|

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले लकडाउनका बेला नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्न आग्रह गरेको छ। आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्न र दैनिक उपभोग्य वस्तुका आपूर्ति व्यवस्थित गर्न आग्रह गरेको हो।

नेपालमा समेत कोरोनाको संक्रमण फैलिएपछि उत्पन्न विषम परिस्थिति नियन्त्रणका लागि सरकारको पछिल्ला कदमलाई सकारात्मक रुपमा लिँदै आयोगले वर्तमान जटिल परिस्थितिमा नागरिकको स्वास्थ्यप्रति जिम्मेवार हुन सरकारको प्रमुख दायित्व रहेको स्मरण गराएको छ।

आयोगले लकडाउनको अवस्थामा घरमै रहेका अपांग, बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अतिविपन्नहरुको लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामग्रीको अभाव हुन नदिन पनि सरकारलाई भनेको छ।

कोरोना भाइरस संक्रमणको आशंका गरिएका तथा संक्रमितहरुको उपचारमा खटिएका सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी तथा तिनका परिवारको आवश्यक स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न पनि सरकारको ध्यानाकर्षण गरिएको छ। आयोगले लकडाउनको पालना गरी घरभित्रै रहन आमनागरिकलाई आह्वान गर्दै अवज्ञा गर्नेलाई मानवोचित व्यवहारका साथ कानुनबमोजिम कारबाही गर्न आग्रह गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.