आएका सञ्चारका संवाहक कटुवालहरू उपयोगी बनेका छन्। 

फलेवास नगरपालिका–३ शंकरपोखरीका यामबहादुर परियार बिहान सबेरैदेखि कर्नाल फुक्दै ‘स्पिकर’मा चर्कोसँग बोलेर भन्दै थिए, ‘लौ है गाउँगाउँमा कोरोनाको जोखिम बढेको छ, तपाईँको गाउँ टोलमा विदेश र सहरबाट कोही आएको भए उहाँको स्वास्थ्यबारे ध्यान दिनुहोला, वडा कार्यालयमा जानकारी गराउनुहोला, तपाईँहरू पनि यो बेलामा घरबाहिर ननिस्कनुहोला, भीड नगर्नुहोला, अटेर गर्नुभयो भने प्रहरी आएर कारबाही गर्नेछ।’ यस्तै, उनले पटकपटक हात धुन, दुई जनाबीच कुरा गर्दा दूरी कायम गर्न, खोक्दा र हाँछ्यु गर्दा कपडाले नाक मुख ढाक्न, हात नमिलाउन अनुरोध गर्दै थिए।

वडाध्यक्ष अर्जुनबहादुर कार्कीले गाउँमा सचेतना फैलाउन वर्षौँदेखि प्रयोग हुँदै आएका कटुवालहरू उपयोगी हुने भएकाले वडाले पनि कटुवाललाई घोक हाल्न लगाएर सचेतना फैलाइरहेको बताए। ‘सहरमा बस्नेहरू त बुझेका होलान् तर घर गाउँमा रहेका ज्येष्ठ नागरिकहरूलाई यसबारे थाहा पाउन कठिन हुने भएकाले कटुवाललाई लगाएर घोक हाल्न लगाएका छौँ,’ उनले भने, ‘कटुवाल प्रत्येक टोलटोलमा पुगेर कोरोनाको संक्रमणबाट कसरी सुरक्षित हुन सकिन्छ भनेर घोक हाल्छन्। हामीहरूले उनले बोल्नुपर्ने कुराहरू प्रिन्ट हानेर दिएका छौँ।’

शंकरपोखरी जस्तै फलेवासका अन्य वडाहरूमा पनि कटुवालहरूलाई गाउँगाउँमा पठाएर कोभिड–१९ को बारे जानकारी दिने काम भइरहेको फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले बताए। हरेक टोलहरूमा माइकिङ गराउनेदेखि पालिकाले हरेक घरघरमा हात धुनका लागि साबुन उपलब्ध गराइरहेको उनले बताए।

‘हरेक टोलमा माइकिङ गराइरहेका छौँ, हात धुनका लागि घर घरमा साबुन पठाइरहेका छौँ। हामी यसको सतर्कताका लागि हर सम्भव कामहरू गरिरहेका छौँ,’ उनले भने, ‘पालिकाले विदेशबाट गाउँ फर्किएका सबैलाई क्वारेन्टाइनमा राखेको छ, बाहिरबाट गाउँमा भित्रिएकाहरूको खोजी गरेर नामावली सङ्कलन पनि गरिरहेका छौँ।’

जिल्लाका अन्य पालिकाहरूले पनि सम्भव भएसम्म कटुवालहरूको प्रयोग गरेर गाउँहरूमा माइकिङ गराइरहेको र कटुवाल नभएका ठाउँमा पनि स्थानीय तहको संयोजनमा स्पिकर प्रयोग गरेर कोरोना संक्रमण हुँदा देखिने लक्षण र यसबाट बच्न सकिने उपायबारे ‘रेकर्डेड’ आवाजहरू बजाउँदै सतर्कताको प्रयास भइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.