'नेपालका विदेशीलाई सरकारले रक्षा गर्छ त्यसैले विदेशमा रहेका नेपालीकाे चिन्ता लिनु आवश्यक छैन'

|
फाइल फाेटाे

काठमाडाैं : सरकारले कोरोना भाइरसबाट संक्रमितको उपचार, आपूर्ति र शान्ति सुरक्षामा केन्द्रित भएर काम गरिरहेको स्पष्ट पारेको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलले बिहीबार सञ्‍चारकर्मीसँग कुरा गर्दे संक्रमितको उपचार पहिलो प्राथमिकता भएकाले सोही अनुसार सरकारले काम गरिरहेको स्पष्ट पारेका छन्।  

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले आपूर्ति व्यवस्थापन सहज बनाउनुका साथै शान्ति सुरक्षा प्रदान गर्ने विषयमा सरकार गम्भीर भएर लागिपरेको बताए।  संक्रमितको उपचार, बिरामीलाई राख्ने आईसोलेसन लगायत कामका लागि आवश्यक मेडिकल सामग्री अभाव भएकाले तत्काल प्रभावकारी ढंगले उपचार गर्न नसकिए पनि सरकारले छिट्टै सामान आपूर्ति गर्ने विश्वास दिलाए।

स्वास्थ्यकर्मीका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री पिपिई, परीक्षण किटलगायत स्वास्थ्य आयातमा देखिएका प्रक्रियागत जटिलताको अन्त्य गर्दै सरकारले छिट्टै सामान ल्याउने उनले बताए। 

‘उपयुक्त साधनहरु थिएनन्। ल्याउनुपर्ने थियो। हाम्रो देशमा मात्रै अभाव होइन। दुनियाँभर अभाव भएको बेलामा उपचारमा देखापरेका समस्या समाधान गर्नतर्फ सरकार लागेको छ। प्रक्रियागत जटिलता छन्। तिनलाई तोडेर हामी चाँडै सामान ल्याउँछौं। त्यसपछि ती सामान प्रदेश तहका हस्पिटलहरुमा पनि पुर्‍याउँछौं।’
उनले बन्दको अवस्थामा दैनिक उपभोग्य सामान, औषधि, खाद्यान्न, तरकारी, दूधलगायत अत्यावश्यक सामग्रीका पसल खुला हुने स्पष्ट पारे।

मुलुककै राष्ट्रिय संकट भएको र सरकार वा पार्टीका लागि मात्रै नभएर आम नागरिककै संकट भएकाले सबैलाई सहयोग गर्न आग्रह गरे। नेपालमा बस्ने विदेशी नागरिकको रक्षा नेपाल सरकारले गर्ने भएकाले विदेशमा बसेका नेपालीहरुको पनि सम्बन्धित देशका सरकारले रक्षा गर्ने भएकाले मुलुकबाहिर बसेका नेपालीबारे थप गम्भीर बन्नुपर्ने अवस्था नभएको स्पष्ट पारे। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.