केही सर्वसाधारणको हेल्चेक्य्राइँले जोखिम निम्त्याउँदै

|
फाइल फोटो

काठमाडौँ : विश्वभर कोरोनाले मानवीय हताहती निम्त्याइरहँदा नेपालमा भने संकट र अप्ठ्यारोका बेला कृतिम अभाव र कालोबजारी गरी जनता लुट्न पल्केका व्यापारी/व्यवसायीहरूलाई दशैं आएजस्तो भएको छ। भूकम्प र नाकाबन्दीका बेला पनि व्यापारीहरूले यस्तै हर्कत देखाएका थिए। चोकचोकमा पसल थापेर अपराध गरिरहेका यस्ता बदमासहरूलाई कारबाहीको गर्नुको साटो सरकारले संरक्षण गर्ने गरेको छ। 

काठमाडौंलगायत देशका प्रमुख शहर र ग्रामिण क्षेत्रका हटिया, देउराली र व्यापारिक केन्द्रहरूमा यतिखेर दैनिक अत्यावश्यक मानिने खाद्यवस्तु र सामग्रीहरूको भाउ छोइसक्नु छैन।

त्यसो त अहिले पनि सरकारले कोरोना संक्रमण फैलने त्रासले भारत र चीनसँगका सबै नाका बन्द गरिदिएको छ। मानिसहरूको ओहोरदोहोर हुन नदिन नाका बन्द गरिएपनि आवश्यक सामग्री ढुवानीका लागि भारतसँगका केही नाका भने खुल्लै राखिएको छ। तर पनि बजारमा अत्यावश्यक वस्तुको कृतिम अभाव र कालाबजारी बढिरहेको छ। सरकारले भने बजारमा दैनिक उपभोग्य वस्तुको कुनै अभाव नभएको र हुन नदिने जिकिर गरिरहेको छ। 

नेपालको स्थिति :

कोरोनाको त्रास बढ्दै गएपछि शहरी क्षेत्रमा बस्ने लाखौं मानिसहरू गाउँ पसेका छन्‌। संघीय राजधानी काठमाडौंबाट मात्रै करिब १० लाख मानिसहरू बाहिरिएको  अनुमान ट्राफिक प्रहरीले गरेको छ। छिमेकी मुलुक भारतमा काम गर्न गएका लाखौं मानिसहरू पनि त्यहाँ कोरोना संक्रमणका मामिला भेटिएपछि स्वेदश फर्किएका छन्‌।

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले मंंगलबार बिहानबाट एक साताका लागि घोषणा गरेको ‘'लकडाउन'’को आज चौथो दिन : शहरी क्षेत्रका मानिसहरूको दिनचर्या कोठा र घरभित्रै सीमित बनेको छ भने गाउँ/देहातमा पनि साविकको मानवीय गतिविधि देखिएको छैन।

शुरूमा संक्रमणबारे खासै चिन्तित नदेखिएको सरकार र सर्वसाधारण चीन र इटलीमा मानवीय हताहती बढेपछि एकाएक आत्तिए। नेपालमा पहिलोपटक भेटिएका संक्रमित उपचार पाएर निको भई घर फर्किएपनि क्रमश : दोस्रा र तेस्रा संक्रमित भेटिएपछि स्थितिलाई नियन्त्रणमा लिन सरकारले ''लकडाउन'' नै घोषणा गरेको हो।

आफ्नै स्वास्थ्यका लागि गरिएकी निर्णय भएकाले हुनसक्छ : अधिकांश नागरिकले यसको पालना गरिरहेका छन्‌। तर हुल्याहा स्वाभाव देखाउने र हेल्चक्याईं गर्ने केही मानिसहरू ''लकडाउन'' को पर्वाह नगरी घर बाहिर निस्किरहेकाले संक्रमणको जोखिम बढिरहेको छ। मानिसबाट मानिसमा सर्ने (ह्युमन ट्रान्समिटेड) संक्रमण भएकाले यसप्रति नागरिक थप सचेत हुन आवश्यक देखिएको छ। 

