|

भद्रपुर : लकडाउनको दोस्रो दिन (हिजो) बुधबार बिहान जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले आफ्नो फेसबुक एकाउन्टमा कोरोना भाइरसबाट बच्‍न एउटा सन्देशमूलक तस्बिर पोस्ट गरे। उक्त तस्बिरमा कोरोना भाइरसबाट बच्‍न दूरी कायम गरिएको देखाइएको छ।   

दक्षिणी भारतमा खाद्यान्‍न पसलमा किनमेल गर्न जाने उपभोक्तालाई दूरी कायम गर्ने उद्देश्यले त्यहाँका पसल अगाडि गोलो घेरा बनाएको तस्बिर एसपी कोइरालाले पोस्ट गरेका थिए। साथै उनले हाम्रा व्यवसायीले पनि यस्तो लागू गरे कसो होला भनी जिज्ञासा राखेका थिए। 

एसपीले कोइरालाले कोरोनाविरुद्ध जनचेतनामूलक सन्देश तस्बिर हालेलगतै बिहीबारदेखि जिल्लाका विभिन्‍न बजार क्षेत्रमा औषधि, खाद्यान्‍न, सागसब्जी पसल अगाडि व्यवसायीले गोलो घेरा बनाएर उपभोक्तासँग सामाजिक दूरी कायम गर्न थालेका छन्। झापाको बिर्तामोड र भद्रपुरका व्ययवासीले अहिले धमाधम आफ्नो पसल अगाडि गोलो घेरा बनाउन थालेका छन्। प्रहरीले पनि व्यवसायीहरूलाई सहयोग गर्न थालेको पाइएको छ। 

चेम्बर अफ कमर्स झापाका संस्थापक अध्यक्ष सन्तोष अग्रवालका अनुसार सन्तोष भेराइटीसहित किराना पसलहरूमा, प्रदीप फार्मेसीसहित औषधि पसलहरूमा र बुधबारे हटियाका सब्जी पसलहरूमा क्रेता र बिक्रेताको दूरी कायम राख्न संकेतहरू बनाउन थालेको बताए। इलाका प्रहरी कार्यालय अनारमनिका डिएएसपी मुकुन्द रिजालसहितको उपस्थितिमा सामाजिक दूरी कायम राख्‍ने संकेत बनाइएको अध्यक्ष अग्रवालले बताए।

हरेक व्यक्ति कम्तीमा एक मिटरको दूरीमा रहेर व्यावसायिक कारोबार गर्नुपर्ने अवस्थामा आएको बताउँदै उनले भने, ‘कोरोना भाइरसका संक्रमण कीटाणु मानव शरीरबाटै मानव सर्न भएकोले यस्तो दूरी अपनाइएको हो।’ 

यता वडा प्रहरी कार्यालय भद्रपुरले पनि नगरमा सामाजिक दूरी कायम राख्‍न नगरका व्यवसायीलाई अनुरोध गरिसकेका छन्। व्यवसायीहरूले आआफ्नो पसल अगाडि कम्तीमा ६ फिटको दुरी कायम राख्ने गरी गोलो घेरा बनाउन आग्रह गरिसकेको वडाका प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिए।

पसल अगाडि दूरीअंकित घेरामा बसेर उपभोक्ताले किनमेल गरे भिडभाड पनि नहुने र एक आपसबाट कोरोना भाइरस पनि नसर्ने यो अभ्यास अहिलेको परिस्थितिमा आवश्यक रहेको उनले बताए। यता प्रहरी कार्यालय झापाका एसपी कोइरालाका अनुसार पसल अगाडी दूरी कायम राख्‍न जिल्लाभरिका व्ययवासीसँग छलफल भइरहेको बताए।

बिर्तामोड र भद्रपुरमा सुरु भइसकेको बताउँदै उनले भने, ‘जिल्लाका अन्य बजारहरूमा पनि यो दूरी कायम राख्‍ने अभ्यास थालिनेछ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.