बाँके : कोरोना संक्रमित युवतीसँगै कतार एयरलायन्सको विमानमा आएका बाँकेका तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ। फ्रान्सबाट कतार एयरलायन्समा आएकी युवतीमा कोरोनाको संक्रमण फेला परेपछि उक्त विमानमा सवार बाँकेका चार जनाको खोजी गरिएको थियो।
खोजी गर्ने क्रममा बनकटवा, पिप्रहवा र साइगाउँबाट खोजतलास गरी नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा राखिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए। उनले अध्यागमन विभाग हुँदै गृह मन्त्रालयले पठाएको सूचनाको आधारमा तीन जनालाई बाँकेमा फेला पारेको बताए।
चैत ४ मा फ्रान्सबाट कतार हुँदै आएको विमानमा सवार १९ वर्षीया किशोरीमा कोरोना संक्रमण देखिएपछि सवार सबैको खोजी थालिएको थियो। ‘फेला परेका तीनै जनालाई नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ,’ उनले भने।
उनले केन्द्रबाट आएको नागरिकता नम्बर भिडाउँदा एक जनाको रेकर्ड जिल्ला प्रशासन कार्यालय, बाँकेमा फेला पार्न नसकेको बताए। बाँकेमा फेला पार्न नसकेपछि खोजीका लागि जिल्ला प्रशासन, बर्दिया, र बर्दिया प्रहरीलाई आग्रह गरिएको उनले बताए।
‘आशंकाको आधारमा खोजतलासका लागि बर्दियालाई आग्रह गरी पठाइएको छ,’ उनले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।