|

बागलुङ : कोरोना भाइरस (कोभिड–१९) को त्रास फैलिएसँगै बागलुङका दुग्ध उत्पादक सहकारी मार्फत स्थानीय किसानबाट उत्पादन र संकलन हुदै आएको आएको दूध बजार पठाउने काम ठप्प भएको छ।

जिल्लाको दक्षिणमा रहेका पाँचवटा दुग्ध उत्पादक सहकारीले दैनिक उत्पादन गर्दै आएको एक हजार पाँचसय लिटर दूध किसानकै घरमा रोकिएको हो। नेपाल सरकारले देश नै लकडाउन घोषणा गरेसँगै दूधको ढुवानी रोकिएको हो। सवारी साधनमार्फत ढुवानी गरी सदरमुकाम बागलुङ बजार र पर्वतको सदरमुकाम कुश्मा बजारमा बिक्री हुँदै आएको दूध किसानकै घरमा रोकिएको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्था बागलुङ नगरपालिका १२ अमलाचौरका सचिव रुद्रनाथ शर्माले बताए।

अमलाचौरको कालीगण्डकी, नवनमुना, बानपा–१४ को नारायणस्थान, जैमिनी नगरपालिकाको पल्लोपाखा र जैमिनी दुग्ध उत्पादक सहकारी संस्थाले उक्त दूध उत्पादन गर्दै आएका थिए। ‘कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि सवारी चालक पनि डराए’ शर्माले भने, ‘हामीले पनि गर्नैपर्छ भन्न सकेनौं।’

त्रास कम हुने समयसम्म किसानलाई घरमै खुवा (कुराउनी), पनीरलगायतका उत्पादन गर्न भनेको उनले बताए। दूध उत्पादन गर्दै आएका किसानले भने गाइभैंसीलाई नै दूध खुवाउनु पर्ने अवस्था आएको बताएका छन्। पल्लोपाखा, नवनमुना, नारायणस्थान र कालीगण्डकीले एकमुष्ट दूध संकलन गरेर बिक्री गर्दै आएका थिए भने जैमिनीले अलग्गै बजार पठाउने गरेको थियो।

चार सहकारीले प्रत्येक दिन उत्पादन गरेको १ हजार लिटर दूध र जैमिनीले उत्पादन गर्ने ५ सय लिटर दूध गाउँमै रोकिएको हो। दूध रोकिएसँगै किसानले दाना चापटको प्रबन्ध गर्न समेत कठिन हुने बताएका छन्।

‘दूध बिक्री हुन्थ्यो र पो दाना खुवाउन सकिन्थ्यो’ किसान क्षमकला शर्माले भनिन्, ‘दूध नबिक्दा नत दाना किन्ने स्रोत हुन्छ। न दाना ल्याउने सवारी नै चलेका छन्।’  व्यवसायीक रुपमा दूधको उत्पादन थालेका किसानलाई ऋणको किस्ता तिर्न समेत कठिन हुने उनीहरूको गुनासो छ।

‘ऋण खोजी गाई किनेर पालिएको छ। दूध बिके किस्ता तिर्ने स्रोत बन्छ’ अर्का किसान हेमराज शर्माले भने, ‘गाइभैंसीलाई खुवाएको दूधबाट के प्रतिफलको आशा गर्नु।’ अत्यावश्यक वस्तु भएकाले आवश्यक सुरक्षाको प्रबन्ध गरेर दूध ढुवानी रोक्न नहुने उनको धारणा छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.