सबै संक्रमित 'आयातित'

नेपालमा अहिलेसम्म तीन जना कोरोना संक्रमित भेटिएका छन्‌। गएको सोमबार फ्रान्सबाट कतार हुँदै आएकी एक युवतीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको थियो। त्यसअघि भेटिएका स‌ंक्रमितको उपचार गर्न सफल भइसकेकाले ढुक्क देखिएको नेपाल पुन: एकाएक नयाँ आयातित संक्रमित (अन्य देशबाटै संक्रमित भएका आएका मानिस) भेटिएपछि ''लकडाउन'' गर्नुपर्ने अवस्थामा पुग्यो।

त्यसपछि पनि अर्का एक जना नयाँ संक्रमित भेटिइसकेका छन्‌। वैदेशिक रोजगारीको क्रममा दुबईबाट फर्किएका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको हो उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पतालको अलग कक्ष (आइसोलेसन वार्ड) मा राखि उपचार गरिँदैछ। 

फ्रान्सबाट चैत ४ गते नेपाल आएकी युवतीसँग एउटै जहाजमा यात्रा गरेकाहरूको पनि पहिचान गरी अहिले खोजबिन भइरहेको छ। युवतीको परिवारका सबै सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ भने उनीहरूको परीक्षण र उपचार गर्न डाक्टरसहितको टोली देशभर परिचालन गरिएको छ। 

नेपालमा अहिलेसम्‍म जति संक्रमित भेटिएका छन‌्‌, ती सबै विदेशबाट आएको खुलेको छ। अर्थात नेपालमै बसिरहेका नागरिकहरू संक्रमित भएको अहिलेसम्‍म भेटिएको छैन। त्यसैले आयातित संक्रमण फैलन नदिन सरकारले विदेशबाट आउने सबैलाई १४ दिनसम्‍म क्वारेन्टाइनमा अनिवार्य बस्नपर्ने नियम लागू गरेको छ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले नेपालमा यतिखेर संक्रमण फैलन नदिन विभिन्‍न निर्णय गर्दै कार्यान्वयनमा ल्याइरहेको छ। ''लकडाउन'' पनि यी कदममध्येकै एक हो। 

यतिखेर सर्वसाधारणलाई अतिआवश्यक अवस्थामा बाहेक आवतजावतमा प्रतिबन्ध लगाइएको छ। अत्यावश्यकका औषधि उपचार र खाद्यवस्तु खरिदका लागि मात्र सर्वसाधारण घर बाहिर निस्कन पाउँछन्‌। संक्रमण फैलन नदिन चालिएको यो कदम कार्यान्वयनमा सरकारले भन्दा पनि नागरिकले नै बढी जिम्मेवारी पालना गर्नुपर्ने हुन्छ। 

भूकम्प र नाकाबन्दीको झ-झल्लो

कोरोना संक्रमण फैलन सक्नै भन्दै 'लकडाउन' गरिएपछि यतिखेर नागरिकले २०७२ सालको विनाशकारी भूकम्प र भारतले गरेको नाकाबन्दी बेला खेपेको सकस र अप्ठ्यारो महशुस गरिरहेका छन्‌। संक्रमण फैलन नदिन सरकारले अनूमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने बाहेकका सबै सार्वजनिक/निजी यात्रुवाहक साधन सञ्चालनमा पूर्ण रोक लगाएको छ। 

साथै, एकै ठाउँमा २५ जनाभन्दा धेरै मानिस भेला हुन नपाउने, हवाई सेवा बन्द गर्ने, लामो दुरीमा चल्ने सार्वजनिक यातायातका साधन बन्द गर्ने, सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, डान्सबार, क्लब, म्युजियम, जिम, पौडी पोखरी र अन्य मनोरञ्जनस्थल पनि बन्द गर्ने निर्णय लिएको थियो। तर एकाएक नयाँ संक्रमित भेटिएपछि उपप्रधानमन्त्री नेतृत्वको समितिले 'लकडाउन' को निर्णय गरेको हो।

