|

नेपालगञ्ज : मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पतालमा सेवा लिनेको संख्या १० गुणाले वृद्धि भएको छ। भर्ना हुने बिरामीलाई अन्य अस्पतालमा ‘रेफर’ नगरी आफैंले उपचार गर्न थालेपछि अस्पतालमा भर्ना हुनेको संख्या बढेको हो । 

आर्थिक वर्ष २०७२\०७३ मा २ सय १२ जना बहालवाला प्रहरी भर्ना भई उपचार सेवा लिएकोमा आर्थिक वर्ष २०७३\०७४ को ६ महिनामा १ हजार १ सय ९९ जना बिरामीले सेवा लिएको मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पतालका प्रमुख प्रहरी निरीक्षक डा.रोशनकुमार निरालाले जानकारी दिए । 

अस्पतालले ओपिडी, आकस्मिक सेवा, बेड भर्ना, प्याथालोजी, एक्स–रे, आइनर ओटी, फिजियोथेरापी र डेण्टल सेवा दिँदै आएको छ। उनले बहालवाला प्रहरी, उनीहरूका परिवार, पूर्व प्रहरी र पूर्व प्रहरीका परिवारलाई निःशुल्क सेवा दिँदै आएको बताए। ‘विभिन्न डायलोसिससहितको गुणस्तरीय विशेषज्ञ सेवा प्रदान गर्न थालेपछि बिरामीको विश्वास बढेको छ’, डा.निरालाले भने । 

आर्थिक वर्ष २०७१\०७२ मा ३ हजार ६ सय ६१ जनाले ओपीडी सेवा लिएकोमा ०७२\०७३ मा ५ हजार ५ सय ५८ जनाले ओपीडी सेवा लिएको अस्पतालको तथ्यांकमा उल्लेख छ। ०७३\०७४ को ६ महिनामा मात्र २ हजार ९ सय ५० जना बहालवाला प्रहरी, प्रहरी परिवार र पूर्व प्रहरीले ओपीडी सेवा लिएका थिए। डायलोसिस सेवासहित फिजियोथेरापी, डेन्टलका साथै इमरजेन्सी सेवालाई समेत प्रभावकारी बनाएपछि सेवा लिन आउने प्रहरी, उनीहरुका परिवार र पूर्व प्रहरी आउन थालेका छन्। 

फोक्सोमा पानी जमेर बिरामी भएर उपचारपछि कार्यक्षेत्र फर्किदै गरेका इलाका प्रहरी कार्यालय मोतिपुर वर्दियामा कार्यरत प्रहरी जवान अविनाश रोकाले बताए। उनले अस्पतालले पहिलेको दाँजोमा विशेषज्ञ सहितको गुणस्तरीय सेवा प्रदान गर्न थालेको बताए। ‘पहिलेको भन्दा उपचार सेवामा धेरै सुधार भएको छ, बाहिरको अस्पताल जस्तै सेवा पाइने भएकोले धेरैजसो प्रहरी यहीँ आउन थालेका छन्,’ उनले भने। 

प्रहरीको अस्पताल भएकोले हेरचाह र स्याहार सुसार राम्रो पाउने गरेको ढाडको हड्डी भाचिएर उपचारका लागि प्रहरी अस्पताल आएका इलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी सहायक निरीक्षक छोटेलाल चौधरीले बताए। 

एक्सरे, प्याथालोजी र फिजियोथेरापी सेवा प्रदान गरे पनि अस्पतालले भिडियो एक्स–रे सेवा प्रदान गर्न सकेको छैन। भिडियो एक्स–रे मेसिन भएपनि दक्ष जनशक्ति नभएकै कारण प्रयोगमा ल्याउन नसकेको अस्पताल प्रमुख प्रहरी निरीक्षक डा. निरालाले बताए। सरकारले सर्वसाधारणका लागि प्रहरी अस्पताल खुल्ला गर्ने भएको छ तर, सर्वसाधारणका लागि खुल्ला गर्न जनशक्ति, उपकरण र शय्या थप गर्नुपर्ने उनको भनाइ छ।   

 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • आगामि दिन भन्दा अहिले बिरामिले पाउने सेबामा धेरै सहज भइरहेको हुदा मेरो तर्फ धन्वात छ र थप सर्बसाधार जनताको लागी सेवा सुविधा दिने हो भने दक्षजनसक्ति र सोरत साधान थप गर्नको लागि संगठन र सरकार धेयन जान अति आब्सयक छ |