वि.सं. २०७२ सालमा मच्चिएको विनाशकारी भूकम्पीय धक्काका कारण नेपालमा झण्डै नौ हजार मानिसले ज्यान गुमाएका थिए। यो सामग्री तयार पार्दासम्म  कोरोना संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या २४ हजार ८७ पुगिसकेको छ। पाँच लाख ३२ हजार दुई सय २४ जनामा भाइरस संक्रमण भएको छ। १९ हजार तीनसय ५७ जनाको अवस्था चिन्ताजनक छ। संक्रमितमध्ये अहिलेसम्‍म एकलाख २४ हजार तीनसय २६ जनाको उपचार गरिएको छ।

ज्यान गुमाउने र संक्रमितको संख्या बढ्दै जाँदा विकसित भनिएका मुलुकहरूले समेत यो महामारी नियन्त्रणमा असफलता ब्यहोरिरहेको देखिन्छ। इटली, स्पेन र फ्रान्सजस्ता मुलुकहरूमा मानवीय हताहती बढिरहेको छ भने मृतकको संख्या उसैगरी वृद्धि भइरहेको छ। संसारकै सबैभन्दा विकसित र स्रोत/शक्तिसम्पन्‍न भनिएको अमेरिकामा अहिलेसम्‍म १३ सय मानिसले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन्‌। त्यहाँ संक्रमित हुनेको संख्या विश्वका अन्य मूलुकहरूमध्ये सबैभन्दा धेरै अर्थात ८५ हजार पाँच सय ९४ पुगिसकेको छ।

सचेत रहन आग्रह

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट बच्न सचेत रहन आग्रह गरेका छ। कोरोनाको संक्रमणबाट बच्न आफैँले सावधानी अपनाएको खण्डमा बच्न सकिने स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। 

‘आफैंले सावधानी अपनाएको खण्डमा कोरोनाको संक्रमणबाट बच्न सकिन्छ,’ उनले भने, ‘हाम्रो सानो असावधानीले अरूमा समेत संक्रमण फैलन सक्छ, त्यसैले सावधानी अपनाउँदै आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिन आवश्यक हुन्छ।’

नियम लत्याउँदै सर्वसाधारण

सरकारले 'लकडाउन'का अत्यावश्यक बाहेकका क्रियाकलाप नगर्न आग्रह गरिरहेको छ। तर, कतिपयले सरकारी नियमको पालनामा चासो देखाएका छैनन्। त्यसो त सरकारले आफैँले आफ्नो नियमको पालना नगरेको पनि देखिएको छ। गत सोमबार स्वास्थ्य मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा २५ जनाभन्दा धेरैको सहभागीता थियो, जुन गतिविधिको चौतर्फी आलोचना भयो।

सरकारी नियम नमान्नेलाई कारबाही गर्ने बताइरहँदा प्रहरीले चितवनमा 'लकडाउन' अवज्ञा गर्ने केहीलाई पक्राउ गरेको छ। संघीय राजधानी लगायतका मुख्य शहर पूर्ण रुपमा बन्द भएपनि साना बजारहरुमा अझै पसल र व्यवसाय सञ्चालन भइरहेका छन्। नियम नमान्नेलाई संक्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाही गर्ने चेतावनी सरकारले दिइरहेको छ।

'लकडाउन'को बेलामा सरकारी कार्यालय सञ्चालन गर्न आवश्यक पर्ने कर्मचारी, औषधि तथा स्वास्थ्य उपकरण, खाद्य वस्तु, खानेपानी, दुध, इन्धन उत्पादन गर्ने उद्योग बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीलाई बिदा दिइएको छ। सरकारले नियम नमान्नेलाई स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम सजाय गर्ने बताइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.